– देवेन्द्र भट्टराई, काठमाडौँ |

विदेशमा नेपालको छवि बढाउन र पर्यटन चिनारी बनाउन नेपाल सरकारसँगको समन्वय–सम्पर्कमा नियुक्त भएका विदेशस्थित पाँच दर्जनभन्दा बढी पर्यटन अवैतनिक दूतहरू खारेजीमा पर्ने भएका छन् ।
‘अनररी’ पदका आधारमा नेपालको चिनारीभन्दा बढी आफ्नै हकहितमा काम गरिरहेको र कुनै प्रभाव–पहुँचका आधारमा मात्रै अवैतनिक पदमा बसिरहेको पाइयो : धनञ्जय रेग्मी, कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड
सम्बद्ध मुलुकको नेपाली कूटनीतिक नियोगको सिफारिसमा नेपाल पर्यटन बोर्डमार्फत नियुक्त भएका यी सबै दूतहरू कि त ‘बेखबर’ (नो रिपोर्ट्स) देखिएका छन् अथवा सबैजसो ‘निष्क्रिय’ (नट एक्टिभ) देखिएका छन्। नियुक्ति हुँदाको सेवासर्तमा यस्ता अवैतनिक दूतहरूले हरेक चार महिनामा सम्बद्ध नेपाली नियोग र पर्यटन बोर्डसमेतमा प्रगति रिपोर्ट बुझाउनुपर्नेमा वर्षौंदेखि यस्तो प्रतिवेदन कहींकतै पनि बुझाइएको छैन। गत महिना काठमाडौंस्थित एक जना अवैतनिक महावाणिज्यदूतले कूटनीतिक अग्राधिकारको धाकधम्की देखाएर कालोबजारीको काम गरेपछि सबै तह–तप्काका ‘अवैतनिक’ हरूमाथि प्रश्नचिह्न उब्जिएको हो।
‘यो पद र नियुक्तिको त्यति उपयोग देख्न नसकिएको अनुभव भएको छ,’ नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले भने, ‘यसअघि नियुक्त भएका सबैजसो दूतहरूको कार्यकाल सकिएको देखिन्छ। त्यसमाथि कार्यसम्पादन मूल्यांकनका आधारमा कोही पनि उपयुक्त नदेखिएको अवस्था छ।’ यो ‘अनररी’ पदका आधारमा नेपालको चिनारीभन्दा बढी आफ्नै हकहितमा काम गरिरहेको र कुनै प्रभाव–पहुँचका आधारमा मात्रै अवैतनिक पदमा बसिरहेको स्थितिसमेत देखापरेकाले सबै मुलुकका अवैतनिक पर्यटन दूतको नियुक्ति खारेजी गर्ने प्रक्रिया अघि बढिसकेको कार्यकारी निर्देशक रेग्मीले बताए।
अमेरिकामा पर्यटन दूत:
पर्यटन बोर्डले उपलब्ध गराएको यस्ता दूतहरूको अन्तिम सूचीमा अमेरिकामा अहिले पनि आफूलाई पर्यटन दूत भनेर दाबी गर्दै हिँड्ने ज्ञानप्रसाद रिमाल (बाल्टिमोर), प्रभा देउजा (बाल्टिमोर), जगदीश काफ्ले (टेक्सास), नीलबहादुर तिलिजा (सियाटल), नवीना बस्नेत आदिको नामसमेत छैन। बलराम घिमिरे (सिकागो), राजा घले (जर्जिया), प्रकाश थापा (क्यालिफोर्निया), प्रदीप श्रेष्ठ (न्युयोर्क), सबु गदाल कार्की आदिको पदावधि दुई वर्षअघि नै पूरा भएको छ। पर्यटन बोर्डले उनीहरूको नाम सूचीमा ‘अवधि पूरा भएको र बेखबर’ भनेर टिपोट गरेको छ।
एशियामा पर्यटन दूत:
यसैगरी भारतमा दिल्ली, मुम्बई, कोलकातालगायतका सहरमा केही स्थानीय पर्यटन व्यवसायीले आफूलाई नेपालको पर्यटन दूतका रूपमा चिनाउँदै दिल्लीको दूतावास र कोलकाताको महावाणिज्य दूतावास कार्यालयमा बेग्लै कार्यकक्षसमेत माग गरेको सूचना परराष्ट्रमा आएको थियो। जबकि भारतका लागि नेपाल पर्यटन बोर्डले एक जना पनि दूत नियुक्त गरेको छैन। जापान, कतार, दक्षिण कोरिया, फ्रान्ससहितका मुलुकमा पनि नाम मात्रैका पर्यटन दूत सक्रिय रहिआएका छन्।
अष्ट्रेलियामा पर्यटन दूत :
अस्ट्रेलियाको एडेलेइडमा देव तुजेइस्की मात्रै एक जना पर्यटन दूत कार्यरत रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ। जबकि पदावधि सकिएर नेपाल पर्यटन बोर्डले ‘निष्क्रिय/बेखबर’ भनिसक्दा पनि नीलमणि थपलिया (पर्थ), बद्री अर्याल र स्वतन्त्रप्रताप शाह (क्विन्स्ल्यान्ड) ले आइपरेका बेला पर्यटन दूत भनेरै चिनाइरहेका हुन्छन्।
के छ युरोप र बेलायतमा पर्यटन दूतको अवस्था ?
लन्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतमा अहिले आधिकारिक रूपमा कोही पनि पर्यटन दूत रहेका छैनन्।
यता युरोपका स्वीडेन, डेनमार्क, पोर्चुगल, नर्वे, स्विट्जरल्यान्डमा पनि औपचारिक रूपमा दूत कोही छैनन्। तरपनि, नेपाल भ्रमण वर्ष, राष्ट्रिय दिवसहरू र औपचारिक भेलामा आफूलाई जबरजस्त दूत भन्दै हिँड्नेहरू भेटिन्छन्।
एउटा पर्यटन दूतले नेपाल सरकारको पर्यटन लोगो, औपचारिक लेटर प्याड प्रयोग गर्न पाउने भनिए पनि कतिपय मुलुकमा दूतहरूले आफूखुसी नेपालको झन्डासमेत प्रयोग गर्ने गरेकोबारे युरोपेली मुलुकमा रहेका केही कूटनीतिक नियोगमा हालै सूचना आएको थियो।



-फ्रान्सबाटददी सापकोटा, बेलायतबाट नवीन पोखरेल र अस्ट्रेलियाबाट नारायण खड्कासहितको सहयोगमा कान्तिपुरमा प्रकाशित।
















