स्वीडेन ।

स्वीडेनमा कोरोनाको संक्रमणबाट हालसम्म एक जना नेपालीको मृत्यु भएको छ भने एक जना संक्रमित भएका छन् ।
कोरोनाबाट संक्रमित गैर आवासीय नेपाली संघ स्वीडेनका पूर्व सचिव ४० वर्षीय अनिल घिमिरेको २६ दिन लामो उपचारपछि १३ दिनअघि मृत्यु भएको गैर आवासीय नेपाली संघ स्वीडेनका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
संघका अध्यक्ष श्रेष्ठका अनुसार भैरहवा घर भएका मृतक घिमिरेका श्रीमती, एक छोरा र एक छोरी छन् । मृतक घिमिरेकी श्रीमती पेशाले नर्स हुन् । मृतक घिमिरे सन २००९ मा स्वीडेन पुगेका हुन् ।
स्वीडेनमा एक हजार दुई सय भन्दा बढि नेपाली छन् । हाल एक जना नेपाली महिला संक्रमित भएको पुष्टि भएको छ । उनी पेशाले नर्स हुन् । अन्य १० जना नेपालीमा कोरोनाको आशंका गरिएपनि उनीहरुको स्वास्थ्य परीक्षण भने हुन सकेको छैन ।
स्वीडेनमा कोरोना नियन्त्रणका लागि अग्रभागमा खटिएका बाहेक अन्य नागरिकको सहजै कोरोना परीक्षण हुने गरेको छैन ।
स्वीडेनमा हालसम्म ३० हजार ४ सय संक्रमित भएकोमा ३ हजार ७ सय १२ मृत्यु भएको छ । सञ्चो भएर घर फर्किनेको संख्या ६ हजार भन्दा बढि छ ।
कोरोनाबाट यतिठूलो संख्यामा मृत्यु भएपनि लकडाउन भने गरिएको छैन । भौतिक दूरी कायम गरेर सबै चिज सञ्चालनमा छन् ।
















