मात्र दश रुपैयामा भक्तपुर सरर

भक्तपुर:भक्तपुर मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा दस रुपैयाँमात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ।समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले दस रुपैयाँभन्दा बढी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए। समितिको कार्तिक १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले उक्त निर्णयलाई कडाइका साथ लागू गर्ने बताएको हो।

नवनिर्वाचित पदाधिकारीहरुको शुक्रबार भएको पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले भक्तपुरभित्रबाट गुड्ने गाडीले भक्तपुरकै सल्लाघारी सृजनानगरसम्मको लोकल भाडादर दस रुपैयाँमात्रै लिने जानकारी दिएका हुन्।

यसको लागि सम्पूर्ण गाडीका व्यवसायीसँगै चालक र सहचालकहरुलाई निर्देशन जारी गरिने उनको भनाइ थियो।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानेन्द्र महर्जनले समितिको माइन्युट नवनिर्वाचित अध्यक्ष प्रधानलाई हस्तान्तरण गरेका थिए।

त्यस्तै नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रमाणपत्र वितरण गरेका थिए। निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

उक्त अवसरमा नेमकिपाका केन्द्रीय सचिव सुवालले बैंकबाट ९० प्रतिशत ऋण लिएर १० प्रतिशतको मालिक भएका व्यवसायीहरुले बैंक पोस्ने काममात्रै गर्न नहुने बताए।उनले गाडीमा यात्रा गरेर भाडा तिर्ने यात्रुको सेवा सुविधामा जोड दिन व्यवसायीहरुलाई सुझाव दिए।

‘बसका चालक तथा सहचालकप्रति यात्रुको सोचाइ सकारात्मक छैन’, पूर्वसांसद सुवालले भने, ‘केही नपढेका, घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने बुझाइ रहेको छ। त्यसलाई चिर्न चालक सहचालकहरुले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्छ। भक्तपुर आउने पर्यटकसमेत सार्वजनिक गाडी चढ्छन् । त्यसैले हाम्रा चालक सहचालकहरुले अंग्रेजीसमेत बोल्न सिक्नुपर्छ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले भक्तपुर मिनीबस सेवा समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै उनीहरुको मन जित्नुपर्नेतर्फ ध्यानाकर्षण गरे।

‘यातायातको क्षेत्रमा समस्या कहिल्यै खाली हुँदैन’, उनले भने, ‘एउटा समाधान गर्न नभ्याउँदै अर्को समस्या आइलाग्छ। तैपनि समयानुसार व्यवसायीहरु पनि परिवर्तन भई सोहीअनुसार यात्रुलाई सेवा सुविधा दिनुपर्छ।’

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रधानले भक्तपुर मिनीबस सेवा समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालकहरु सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधा यात्रुअनुकूल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे।‘पहिलेका गुनासोहरुलाई सुधार्दै अघि बढ्नेछौं’, उनले भने।

कार्यक्रममा कोटेश्वर पूर्व यातायात समितिका संयोजक बलराम त्वानाबासू, समितिका निवर्तमान अध्यक्ष महर्जन र पूर्वअध्यक्षहरु रामकाजी भुजू, राजन कसलवटलगायतले चालक तथा सहचालकहरुको कारण व्यवसायीहरुले गाली तथा गुनासो सुन्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे।

समितिको १२ औं अधिवेशनले दिनेश प्रधानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो। जसमा उपाध्यक्षद्वयमा प्रमोद त्वानावासु र ध्रुवराज न्यौपाने, सचिवमा प्रकाश बस्नेत, सहसचिवमा कृष्णराम पञ्च, कोषाध्यक्षमा धन त्यात र सहकोषाध्यक्षमा बद्री कोजू निर्वाचित भएका छन्।
दुई वर्षे कार्यकाल रहेको उक्त समितिको सदस्यहरुमा राजुप्रसाद न्यौपाने गंगाराम खाइजू, गोपाल केसी, दयाराम दथेपुथे, आशाराम न्याइच्याई, सुरेन्द्र जती, किरणप्रसाद गाइँजू र रामशंकर ह्यौमिखा निर्वाचित भएका छन्।

भक्तपुर मिनिबस सेवा समितिले ७ नम्बर रुटमा तीनसय दसभन्दा बढी बस गुडाउँदै आएको छ।उक्त समितिका भक्तपुर रत्नपार्क, भक्तपुर गौंगबु, भक्तपुर लगनखेल, भक्तपुर कलंकीसँगै भक्तपुरकै विभिन्न ठाउँबाट काठमाडौं पुग्ने बस सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार