कास्की ।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पहिरोमा घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका ८ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकीसहित ८ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी ५ वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बिहीबार राति पहिराले थापाको घर पुरेको हो ।
पिङ्की थापाकोे जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आउनुभएको थियो । पोखराका विभिन्न ठाउँमा बिहीबार रातिको पहिरामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यसअघि पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरामा पुरिँदा उहाँका आमा ७० वर्षीया हिमकलीको घटनास्थलमै मृत्यु भएको थियो । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।
















