आज हरिबोधनी एकादशी , तुलसीको बिहे गरिँदै

हिन्दु धर्मालम्बी वैष्णवहरुले घरछेऊमा रोपको तुलसीको बिहे गरिदिने दिने आज हरिबोधनी एकादशी । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी) को दिन आँगनमा रोपिएको तुलसीको आज विवाह गर्ने चलन छ ।

अधिकांश ठाँउमा आजमात्रै यसको धुमधामले घरआँगन छेऊमा बनाएको तुलसीको बोट रोप्ने मठ सिगारेर बिशेष पुजाआजा गर्ने भएपनि केहीले भोलिपल्ट द्वादशीको दिन समेत तुलसीको विशेष पूजासँगै हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा विसर्जन गरिन्छ ।

पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिन सागरमा सुतेका भगवान् विष्णु यसैदिन उठ्छन्। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको धर्मशास्त्रमा उल्लेख छ ।
हरि शयनीको अर्थ बिष्णुको अर्को नाम हरी भएकाले हरी उठने दिनको रुपमा यसको चर्चा गर्ने गरिन्छ । यसकारण यो दिनको उपासना बढी फलदायी हुने उल्लेख छ । भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।

कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ। यो अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्छ। भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वासका साथ काठमाडौं उपत्यकाका चार नारायण (चाँगु, विशंखु, इचंगु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्छ। यस्तो महत्त्व छ, तुलसीको सनातन हिन्दु धर्मावलम्वीहरूको लागि तुलसी ज्यादै महत्त्वपूर्ण वनस्पति हो।

वेददेखि पौराणिक ग्रन्थहरूमा तुलसीको महिमा बताइएको छ। हिन्दूहरुको देवकार्य एवं पितृकार्यका समेत तुलसीको प्रयोग अनिवार्य मानिन्छ। मानिसको अन्तिम अवस्था हुँदा पनि तुलसीको मठमा लगेर सुताउने चलन छ। पौराणिक ग्रन्थहरूमा कतै तुलसीलाई विष्णुको स्वरूप मानिएको छ भने कतै विष्णुप्रियाको रूपमा लिइएको छ।

जेष्ठशुक्ल एकादशीको दिन तुलसीको बीजारोपण गरी आषाढशुक्ल पूर्णिमा अर्थात् हरिशयनी एकादशीको दिन आ–आफ्नो आँगनमा रहेको मठमा तुलसी विधिपूर्वक रोपण गरिन्छ।

चतुमासभरि अर्थात् कार्तिक शुक्ल एकादशीसम्म पूजा गरी सोही दिन तुलसी विवाह गरी विसर्जन गरिन्छ। धार्मिक रूपले मात्र नभई तुलसीको आयुर्वे्दिक दृष्टिले पनि उत्तिकै महत्त्व रहेको छ।

हाम्रा आयुर्वै्दिक ग्रन्थहरूमा तुलसीबाट गर्न सकिने उपचारहरूको बारेमा व्यापक रूपले उल्लेख गरिएको पाइन्छ। धन्वन्तरि, सुश्रुत, चरक आदि महान् आयुर्वेदका ज्ञाताहरूले तुलसीलाई बहुपयोगी औषधीको रूपमा प्रस्तुत गरेका छन्। सुरसा अर्थात् श्रेष्ठ रस भएको तुलसीको रस सौन्दर्यवर्धक हुन्छ। तुलसी उत्तम पित्तनाशक, कफनाशक, विषहर, वीर्यवर्धक, स्मृतिवर्धक औषधी हो।

मुखगन्ध, गर्भरोग, अतिसार, कर्ण–दन्त–उदरशूल, वमन, मूत्ररोग, श्वासरोग, चर्मरोग, रक्तरोग, मुर्छालगायत सयौं रोगको लागि पनि अत्यन्त सरल किसिमबाट प्राप्त हुने तुलसीबाट गर्न सकिन्छ।

आधुनिक विज्ञानले पनि अत्यधिक अक्सिजन फ्याँक्ने र अत्याधिक मात्रामै विद्युत् शक्ति भएको विरुवा भन्ने पत्ता लगाएको छ। तुलसीको मठ रहेको चारैतिरको हावा शुद्ध एवं स्वास्थ्यवर्धक हुने विज्ञानले पत्ता लगाएको छ। साथै तुलसीको विरुवाबाट निस्कने ग्यासका कारण आँखाले नदेखिने विषालु किटाणु दूर हुने तथ्य विज्ञानले प्रमाणित गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार