आठ महिनापछि खुल्यो सदर चिडियाखाना

काठमाडौं ।

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण गत चैत ७ गतेदेखि बन्द भएको चिडियाखाना स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि खुल्ला गरिएको हो ।

खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न भने नपाउने चिडियाखानाले जनाएको छ । चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिनुभयो ।

सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।

भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ । यस अघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एक पटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार