कोरोनाको नयाँ प्रकार ८ युरोपेली देशमा पनि पुष्टि !

ब्रसेल्स ।

नयाँ प्रकारको कोरोना भाइरस संक्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुष्टि गरेको हो ।

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उहाँले जानकारी दिनुभएको छ । नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उहाँले देशहरुको नाम भने उल्लेख गर्नुभएको छैन ।

उहाँले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गर्नुभयो ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाइ छ ।नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार