वीरगन्ज : कोरोना संक्रमितको उपचारमा वीरगन्जका निजी अस्पतालले मनोमानी शुल्क लिइरहेको गुनासो बढेपछि वीरगन्ज महानगरपालिकाले अस्पताललाइ कारवाही गर्ने चेतावनी दिएको छ।
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महानगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमतिको उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएका हुन्।
वीरगन्जको प्रभु हस्पिटलले सर्लाहीको मलंगवाकी ६५ वर्षीया संक्रमितको ९ दिनको उपचार गरे बापत १ लाख ९४ हजार रुपैयाँ शुल्क लिएको थियो। अक्सिजनको मात्रै उसले १ लाख १ हजार रुपैयाँ बिलमा जोडेको छ।
प्रभु हस्पिटलले बढी शुल्क लिएको गुनासो आएपछि कोभिड एक्सन टिमको टोली अस्पतालमा अनुगमन गर्न जाँदा अस्पताल प्रशासनले आलटाल गरेर अनुगमन नै नदिई फर्काएको थियो।
त्यो घटना सेलाउन नपाउदै फेरि मङगलबार वीरगन्जकै स्पर्श मल्टिस्पेशलिटी हस्पिटलले रौतहटको चन्द्रपुरकी ६५ वर्षीया महिलाको १२ दिन उपचार गरे बापत ३ लाख १४ हजार ६ सय ८२ रुपैयाँ लिएको बिल सहितको तस्बिर सामाजिक सन्जालमा भाइरल भएको छ।
महानगरको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस संक्रमणका कारण समुदाय नै अप्ठेरोमा परेको स्थितिमा मानवीय सेवाको उच्च भावनाले काम गर्न र कोरोना संक्रमितको उपचारमा संवेदनशील भएर वीरगन्जमा सन्चालित सम्पूण निजी अस्पतालका सञ्चालकसँग अपील छ।
यसअघि जेठ ५ गते बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले पनि बढी शुल्क लिने अस्पतालमा अनुगमन गरेर कार्वाही गर्ने निर्णय गरेको थियो। तर वीरगन्जका निजी अस्पतालले बढी शुल्क लिइरहेको गुनासो आइरहेको भए पनि डिसीसीएमसीले हालसम्म कुनै पनि अस्पतालमा अनुगमन नै गर्न सकेको छैन।

















