एम्बुस विस्फोटमा मुस्किलले बाँचे कांग्रेस उम्मेदवार, गाडी क्षतिग्रस्त

बेनी । जिल्लाको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको छ।

मंगलबार बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेका कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा म्याग्दी कांग्रेसका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको हो।

बम विस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ। विस्फोटका क्रममा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बम विस्फोट हुँदा सवारी साधनको शिशा फुटेको प्रचार टोलीकासदस्य सुमन श्रेष्ठले बताए ।

‘एक मिनेट ढिलो भएको भए ठुलो मानवीय क्षति हुने थियो, संयोगबस बाँच्यौं’, उनले भने, ‘निकै माथिबाट तार ल्याएर विस्फोट गराइएको छ।’ म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले घटनामा कुनै किसिमको क्षति नभएको जानकारी दिएकी छन् ।

‘रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प छ, घटना लगत्तै हामीले सुरक्षा जनशक्ति बढाएका छौँ’, उनले भनिन्, ‘कुन समूहले बिस्फोट गरायो भन्ने विषय खुलेको छैन।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने म्याग्दीमा त्यही समूहले विस्फोट गराएको प्रहरीको अनुमान छ।

प्रहरीले चारदिन अघि त्यस समूहका तीनजना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। चुनाव प्रचार टोलीमा गर्बुजासहित लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल पनि थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार