नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको भिरबाट लडेर मृत्यु भएको हो।
\
हलेसी तुवाचुङ नगरपालिका–११, राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार काँग्रेसको टोलीसँग भोट माग्न गाउँ गएका थिए। भोट मागेर राति घर फर्किएका विकको स्थानीय साल्लेभिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट बिहान सबेरै हिँडेका विक रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका छन्। शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ।
विकको मृत्युको बारे अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।
विक आफ्नो पार्टीको क्रियाशील कार्यकर्ता रहेको राप्रपाका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए।
















