४ वर्षमा ७१ विद्यार्थीले गरे आत्महत्या, नेपालीद्वारा पनि आत्महत्या प्रयास
जेवी पुन मगर हङकङ, कार्तिक २९
६ फेब्रुअरी २०१७ का दिन हङकङको माओसानमा घरको छतबाट हामफालेर ज्यान दिने १६ वर्षीय स्कुले केटाबारे समाचार सेलाउन पाएकै थिएन। भोलिपल्टै चिङ यीस्थित आफ्नै आवासगृहबाट हाम फालेकी १३ वर्षीया केटी समाचारको शीर्षक बनिन्।
सहरलाई पीडादायी खबरले अझै पुगेको थिएन। १२ फेब्रुअरी आइतबार बिहानै १५ वर्षीय अर्का विद्यार्थीले अघिल्ला दुवै जनाको मरणशैली पछ्याउँदै निङ ताइ रोडस्थित काम पोङ हाउसबाट हामफालेर देहत्याग गरे। आफ्नै ज्यान लिने माध्यमिक तहका यी विद्यार्थीहरुमा देखिएको समानता थियो, ईहलीला समाप्त गर्न यिनले प्रयोग गरेको तरिका। यी सबैले हङकङको समृद्धिको बयान गर्ने गगनचुम्बी भवनहरुको उचाइमा आँखा लगाएका थिए।
८० प्रतिशत जनता अग्ला बिल्डिङमा बसोबास गर्ने हङकङमा सन २०१३ देखि २०१६ सम्मको अन्तरालमा १० देखि ३० वर्ष उमेर समूहका ७१ जना विद्यार्थीले अग्ला घरबाट हामफालेर ज्यान दिइसकेका छन्। हङकङका आकाश छुने बिल्डिङबाट विद्यार्थीहरु चरा झैं भटाभट खस्न थालेपछि त्यसले यहाँ बसिरहेका ३० हजार नेपाली समुदायमा पनि यसको प्रभावमा पर्न थालेको देखिन्छ।
२८ मार्च २०१७ बिहान ७ बजे ताईकोक सूईको उचाइबाट समुद्रमा हामफालेर आत्महत्या गर्न प्रयास गरेकी नामचोङस्थित माध्यमिक विद्यालयमा फर्म–४ मा अध्ययनरत १३ वर्षीया नेपाली विद्यार्थी सोनु गुरुङ (नाम परिवर्तन) लाई समयमै उद्दार नगरिएको भए उनी अहिले हङकङका नेपाली माझ हुने थिइनन्। उनको मानसिक अवस्था अझै सामान्य अवस्थामा फर्किन सकेको छैन।

‘सरकारी विद्यालय जेलखाना’
एसियाको नम्बर एक शहर हङकङ जति प्रतिस्पर्धी छ, त्यति नै गलाकाट प्रतिस्पर्धाको सामना विद्यार्थीहरुले विद्यालय हाताभित्र झेलिरहेका छन्। त्यसैले विद्यार्थीलाई मृत्युको मुखमा पुर्याउने कारकको रुपमा केहीले हङकङको शैक्षिक नीतिलाई दोषी देख्छन्। केही विद्यार्थीले यो शैक्षिक प्रणालीमाथि दोष थोपरेर लेखिएको सुसाइड नोट पनि छोडेका छन्।
७ फेब्रुअरीमा आत्महत्या गरेकी १३ वर्षीया केटीले लेखेको सुसाइड नोटमा पनि आफ्नो मृत्युको दोष ‘पढाइ र विद्यालयले उपलब्ध गराउन नसकेको मानसिक काउन्सिलिङ’ लाई दिएकी छन्।
हङकङमा हरेक वर्ष माध्यमिक शिक्षा उत्तीर्ण हुने ७० हजार विद्यार्थीमध्येबाट बढीमा २५ हजारले मात्र ९ ओटा विश्वविद्यालयमा प्रवेश पाउँछन्। भएको त्यो कोटामा पनि मुख्यभूमि चीन र विदेशी विद्यार्थीहरुका लागि निश्चित सिट आरक्षित गरिएको हुन्छ।
बाँकी बचेका ५० हजारमध्ये हुनेखानेले आफ्ना बच्चालाई विदेश पढ्न पठाउँछन् भने कमजोर आय हुनेले ‘फाउण्डेशन र भोकेशनल’ शिक्षा दिइने शिक्षालयतिर जानुपर्ने बाध्यता छ। धेरैजसो श्रम बजारमा खपत हुन्छन्। त्यसैले विश्वविद्यालयमा प्रवेश पाउन अब्बल नम्बर ल्याउनैपर्ने दबाब विद्यार्थीहरुमा छ। अब्बल बन्न घर र विद्यालय दुवैतर्फबाट प्राप्त हुने तनावले हङकङका धेरैजसो विद्यार्थी मानसिक रोगसँग जुधिरहेका छन्।
सन् २०१४ र २०१५ मा बाप्टिस्ट ओइ क्वान सोसल सर्भिस र इन्स्टिच्युट अफ एजुकेसनले ११ जिल्लाका १० हजार १४० जना माध्यमिक विद्यार्थीमाथि गरेको सर्वेक्षणले ५० प्रतिशत विद्यार्थीमा डिप्रेसन रहेको देखाएको थियो।
‘ती विद्यार्थीहरुमा चिच्याउने, राम्ररी निद्रा नलाग्ने, एकोहोरिने आफ्नो अनिश्चित भविष्यलाई लिएर चिन्तित हुने, आफू सक्षम छैन भन्ने भावना पलाउने र त्यसले तिनको आत्मविश्वास कमजोर बनाउँदै लगिरहेको देखियो’, डिप्रेसनको लक्षण देखिएका ती विद्यार्थीका मानसिक समस्याबारे रिपोर्टमा लेखिएको छ, ‘डिप्रेसनले मानसिक सन्तुलन गडबड गराइ नकारात्मक चिन्तनतिर लैजान्छ। त्यस्ता विचारले आत्महत्या गर्न उक्साउँछ। झेलिरहेको तनाव (स्ट्रेस) ले बिस्तारै निराशा (डिप्रेसन) तिर डोर्याउँदै लगेर अन्तिममा ती आफूले आफैँलाई सिध्याउने निष्कर्षमा पुगेको देखिन्छ।’
माध्यमिक तहका तन्नेरीहरुको आत्महत्या दर डरलाग्दोगरी बढ्न थालेपछि सरकारले संसदीय समिति ‘कमिटी अन प्रिभेन्सन अफ स्टुडेन्ट सुसाइड’ बनाएर ६ महिना अनुसन्धान नै गरेको थियो। त्यो समितिले पेस गरेको १५० पृष्ठ लामो रिपोर्टमा चाहिँ शैक्षिक नीतिमाथि लाग्ने गरेको आरोपको खण्डन गरिएको छ।
‘विद्यार्थीको आत्महत्या र सरकारको शैक्षिक नीतिसँग प्रत्यक्ष साइनो देखिँदैन,’ रिपोर्टमा भनिएको छ।
तर रिपोर्टमा एकजना माध्यमिक तहकी विद्यार्थीको भनाइलाई उद्धृत गर्दै ‘केही विद्यार्थीले सरकारी विद्यालयलाई जेलखाना सम्म भनेको’ उल्लेख गरिएको छ। ‘मलाई सरकारी स्कुल जेलखानाझैं लाग्छ। कतै हिंडडुल गर्न अनुमति छैन। पानी पिउन र केही खान दिइँदैन। न कक्षामा बोल्न दिइन्छ। ट्वाइलेट जान दिइँदैन।’
शिक्षामन्त्री एड्डी एनजी हाक किमलाई रिपोर्ट हस्तान्तर गर्दै संसदीय समितिले एक विद्यार्थीको भनाइ उद्धृत गरेको छ, ‘स्कुल छुटेपछि पनि म मज्जाले खेल्न सक्दिनँ। ट्युसन जानुपर्छ। घरमा गएर होमवर्क सक्नुपर्छ। सुत्दा म लखतरान भइसकेको हुन्छु।’
नेपाली विद्यार्थीका समस्या झन् बढी
हङकङमा जन्मिएर यहीँ हुर्किरहेका नेपाली विद्यार्थीलाई स्थानीय विद्यार्थीभन्दा थप बोझको भारी बोक्नु परिरहेको छ। भिन्न संस्कृति र परिवेशका कारण तिनलाई चिनियाँ भाषामा राम्रो गर्न फलामको च्युरा चपाएसरह हुने गरेको छ। सरकारी विद्यालय हाता अझै गैरचिनियाँ विद्यार्थीहरुका लागि मैत्रीपूर्ण बन्न सकेको छैन। नेपाली विद्यार्थीले अदृश्य घृणाको सामना गर्नु परिरहेको छ। घर र नेपाली समाजभित्र पढ्नुपर्छ भन्ने वातावरण नभएकोले त्यसका लागि तिनले आफ्नै बलमा थप संघर्ष गर्नु परिरहेको छ।
यी सबै बोझ थेग्न नसकेरै हङकङमा जन्मिएकी नेपाली विद्यार्थी सोनुले समुद्रमा हामफालेर यहाँको प्रवृत्तिलाई पछ्याउने दुष्प्रयास गरिन्। उनले आफ्नो एकजना मिल्ने साथीलाई ‘पारिवारीक तनावका कारण पढाइमा ध्यान केन्द्रित गर्न नसकेको र रिजल्ट पनि बिग्रिएकोले मर्न गइरहेको’ भन्दै म्यासेज पठाएकी थिइन्।
‘मलाई अझै बाँच्न मन छैन। फेरि आत्महत्या गरुँगरुँ मात्र हुन्छ।’ अस्पतालमा लामो समय प्रहरी र सामाजिक कार्यकर्ताहरुको घेरामा उपचार गराइरहेको बेला सोनुले साथीसंगीसँग फोनमा भनेको कुरा सुनाउँदै उनकी एक सहपाठी भन्छिन्, ‘त्यसपछि क्लासका मिल्ने साथीहरु मिलेर राम्ररी सम्झाएपछि बेस्मारी रोइन्।’
पुख्र्यौली घर पर्वत भएका बुवाले हङकङमा एक फिलिपिनीलाई कान्छी श्रीमतीको रुपमा भित्र्याएपछि उनको कोखबाट सोनु जन्मिएकी हुन्। सोनुकी जेठी आमा र २ दाजु नेपालमै छन्। सोनुको आमासँग पनि सम्बन्ध बिग्रिएपछि हाल उनको बुवा एक्लै बसिरहेका छन्।
‘उनको आमाले सोनुलाई स्कुल जानै नदिने, गए स्कुलमै आएर पिट्ने गर्न थालिन्। सोनुको आमा बहुलाहा जस्तै भइन्’, सोनुकी सहपाठी भन्छिन्, ‘त्यसपछि सोनुलाई सरकारले बालआश्रममा लगेर राख्यो। उनले एक्लै बस्दा झन आतुरी लाग्छ भन्थिन्। पहिला पढाइमा राम्री थिइन, पछि बिस्तारै कमजोर हुँदै गइन्।’
हङकङ विश्वविद्यालयले अल्पसंख्यकहरुमाथि गरेको एक अध्ययनमा बसाइ सरेर नयाँ ठाउँमा आएका जातिका दुई पुस्तासम्म स्थानीय रहनसहन र हावापानीमा भिज्न नसक्ने तर तेश्रो पुस्तापछि क्रमशः स्थानीयकरण हुँदै जाने पाइएको छ। हङकङमा अहिले नेपालीको तेश्रो पुस्ता हुर्किरहेको छ। तिनलाई यहाँको संस्कार, संस्कृति र चेतले गाँज्दै लगिरहेको छ। सोनुको आत्महत्या प्रयत्नलाई त्यही प्रभाव र प्रवृत्तिसँग जोडेर हेर्न सकिन्छ। यसरी हेर्दा नेपाली अभिभावकका चुनौतीका दिन बल्ल अब सुरु भइरहेको देखिन्छ।
गएको सेप्तेम्बरमा मात्र नेपाली बढी बस्ने जोर्डन क्षेत्रका आलिसान बिल्डिङका तलाबाट थप ४ जना युवाले हामफालेर आत्महत्या गरे। हङकङमा भौतिक विकाससँगै तनाव र निराशाको मात्रा उच्च भएको सन् १९९७ यता बढेको ‘आत्महत्या’ प्रवृत्तिले नै देखाउँछ । यो गम्भीर चुनौतीको रुपमा खडा भएको छ। संयोग पनि कस्तो मिलेको छ भने नेपालीहरुको सामूहिक रुपमा हङकङ आगमन पनि त्यही सालदेखि सुरु भएको छ।
त्यसमाथि पछिल्लो ५ वर्षयता जसरी तन्नेरी विद्यार्थीहरुको आत्महत्या दर बढेको छ, त्यसले थप बहस श्रृजना गरेको छ। बजारतन्त्रले निर्माण गरेको पूँजीवादी समाजले भौतिक समृद्धिको बदलामा मान्छेको खुसी र चैन मात्र खोस्दो रहेनछ, ज्यान पनि तान्दो रहेछ।
हङकङमा आत्महत्या प्रवृत्ति (संख्यामा)
सन १९९७ – मृत्यु संख्या – ७८४
सन १९९८ – मृत्यु संख्या – ८६७
सन १९९९– मृत्यु संख्या – ८६८
सन २०००– मृत्यु संख्या– ९०२
सन २००१ – मृत्यु संख्या –१०२९
सन२००२ – मृत्यु संख्या – १११०
सन २००३ – मृत्यु संख्या –१२६४
सन २००४ – मृत्यु संख्या –१०५३
सन२००५ – मृत्यु संख्या – ९९६
सन २००६ – मृत्यु संख्या – ९३५
सन २००७ – मृत्यु संख्या – ९०९
सन २००८ – मृत्यु संख्या – ९७७
सन २००९ – मृत्यु संख्या – ९८३
सन२०१० – मृत्यु संख्या – ९६९
सन २०११ – मृत्यु संख्या – ८६७
सन २०१२ – मृत्यु संख्या – ९१७
सन २०१३ – मृत्यु संख्या – ९३९
सन २०१४ – मृत्यु संख्या– ९१३
सन २०१५ – मृत्यु संख्या – ९२२
सन २०१६ – मृत्यु संख्या – ९२३
श्रोतः सेन्टर फर सुसाइड रिसर्च एण्ड प्रिभेन्सन
बच्चा बचाउने टिप्स
चाइनिज युनिभर्सिटीकी प्रोफेसर अनिशा अब्राहमले ‘हङकङका विद्यार्थी किन आत्महत्या गरिरहेका छन्’ भनी गरेको अध्ययन अभिभावका लागि लाभदायक हुनसक्दछ। जसलाई बुँदागत रुपमा यसरी बुझ्न सकिन्छः
१. हङकङका विद्यार्थीलाई शैक्षिक रुपमा राम्रो परिणाम निकाल्न चरम दबाब छ। अभिभावकको अपेक्षा अस्वाभाविक छ। कम नम्बर आयो भन्दै अरुसँग तुलना गरेर मानसिक यातना दिइन्छ।
२. विद्यालय, ट्युसन र होमवर्कले आराम गर्ने समय नै छैन।
३. आफ्ना समस्या र भावना तन्नेरीहरुले कसैलाई बाँड्न सकिरहेका छैनन्। अभिभावकसँग डराएर भन्नै सक्दैनन्। निकास ननिस्किएपछि तिनले आफूले आफैँलाई पीडा दिएर निकास खोजिरहेका छन्।
४. अहिलेको पुस्ता जन्मँदै अनलाइनसँगै हुर्किरहेका छन्। इन्टरनेट र भिडियो गेमले तिनलाई नचाहिँदोगरी व्यस्त बनाइदिएको छ। यसको दुव्र्यसनी भएपछि तिनलाई कसैसँग अन्र्तक्रिया गर्न समय छैन। एकोहोरो भएका छन्। काल्पनिक संसारमा हराएका छन्।
‘हामीले यो सब बुझ्न र व्यवस्थापन गर्न सकेका छैनौँ। बच्चालाई भविष्यबारे बुझाउन सकेका छैनौँ। गेमबाट हटाउन, आराम गर्न र धेरै पढाइको चिन्ता नगर्न भन्न सकिरहेका छैनौँ। हामी आफैँपनि कताकता हराइरहेका छौं’, अनिशा अभिभावकलाई बच्चा कसरी बचाउने भन्ने सुझाव दिँदै भन्छिन्, ‘बच्चासँग अभिभावकले बढीभन्दा बढी समय बिताउन जरुरी छ। उनीहरुसँग अन्तक्र्रिया गर्न आवश्यक छ।’
बच्चालाई तनाव गम्भीर समस्या हो भनी सम्झाउने र इन्टरनेट अफ गरी चाँडै सुताउने बानी गरे उनीहरुको दिमाग र शरीर दुवै स्वस्थ हुन्छन्। योगा र शारीरिक कसरत गराउने र दिमागलाई सरस बनाउने खालका क्रियाकलाप गराउने हो भने बच्चालाई डिप्रेसनबाट बचाउन सकिन्छ।
















