गृहजिल्ला पुगेर प्रधानमन्त्री देउवाले भने– विपक्षीले जिते सांसद, मैले जिते प्रधानमन्त्री

ललित बोहरा

तस्बिर: रोशन सापकोटा, रासस

डडेल्धुरा– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा वाम गठबन्धनले बहुमत ल्याए देशमा राणा शासन जस्तै कठोर व्यवस्था आउने बताएका छन्।

देउवाले वाम गठबन्धनले जिते देशलाई खतरा हुने भन्दै देश बचाउन लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरे।

गृहजिल्लामा नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘मैले जिते प्रधानमन्त्री बन्छु, विपक्षीले जिते सांसदमा सीमित हुन्छन्। अब भन्नुहोस्, डडेल्धुराको विकास कसले गर्न सक्छ?’

भावुक मुद्रामा प्रस्तुत भएका देउवाले आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई लक्षित गर्दै थपे, ‘म प्रधानमन्त्री र कांग्रेस सभापति हुँ, मलाई भोट दिने कि केन्द्रीय सदस्यलाई ? मलाई विश्वास छ, डडेल्धुराका जनताले मलाई २६ वर्षदेखि दिएको अधिकार फेरि पनि दिनेछन्।’

प्रदेश नम्बर ७ को विकासका लागि पश्चिम सेती विद्युत् आयोजनाको निर्माण प्रक्रिया छिटो सुरु गर्ने र महाकालीमा पुल बनाउने लगायतका योजना बनाएको प्रधानमन्त्री देउवाले बताए।

प्रधानमन्त्री देउवाले शुक्रबार दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै, मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्नेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार