पिताको चुनावी कमान्डर देवयानी र उर्वशी, भने– सेल्फी खिच्नेलाई भोट दिने कि विकास गर्नेलाई?

दुर्गा दुलाल

सिन्धुपाल्चोक– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा ७६ वर्षको उमेरमा आफ्नो चुनावी अभियानमा गाउँघर घुमिरहँदा उनलाई भरथेग गर्न दुई छोरी देवयानी र उर्वशी पनि सिन्धुपाल्चोकमा खटिएका छन्।

पूर्व युवराज दीपेन्द्रसँग नाम जोडिएपछि चर्चामा आएकी देवयानी यतिबेला हलो चिह्न अंकित झन्डा बोक्दै गाउँ–गाउँ घुमिरहेकी छिन्। कान्छी छोरी देवयानीसँगै जेठी छोरी उर्वशी पनि प्रचारप्रसारमा जुटेकी छिन्।

सोमबार भोटेचौर पुगेकी देवयानी मंगलबार फटकशिलाको राप्रपा र नेपाली कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्न दनुवार गाउँ पुगिन्। त्यही समयमा उर्वशी भने हेलम्बु–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्न व्यस्त थिइन्। दुवै छोरी प्रचारमा जुटिरहँदा राणा भने क्षेत्र नम्बर २ को प्रदेश सभा क अन्तर्गत चौतारामा चुनावी सभालाई सम्बोधन गर्दै थिए।


३५ वर्षदेखि सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय राणा विकट गाउँको चुनावी अभियानमा रहेको बेला छोरीहरु पिताको चुनाव प्रचारका सारथि बनेका छन्। दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर पितालाई सघाएका थिए। यस पटक भने उनीहरुले पूरा तयारीका साथ गाउँ–गाउँ पुगिरहेका छन्।

पहिलो र दोस्रो संविधानसभाको चुनावमा पराजित भएका राणा यस पटक कांग्रेसको पनि साथ लिएर निर्वाचनको मैदानमा छन्।

दुवै छोरीले बुवाले ३५ वर्षसम्म गरेका कामहरुको विवरण मतदातालाई सुनाउँदै र बुझाउँदै भोट मागिरहेका छन्। उनीहरुले सिन्धुपाल्चोकमा चुनावी तालमेल गरेको दल कांग्रेसको रुख चिह्नमा पनि मत माग्ने गरेका छन्।

बुवाको प्रचारमा यसरी मैदानमै कस्सिनुको कारण के हो भनेर सोध्दा दुवै छोरीले सिन्धुपाल्चोकका जनता आफ्नै परिवारको सदस्य जस्ता रहेकाले भेटघाटमा जुटिरहेको प्रतिक्रिया दिए।

‘हामीले बुवालाई भन्दा पनि विकास गर्ने र जनताको सेवा गर्ने व्यक्तिलाई जिताउन आग्रह गरेका छौं’, दुवैको साझा भनाइ थियो, ‘भूकम्पको बेला र विगतका गरेका कामको मूल्यांकन जनताले गर्नैपर्छ।’

शेरबहादुरजीले भूकम्पपीडितका लागि कति राहत ल्याउनुभयो : देवयानी

चुनावी अभियानमा व्यस्त भइरहँदा देवयानी र उर्वशी ०७० सालको संविधानसभा चुनावमा सिन्धुपाल्चोकबाट निर्वाचित एमालेका सांसद शेरबहादुर तमाङमाथि खनिए। तमाङ यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पनि वाम गठबन्धनबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राणाका प्रतिस्पर्धी छन्।

दुई वर्षअघिको भूकम्पमा आफूहरुले पहल गरेर भूकम्प प्रभावितका लागि सिन्धुपाल्चोक पुर्‍याएको राहतमा तामाङले दाबी गरेर आफूले बाँडेको देखाएको भन्दै उनले आलोचना गरिन्।

‘बुवा निर्वाचनमा पराजित भए पनि सिन्धुवासीको मायाले हामीले ट्रकका ट्रक खाद्यान्न पठाएका थियौं’, देवयानीले भनिन्, ‘तर उक्त ट्रकमा बसेर सिल्फी खिचेकै भरमा शेरबहादुरजीले आफूले काम गरेको देखाउनुभयो।’

भूकम्पको समयमा आफूहरुले आफ्नो कत्र्तव्य पूरा गरेको भन्दै उनीहरुले अब सिन्धुवासीले चुनावमा कर्त्तव्य पूरा गर्ने बेला आएको बताए।

मतदातालाई सम्बोधन क्रममा देवयानीले भनिन्, ‘शेरबहादुरजीले यहाँ के काम गर्नुभयो ? भूकम्पका बेला कुन पीडितका लागि कति सहयोग दिनुभयो, त्यो सबै विचार गरेर मत दिनुस्।’

सेल्फी खिच्नेलाई भोट दिने कि विकास गर्नेलाई : उर्वशी

दिदी उर्वशीले पनि भूकम्पका बेला आफूहरुले राहत सामग्री जुटाए पनि त्यसको जस अरुले लिएको भन्दै एमालेका नेता तमाङमाथि आक्रोश पोखिन्।

उनले भनिन्, ‘भूकम्प जाँदा हामी दिल्लीमा थियौं। खबर सुन्नेबित्तिकै बुवा दिल्लीबाट फर्केर सिन्धुपाल्चोक पुग्नुभयो। म आफैं श्रीमान् र बच्चा लिएर धाप र गुन्सा गाउँ पुगेकी थिएँ। जिल्लाबाट छानिएका सांसद शेरबहादुर तमाङ त्यतिबेला कहाँ हुनुहुन्थ्यो, हामीलाई थाहा छैन।’

उनले आफूहरुले पठाएको राहत सामग्रीको ट्रकमा नेता तमाङले त्यसबेला सेल्फी खिचेर वाहवाही कमाउन खोजेको भन्दै थपिन्, ‘अब तपाईंहरु आफैं मूल्यांकन गर्नुहोस्, विकास गर्नेलाई मत दिने कि सेल्फी खिच्नेलाई?’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार