यस्तो छ बाबुरामको व्यस्त दैनिकी : बिहान ६ बजे उठ्छन्, चुनाव प्रचार/भेटघाट सकाएर राति १ बजे सुत्छन्
गोरखा : पहिलो चरणमा हुने निर्वाचनको मतदान मिति नजिकिएसँगै गोरखा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको व्यस्तता निकै बढेको छ। लामो समयदेखि काठमाडौँ नआएका भट्टराई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराको निधन भएको खबर पाएपछि समवेदना दिन हेलिकप्टरबाट आइतबार काठमाडौँ पुगेका थिए। त्यसलगत्तै गोरखा फर्किएर उनी पुनः आफ्नो व्यस्त दैनिकीमा फर्किसकेका छन्। उनको व्यस्तता झल्काउन हामीले उनको मंगलबारको दैनिकीलाई शब्दमा उतार्ने प्रयास गरेका छौँ
बिहान ६ बजे
अघिल्लो रात गोरखाको सिरानचोक गाउँपालिकास्थित थालाजुङमा बास बसेको। बिहान ६ बजे उठेर नित्यकर्म सकाए। त्यसपछि चिया नास्ता भयो र जिल्ला नेतासँग दिउँसोको कार्यक्रमबारे छलफल भयो।
बिहान ७:४५ बजे
थालाजुङमा आमा समूहले विजयको कामनासहित डा. बाबुराम भट्टराईलाई विदाइ गरे।
बिहान ९ बजे
तल्लो पाममा भट्टराई मतदाता भेटघाटमा व्यस्त भए। यहीँ उनले आफूलाई जिताउनु पर्ने कारण बताउँदै सम्बोधन पनि गरे।

बिहान १०:४५ बजे
तल्लो पामबाट उनी हरिबले, छोप्राकमा पुगे। यहाँ पनि मतदाता भेटघाट र सम्बोधन भयो।
बिहान ११:२५ बजे
छोप्राकको सिम्ले चौतारामा मतदाता भेटघाट र सम्बोधन भयो।
मध्याह्न १२:१५ बजे
सिरानचोक गाउँपालिकाको थुम्कीमा एक जना स्थानीय बासिन्दाको घरमा उनले बिहानको खाना खाए।
दिउँसो १ बजे
खाना खाएलगत्तै थुम्कीमै मतदाता भेटघाट र सम्बोधन गरे। बीचबीचमा छोप्राकको विभिन्न स्थानमा मतदातासँग बाटोमै सामान्य भेटघाट नमस्कार गर्दै अघि बढे।
दिउँसो २:१० बजे
छोप्राककै आरुबोटेमा मतदाता भेटघाट तथा सम्बोधन।
दिउँसो ३:२५ बजे
आरुबोटेबाट अलि अगाडि बढ्ने क्रममा बाटो बिग्रेका कारण गाडी फँस्यो। गाडी निकाल्नका लागि बाटो बनाउन थालियो।
दिउँसो ४:२० बजे
लगभग एक घण्टापछि बल्ल गाडी निस्कन सफल भयो। भट्टराईको टोली अर्को गन्तव्यतर्फ लाग्यो।
दिउँसो ४: ३५ बजे
जरेबरमा मतदातासित भेटघाट र सम्बोधन भयो। जरेबरको कार्यक्रमपछि उनले गाडी मै चिया र अमलेट खाजा खाए।
साँझ ६ बजे
गाँखुमा शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति सभा हलमा जनभेटघाट/सम्बोधन
नमूना मतपत्र देखाउँदै मतदान कसरी गर्ने भन्नेबारे उनले जानकारी दिए।
साँझ ६:५५ बजे
गाँखुको पात्लेमा जनभेटघाट/सम्बोधन।
राति ९ बजे
गाँखुको चिलाउनेमा भेटघाट/सम्बोधन।
यो बीचमा गाँखुकै विभिन्न ठाउँमा २/३ ठाउँमा भेटघाट, बाटोमै उभिएर भोट मागेर हिँड्ने गर्दै अघि बढेको
राति १०:१५ बजे
पालुङटार नगरपालिका-१, सातदोबाटोमा भेटघाट/सम्बोधन
राति ११:३० बजे
सातदोबाटोमा युवा कार्यकर्ताहरुसँग छलफल
मध्यरात १२:३५ बजे
पालुङटारको अल्काचिलाउने भन्ने ठाउँमा बास बस्नका लागि पुगे। यो पालुङटार वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाटको घर हो। उनी नयाँ शक्तिबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
मध्यरात १२:४० बजे
वडाका कार्यकर्ताहरुसित छलफल।
मध्यरात १२:५७ बजे
डा. बाबुराम भट्टराईले खाना खाए। खानामा दुई रोटी, साग र कुखुराको मासु।
बिहान १:०८ बजे
डा. भट्टराई सुत्नका लागि प्रस्थान।
बिहान १: ४४ बजे
उनले फेसबुकमा स्टायटस पोस्ट गरे
















