शसस्त्रका डिआईजीले नै रेकर्ड गायब बनाएर जागिर खाएको खुलासा,किताबखानाले गर्ने भयो कार्वाही
रोशन खड्का, काठमाडौं– शसस्त्र प्रहरीका डिआईजी नरेन्द्र सिंहको सेवाअवधीसम्बन्धीको बिवाद प्रहरी किताबखाना पुगेको छ । प्रहरी किताबखाना स्रोतकाअनुसार हाल मध्य क्षेत्रमा डिआईजी रहेका सिंह नेपाल प्रहरीमा ०४१ सालमा सिपाहीमा भर्ना भएका थिए ।
रेकर्ड सच्याएर जागिर खाएको देखिएपछि प्रहरी किताबखानाले डिआईजी सिंहको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रहरी कितावखानामा रहेको सिंहको रेकर्ड र शसस्त्रमा उनले बुझाएको रेकर्ड फरक–फरक देखिएको स्रोतको दाबी छ । प्रहरी किताबाखानाले अवकास पाउनु ६ महिनापूर्व अवकास हुन लागेको पत्र बुझाउने गर्छ ।
सशस्त्रका डिआईजीहरु सुवोध अधिकारी,जानकी भट्टराई,निराक्रमविक्रम शाह र खडानन्द चौधरीलाई चैतमा अवकास हुन लागेको पत्र पठाएपनि डिआईजी सिंहको भने पत्र नपुगेपछि शसस्त्रले खोजी गरेको थियो ।
शसस्त्रको खोजीपछि किताबखानाले डिआईजी सिंहको बारेमा अनुसन्धान भइरहेको जानकारीसहितको पत्र पठाएपछि उक्त खुलासा भएको हो ।
सिंहले २०४१ सालमा नेपाल प्रहरीमा सिपाहीमा जागिर खाएको खुलासा भएको छ । उनले प्रहरीमा हवल्दार समेत भएर पछि राजिनामा दिएका थिए । सिंहले ०४३ सालमा राजिनामा दिएको रेकर्ड समेत भेटिएको छ । सिंहले राजिनामा दिएको तर,उपदान नलिएको देखिएको छ ।
‘अनुसन्धान गर्दा उहाले उपदान लिएको देखिएन्, त्यसैले सेवाअवधीको हिसावले पनि उहाको जागिर यसअघि नै सक्किनुपर्ने हो ।’ किताबखाना स्रोतले काठमाडौंपाटीलाई भन्यो ।
प्रहरी किताबखानाको रेकर्डमा सिंहले ०४३ सालमा जागिर खाएको भेटिएपनि शसस्त्रमा भने उनले ०४५ चैत १ मा जागिर खाएको रेकर्ड बुझाएका छन् । डिआईजी सिंह ०४९ साल चैत १ मा नै प्रहरी निरीक्षकमा भर्ना भएको उनले बुझाएको रेकर्डमा देखिएको छ ।
प्रहरी किताबखानाका उप निर्देशक चन्द्रनाथ गौतमले सिंहको बारेमा अनुसन्धान भइरहेको पुष्टी गरे । ‘उहाको बारेमा अनुसन्धान भइरहेकोले अहिले केही भन्न मिल्दैन, यसबारेमा बोल्न म आधिकारीक व्यक्ति पनि होईन ।’ उपनिर्देशक गौतमले काठमाडौंपाटीसंग भने ।
०४१ सालमा जागिर खाएका सिंह ३० वर्षे सेवाअवधीको हिसावले ०७१ सालमै अवकास भैसक्नुपर्ने हो । तर,उनि अहिलेसम्म शसस्त्रकै जागिरमा कार्यरत छन् । किताबखानाले गृहमन्त्रालयलाई समेत सिंहको बारेमा पत्र लेखेको स्रोतको दाबी छ । उनि नेपाल प्रहरीबाट शसस्त्रमा आउदा डिएसपी थिए ।
शसस्त्र प्रहरीका प्रवक्ता डिआईजी बावुराम पाण्डेले यसबारेमा प्रश्न गर्दा अनविज्ञता प्रकट गरे । ‘यसबारेमा मलाई पनि कुनै जानकारी छैन्, यदी केही जानकारी भयो भने म तपाईलाई भनौला ।’ पाण्डेले काठमाडौंपाटीसंग भने ।
स्रोतकाअनुसार सिंहको जागिर जाने निश्चित भइसकेको छ । उनले रेकर्ड सच्याउनको लागी शक्तिकेन्द्रमार्फत दबाव दिएपनि मिलाउन सकिने सम्भावना नभएको कितावखाना स्रोतले दाबी गरेको छ ।
‘तीन वर्ष अघि नै अवकास भइसक्नुपर्ने मान्छे अहिलेसम्म जागिर खाएको देखियो,अव तीन वर्षको तलव भत्ता फिर्ता गर्ने गरी उहाको बारेमा निर्णय हुन्छ ।’ कितावखाना स्रोतले भन्यो ।
शसस्त्रमा आर्थीक रुपमा समेत निकै अपादर्शी छवि भएका डिआईजी सिंह हाल मध्यक्षेत्रको बाहिनीपतिका रुपमा कार्यरत छन् । उनले आर्थीक अनियमितता गरेको भन्दै फिर्ता बोलाउन पटक–पटक माग भएपनि तत्कालिन गृहमन्त्री जनार्दन शर्माले उनलाई जोगाएका थिए ।
शसस्त्रमा दुई पटक क्षेत्रको प्रमुख हुने सिंह भाग्यमानी डिआईजी समेत हुन । उनी हाल एआईजी हुन दरबन्दी थप्नुपर्ने भन्दै लविङमा समेत छन् ।
















