जब सहपाठीले नै ‘भोट किन मागेको’ भन्दै अपहरण गरे ! यस्तो रहेछ रहस्य

नविन खड्का

मेरो अपहरण सम्बन्धि सबै कुरा भन्न मलाई व्यक्तिगत रुपमा सहज छैन। म सबै कुरा भन्न सक्ने अवस्थामा पनि छैन।

जिल्लाको निर्वाचन आयोगका कर्मचारीहरु पनि नपुगेको सुकीदह गाउँपालिका ३ डाँडाखुटीमा बिहिबार नमुना मतपत्र लिएर हामी भोट कसरी हाल्ने भनेर मतदातालाई सिकाउन पुगेका थियौं। त्यहाँ पुगेर हामी वामगठबन्धनका उम्मेदवारलाई भोट मागिरहेका थियौं।

डाँडाखुटीमा यसअघि भोट माग्न कोहिपनि पुगेका थिएनन्, हामीले कसैले हिम्मत गर्न नसकेको ठाउँमा गएर भोट माग्यौं।

हामी दुईजना थियौं। म र एकजना विष्णु खड्का भन्ने साथी। हामी भोट कसरी हाल्ने भनेर सिकाइरहेका थियौं, त्यही क्रममा अचानक विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका साथीहरुसँग जम्काभेट भयो।

मलाई लाग्छ उनीहरू हामी निर्वाचन अभियानमा छौं भन्ने थाहा पाएरै त्यस ठाउँमा आएका थिए। त्यसो त उनीहरू मेरा चिनजानकै साथीहरु थिए। हामी बच्चामा सँगै खेलेका, सँगै पढेकै साथीहरु हौं। राजनीतिक रुपमा पनि थुप्रैपटक उनीहरूसँग देखभेट भएको थियो। हाम्रो सम्बन्ध पनि हार्दिक नै थियो।

तर, जब उनीहरुले हामी मत माग्दै छौं भन्ने थाहा पाए, हामीमाथि जथाभावी मुख छाड्न थाले। २०–२५ जनाको संख्यामा रहेका उनीहरूले धम्क्याउन थाले– ‘हामीले चुनाव बहिष्कार गरेका छौं भन्ने थाहा छैन? किन भोट माग्दै हिँडेको? हातखुट्टा भाँचिदिन्छौं, ढाड भाँचिदिन्छौं। ज्यानको माया छ कि छैन?’

हामीलाई यसरी धम्की दिँदैगर्दा उनीहरुको मुखबाट मदिराको गन्ध आइरहेको थियो। मलाई लाग्छ, उनीहरु कतै बसेर मदिरा पिउँदै थिए। हामी मत माग्न आएको सुराक पाएर हामीलाई खोज्दै आएका हुनुपर्छ।

केहिबेर धम्क्याएपछि उनीहरुले हामी दुई जनालाई लिएर हिँडे। कहाँ लान्छन्? के गर्छन्? केहि थाहा भएन। उनीहरुले जता भन्थे हामीहरु उतै गइरहेका थियौं। केही समय हिंडेपछि मसँगै गएका साथी विष्णु खड्काका आफन्त र गाउँले आइपुगे। त्यस क्रममा विष्णु खड्काका आफन्त र हामीलाई लैजाने विप्लवका कार्यकर्ताबीच तानातान र धकेलाधकेल भयो। सानोतिनो झडप नै हुनपुग्यो।

आफन्तहरुले विष्णु खड्कालाई जबर्जस्ती फुत्काउन सफल भए। आफन्तको पासमा पुगेका विष्णुलाई कब्जामा लिन नसक्ने भएपछि उनीहरूले छाडिदिए र मलाई लिएर हिंडे।

उनीहरुले मलाई सल्यान र रोल्पाको सिमानामा पर्ने एक घरमा लगेर राखे। साथीहरुले जति दुर्वचन बोल्नु थियो समाउने बेलामा ने बोले। मलाई नियन्त्रणमा लिएपछि भने शौहार्दपूर्ण व्यवहार गरे। कुनै अप्ठ्यारो पार्ने, यातना दिने र वयान लिने केहिपनि गरेनन्। खाना राम्रोसँग खुवाए।

विस्तारै उनीहरुको व्यवहार हार्दिक भएपछि मैले भनें– मलाई बोलाएको भए भइहाल्थ्यो, आफैं आइहाल्थें। कब्जामा लिने यो तरिका ठिक भएन। यो मानवीय र राजनीतिक तरिका भएन।

मलाई नियन्त्रणमा लिएपछि वामगठबन्धनले विज्ञप्ति निकाल्यो। मेरो अवस्थालाई लिएर पहलकदमी लिन थाल्यो। त्यसपछि उनीहरूले मलाई लामो समय नियन्त्रणमा राख्दा आफैंलाई समस्या पर्ने ठाने होलान। त्यसमाथि मेरै साथीहरुपनि भएकाले मलाई नियन्त्रणमा राख्नु उचित लागेन होला, सायद।

अपहरण गरेपनि मेरो मोबाइल मैसँग थियो। त्यस क्रममा थुप्रै फोनहरु आएको उनीहरूले थाहा पाएका थिए। आफैं असुरक्षित हुने भयले पनि हुनसक्छ वा सांकेतिक रुपमा नियन्त्रणमा राखेको सन्देश दिनका लागिमात्र पनि हुनसक्छ। मलाई त्यसपछि उनीहरूले शुक्रबार बिहान अपहरणमुक्त गरिदिए। मलाई छाडेपछि उनीहरू आफ्नो बाटो लागे। कता गए भन्ने मलाई थाहा भएन।

म एमालेको रोल्पा–काठमाडौं सम्पर्क समितिको सचिव छु। चुनावकै लागि काठमाडौंबाट आफ्नो घर रोल्पा सुकीदह आएको थिएँ। यो बीचमा माडी, सुकीदह, दुईखोली लगायतका चुनावी अभियानमा म वर्षमान पुनको टोलीमा थिएँ।

अहिले पनि म जुन ठाउँमा उनीहरूले अपहरणमुक्त गरेका थिए त्यहीँ छु। मौन अवधि शुरु भएकाले अब चुनावी अभियानको थकान मेट्नका लागि साथीहरु जम्मा भएर बसिरहेका छौं।

रमाइलो छ अहिले यहाँ। सहपाठीहरु भेट भएका छौं। अहिले म सहपाठीहरूसँगै बसेर फ्रेस भइरहेको छु।

(अपहरणमुक्त भएका खड्कासँग मनोज खतिवडाले गरेको वार्तामा आधारित)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार