नयाँ वर्षमा दुबईमा विशेष सांस्कृतिक कार्यक्रम हुने

१० अप्रील, दुबई । नेपाली नयाँ वर्ष २०७४ को अवसरमा दुबई (युएई) मा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

मोफसल इभेन्ट कम्पनीको आयोजना र नेपाली ग्रोसरी कालिमाटी खाद्यान्य भण्डारको सहकार्यमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

अप्रील २१ मा दुबईको अल्कुजस्थित डुलस्को हलमा आयोजना गरिने कार्यक्रमको नाम कालिमाटी विशेष सांस्कृतिक कार्यक्रम जुराइएको छ ।

कार्यक्रममा कलाकारहरु नन्दु राई, पारस लामा, सारिका सुनार, राजेश पाण्डे, यमुना कार्की, अमृता लक्सम लिम्बु, निलाम्बर भट्टराई, प्रशान्त ताजपुरिया, मनोज पौडेल, सुनिता सुब्बालगायतले प्रस्तति दिनेछन् । अतिथि कलाकारका रुपमा गायक तारा लक्समलाई आमन्त्रण गरिएको छ ।

मोफसल इभेन्ट मेनेजमेन्ट कम्पनीका लोमश भट्टराईका अनुसार, सांस्कृतिक कार्यक्रमका अतिरिक्त सागसब्जी, मुला, करेला, भिन्डी, दाल, गेडागुडी, भटमास, टिम्मुर, गुन्द्रुक, कोदाको पिठो, फापर, मुलाको अचारलगायतका नेपाली उत्पादनसमेत बिक्रीका लागि राखिने छ ।

कार्यक्रमको व्यवसायिक पक्षको जिम्मा लिएका राजेश पाण्डेले जानकारी गराए अनुसार आयोजकले नयाँ वर्षको अवसरमा नेपाली कामदार धेरै बस्ने क्षेत्रमा शुभकामना आदानप्रदान गर्न र नेपाली कला, संस्कृतिबाट मनोरञ्जन दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

यसैबीच, नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ । जेबलअली, दुबईको एक मजदुर क्याम्पमा गत ७ अप्रिलमा सुरु भएको प्रतियोगितामा युएईका विभिन्न संघसंस्थालगायत कम्पनीमा कार्यरत १४ टिमले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार