झापामा राहत बाँड्दा यस्तो के भने धुर्मुसले ? (हेर्नुहोस् भिडियो)


विर्तामोड । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ बाढी पीडितका राहत सामाग्री लिएर मंगलबार साँझ झापा गाउँपालिकाको झापा बजार पुग्दा सयौं बाढीपीडितले ताली बजाएर उनको स्वागत गरे । त्यतिमात्र होइन बाढी र डुवानले घरबार विहीन बनेर पीडादायी दिन काटिरहेको भए पनि केही क्षण धुर्मुससँग नजिक हुन पाएकोमा उनीहरु निकै खुशी देखिन्थे ।

मंगलबार साँझ करीब ८ बजे झापा बजार पुगेर धुर्मुसले आफूसँग ल्याएको चामलका बोरा, अन्य खानेकुरा र भाँडाकुँडा झापा गाउँपालिकाका प्रमुख जयनारायण साहलाई जिम्मा लगाए । पिकअप भ्यानमा ल्याएका सामान उनले नै टाउकामा बोकेर इलाका प्रहरी कार्यालय कुमरखोदको भण्डारण कक्षमा लगेर थन्क्याए । धुर्मुसले भने, ‘हामीले ल्याएका तपाईंहरुलाई चाहिने सामान राम्रोसँग प्रयोग गर्नु होला ।’

Dhurmus 1

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार झापामा बाढी तथा डुबानबाट सबभन्दा बढी प्रभावित झापा गाउँपालिका हो । त्यहाँ करीब २ सय घर परिवार घरबारवीहीन बनेका छन् । उनीहरुको बस्ने घर खोलाले बगाएको छ । त्यस्ता बाढीपीडितलाई विद्यालय तथा सामुदायिक भवनमा राखिएको छ । धुर्मुसले आफ्ना कुरा राख्दै गर्दा तिनै विस्थापितमध्येका एकजना परबाट कराए, ‘अहिलेसम्म कुनै कलाकार यहाँसम्म राहत लिएर आएका थिएनन् । धुर्मुसको जय होस्।’

सीताराम कट्टेलले राहत वितरण मात्र गरेनन्, बाढी पीडितलाई जथाभावी फोहोर नगरि सफा बस्न सुझाए । उनले सबैले सफा बस्ने कोशिस गरे सरुवा रोग सर्ने संभावना कम हुने बताए । ‘तपाईं हामी सकेसम्म सफा बसौं,’ धुर्मुसले भने, ‘फोहोर पानी नखानु होला । पानी उमालेर मात्र खानु होला ।’

धुर्मुस सुन्तली फाउन्डेसनको राहतले झापा गाउँपालिकाका बाढीबाट विस्थापितलाई ठूलो राहत मिलेको उक्त गाउँपालिकाका प्रमुख जयनारायण साहले बताए । धुर्मुसले बाढी पीडितलाई झूल लगाएर सुत्न र राति सर्पको बिगबिगी हुने भएकाले टर्च लाइटको प्रयोग गर्न सुझाव दिनसम्म भ्याए । उनले भने, ‘यो मेरो गृह जिल्ला हो । यही माटोमा हुर्केको हुनाले मेरा दाजुभाइलाई कसरी जोखिमबाट जोगाउन सकिन्छ भनेर यि कुरा मैले भनिरहेको छु ।’

अन्नपूर्ण पोस्टबाट

हेर्नुहोस् भिडियोः

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार