एनआरएनए यूकेका पूर्व युवा संयोजक आचार्यमाथि ठगीको आरोप – पीडित अदालत पुगे

(एडिनबरा) । एनआरएनए यूकेका पूर्व युवा संयोजक हरि आचार्यमाथि ठगीको आरोप लागेको छ । वर्क परमिट भिजा लगाइदिन्छु भन्दै आचार्यले हजारौं पाउण्ड लिएर सम्पर्कविहीन भएपछि पीडितहरु अदालतसम्म पुगेका छन् ।

एकजना पीडित ज्ञानेन्द्र निरौलाले आचार्यले आफूहरुको ७ हजार ९ सय पाउण्ड लिएको जनाउंदै त्यो फिर्ता दिलाउन अदालतमा मुद्दा दायर गरिएको बताए । ‘तर, अदालतको इन्फोर्समेन्ट टिमले आचार्यको लन्डनस्थित ठेगाना पत्ता लगाउन सकिरहेको छैन्’, निरौलाले भनेका छन्, ‘कृपया कसैलाई उसकाबारे थाहा छ भने सहयोग गरिदिनुहोला ।’

बिनिता थापा, टंक फुंयाल, सुस्मिता लामा लगायत पीडित पनि आचार्यविरुद्ध एकजुट भएका छन् । आफ्नो १५ हजार पाउण्डभन्दा बढि रकम आचार्यले लिएको ति पीडितले बताएका छन् ।

आचार्यको यस्तो क्रियाकलापले पारिवारिक झमेला समेत आएको छ । दुई वर्ष नपुग्दै श्रीमान श्रीमतिबीच सम्वन्ध विच्छेद भएपछि श्रीमति लक्ष्मी गौतम पीडितलाई न्याय दिलाउन आचार्यविरुद्ध लागेकी छन् । ‘उसले तिर्नुपर्ने रकम झण्डै एक लाख पाउण्ड होला । मागेको पैसा कहां लगे मलाई कहिल्यै भनेन । सबै पीडितहरु म र मेरो परिवारसंग पैसा फिर्ता माग्न आइपुग्दा पो उसको ठगी थाहा भयो’, गौतमले भनिन्, ‘तर, हामी पनि काम गरेर खानुपर्ने मध्यमवर्गीय परिवार । पीडितको पैसा कसरी तिर्न सक्थ्यौं र ?’

गौतमले आचार्यले बिहे पूर्व भिजा र उसको दोश्रो बिहे भएको बारे केही नबताएको, ठगी क्रियाकलाप गर्दै हिंडेको, घर परिवारलाई कहिल्यै समय नदिएको र परस्त्रीसंग सम्वन्ध कायमै राखेपछि सम्वन्ध विच्छेद गर्नुपरेको बताएकी छन् । ‘एनआरएनए यूकेले पनि भिजा र अन्य केही बुझ्दै नबुझी कसरी युवा संयोजक बनायो ?’ लक्ष्मीले प्रश्न गरेकी छन्, ‘उसलाई त्यो पोजिसनले पनि ठगी गर्न सघायो ।’ लक्ष्मीले आचार्यको प्रलोभनमा परेर पैसा नदिन पनि सुझाएकी छन् ।

आचार्य भने हाल सम्पर्कमा छैनन् ।

(यो समाचार लक्ष्मी गौतमको परिवारको आग्रहमा हामीले यहाँ पोस्ट गरेका छौं । उनको भनाई अनुसार लाखौ कोशिस गर्दा पनि बेलायतमा रहेका कुनै पनि नेपाली मुलधारका मिडियाले यो समाचार सम्प्रेषण गर्ने हिम्मत गरेनन वा भनौ यो समाचार सम्प्रेषण गर्न इच्छुक भएनन्। समाचार  पिडित भनिएकाहरुसंग संग भएको कुराकानी र प्राप्त प्रमाणहरुको आधारमा तयार पारिएको हो। )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार