
काठमाडौं । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो ।
दाङको गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुबै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले पेट्रोलियम भए-नभएको बारेमा अध्ययन गरेको थियो । स्थानीयले केही दिनअघि बगरमा ग्यास निस्किएको भन्दै विभागमा जानकारी गराएका थिए ।
विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिदैं यसको विस्तृत अध्ययनपछि मात्र कुन ग्यास हो भन्न सकिने उपमहानिर्देशक रजौरले बताए । ‘यो मिथेन ग्याँस हो कि, पेट्रोलियम ग्याँस नै हो,’ त्यो भने अध्ययनपछि मात्रै यकिनका साथ भन्न मिल्छ।’ उनलेले भने ।
यसअघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलबारीस्थित किनारमा पनि यस्तै ग्याँस फेला परेको थियो। वर्षौं पहिले त्यहाँ ग्याँस उत्पादन गर्नका लागि सरकारले भवन निर्माण गरेपनि ग्याँस निकाल्ने काम भने भारतकै कारण प्रभावित बनेको जानकारहरू बताउँछन् ।
















