तरकारीको मूल्य आकासियो – सर्वसाधारणले किन्नै नसक्ने

तेह्रथुम। दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ ।

दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ ।

त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य रु ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बेमौसमी तरकारीको मूल्य बढेपछि किसान हौसिएका छन् ।

तिहारको समयमा मूल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताउनुभयो । मुख्य आमदानीको स्रोत तरकारीखेतीलाई बनाएका यहाँका किसानले यस वर्ष बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गरेका छन् ।