हेलो राजन जी ! ” एनआरएनएलाई मुड फ्रेस गर्न यसो केही हिरोइन पठाईदिनुस् न है “

हेलो… राजनजी नमस्कार !
नमस्कार… भन्नुस न !

सुन्नुस न ! एनआरएनएको अक्टुबर १४ देखि १७ तारिखसम्म काठमाडौँमा वृहत कार्यक्रम हुँदैछ । त्यो कार्यक्रममा केही हिरोइनहरुलाई बोलाउनु पर्यो ।

उताबाट यस्तो आग्रह आएपछि यताबाट मैले भनेँ, हिरोइनहरुलाई अतिथि बनाउने हो ? जवाफमा उताबाट आयो, ‘यसो कार्यक्रमको आकर्षणको लागि मात्र हो । कार्यक्रममा धेरै भाषण हुने भएकाले विदेशबाट आएका नेपालीले राम्रो अनुहार देख्दा उनीहरुको पनि मूड फ्रेस हुन्छ कि भनेर… ।

उताबाट यस्तो जवाफ आएपछि मैले थपेँ– ‘ए… नेपाली सिनेमाका हिरोइनहरुको उपस्थिति तपाईहरुलाई मूड फ्रेस गर्न र आकर्षणको लागि मात्र ? तपाईहरुको एनआरएनएले नेपाली कलाकार र नेपाली चलचित्र विधालाई अहिलेसम्म के गर्यो र हिरोइनहरु तपाईंको कार्यक्रममा शोभा बढाउन उभिनु पर्ने ? तपाईहरु करोडौँ, अर्बौंको कुरा गर्नुहुन्छ तर नेपाली चलचित्र विधालाई कति लगानी गर्यो तपाईको एनआरएनएले ? मेरो यो प्रश्नले ती महानुभाव जवाफविहीन हुन् पुगे । र, अन्त्यमा यसो भन्दै पन्छिए– ‘भेटेर कुरा गरौँला नि ।‘

उताबाट यस्तो आग्रह आएपछि यताबाट मैले भनेँ, हिरोइनहरुलाई अतिथि बनाउने हो ? जवाफमा उताबाट आयो, ‘यसो कार्यक्रमको आकर्षणको लागि मात्र हो । कार्यक्रममा धेरै भाषण हुने भएकाले विदेशबाट आएका नेपालीले राम्रो अनुहार देख्दा उनीहरुको पनि मूड फ्रेस हुन्छ कि भनेर… ।

अहिले काठमाडौँ एनआरएनएमय भएको छ । हरेक २ वर्षमा नयाँ नेतृत्व छान्ने भेलाअन्तर्गत काठमाडौँमा अक्टुबर १४ देखि १७ सम्म आयोजना भइरहेको कार्यक्रममा सहभागी हुन विदेशमा रहेका नेपालीहरुको ठुलै जमघट छ काठमाडौँमा । सडक बढार्नेदेखि सगरमाथाको फोहोर उठाउने कार्यसम्ममा एनआरएनएले आफ्नो सहभागिता जनाउँदै आएको छ । तर, नेपाली चलचित्र र कलाकारिताको पक्ष वा हितमा यो सँस्थाले अहिलेसम्म एउटा सिन्को पनि भाँचेको रेकर्ड कतै छैन ।

आफ्नो मुलुकप्रति माया गर्ने भनेर चिनिनुहुन्छ उहाँहरु । तर, चलचित्र क्षेत्रमा एनआरएनए सँस्थाको उपस्थिति प्रायः शुन्य छ । बरु विदेशमा दुःख गरेर कमाएको रकम एनआरएन अर्थात् गैरआवासीय नेपालीहरुले व्यक्तिगत रुपमै लगानी गर्नुभएको छ । तर, संघ आफै भने यो मामिला पछाडि छ । खेलकुद वा स्वास्थ्य क्षेत्रमा संघले आफ्नो उपस्थिति जनाउने गरेको छ । तर, चलचित्र क्षेत्रलाई संघले बिर्सेर पनि हेरेको छैन । अनि उहाँहरुको कार्यक्रममा भने आकर्षणको लागी सिनेमाकै हिरोइनहरु चाहिने रहेछ ।

उहाँहरुले लगानी गरेको अन्य क्षेत्रका महानुभावहरुलाई निमत्रणा गरे हुन्न ? किन हिरोइन नै चाहियो ? चलचित्र क्षेत्र चाँडै प्रभावपार्ने क्षेत्र भएको कुरा यो संघलाई थाहा नभएको पनि होइन । तर, यो क्षेत्रलाई माया गरेर वा आफ्नो क्षेत्र ठानेर चलचित्र विधालाई केही गर्ने सोच भएको भए आज चलचित्र विधाले पनि एनआरएनएसँग अंकमाल गर्दै सहकार्य गर्दै हिँड्थ्यो होला । आज अमेरिकालाई हलिउड र भारतलाई बलिउडको नामले विश्वभर चिनिन्छ । तर, एनआरएनए विश्वको ७८ ओटा देशमा छरिएर बसेको छ भन्ने डाटा मात्र लिएर के गर्ने ? यो संघले वर्षका उत्कृष्ट केही नेपाली चलचित्रहरुलाई अनिवार्य आफ्नो संघ मार्फत विश्वभरि पुर्याउन सक्दथ्यो, तर यस्तो सोच भएको कोही पनि व्यक्ति संघ भित्र देखिएन ।

जब उहाँहरुको कार्यक्रम हुन्छ तब मात्र आकर्षण र तस्विर खिचाउनको लागि नेपाली कलाकारहरुको याद आउँछ संघलाई । आफु फैलिएका मुलुकहरुमा नेपाली सिनेमा पुर्याउन सकेको भए संघ मार्फत नै विश्वभर नेपाली सिनेमाको व्यापार बढ्ने थियो । यसतर्फ पनि संघले सोचेको भए कति उत्तम हुन्थ्यो होला ? बस्ति, बिल्डिङ, सडक, पुल र होटलहरुमा लगानी गरेर व्यापारिक सोचलाई अगाडी बढाए जस्तै विश्व माँझ नेपाली सिनेमाको पहुँच पुर्याउन अबको नयाँ नेतृत्वको सोच जानु आजको आवश्यकता हो ।

जति बेला चाह्यो वा आकर्षणको लागि मात्र लुरुक्क परेर आउने स्तर नेपाली कलाकारको रहेन अब। त्यसैले एनआरएन महानुभावहरु, उनिहरुको सम्मान, प्रतिष्ठा र स्तरको पनि ख्याल राख्ने गरौँ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार