काठमाडौं । तिहारका लागि लक्षित गरेर बजारमा बेच्न राखिएका मिठाईमा अखाद्य पदार्थको मिसावट बढी भएको पाइएकाले उपभोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ । यस्ता मिठाई खाँदा दीर्घकालीन रोगसमेत निम्त न सक्छ । त्यसैले मिठाई किन्नुअघि त्यसको गुणस्तर पहिचान गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

त्यसो त स्वास्थ्यकर मिठाइ पनि खाँदा बिचार पु¥याउनु पर्ने चिकित्सकहरु बताउछन् । मिठाईलाई फुलाउन, आकर्षक बनाउन, दूधबाट नबनेका परिकारलाई शुद्ध गाईभैंसीको दूधबाट बनेको भनेर देखाउन, महँगो केशर राखिएको भनेर झुक्याउन, गुलाफ ल्वाङ सुकुमेल हालेको बास्ना देखाउन विभिन्न अखाद्य रङ, हाइड्रो, सोडियम बाइकार्बोनेट, मेलामाइन, कृत्रिम सुगन्धलगायत विभिन्न अखाद्य केमिकल प्रयोग हुने गरेको छ । त्यस्तै, गुलियो बनाउन चिनीभन्दा सस्तो रसायन साकारिन प्रयोग भइरहेको छ ।
मिठाईलाई आकर्षक बनाउन सुनचाँदीको जस्तो देखिने गरेर खान नमिल्ने आल्मुनियमको तपक अत्याधिक प्रयोग भइरहेको छ । जेरी, पुरी, निम्की, कचौरी, समोसा, चप, पकौडा तयार गर्दा लामो समयसम्म पटक–पटक पुरानै तेलमा पकाउने गरिएको छ । यसरी तयार भएका मिठाई खाँदा तत्कालिन रुपमा केहि नभए पनि दीर्घकालीन रुपमा स्वास्थ्य मा गम्भीर असर गर्ने चिकित्सकहरु बताउछन् ।
अखाद्य वस्तुको मिसावट नियन्त्रणसम्बन्धी छुट्टै ऐन नभएका कारण मिठाई व्यापारीले अखाद्य वस्तु मिसाउने छुट पाइरहेका छन् । समय समय मा हुने अनुगमन नाटक मात्र बनेको छ । अखाद्य वस्तुको मिसावट नियन्त्रण गर्न छुट्टै मिसावट नियन्त्रण ऐन जारी गरी कडाइसाथ लागू नगरे मिठाइको नाम मा बजारमा बिषको ब्यापार यसरी नै जारी रहने छ ।
















