-राजकरण महतो
पर्वहरु मनाउने क्रममा दशैं, दिपावली र तिहार पर्वपछि अहिले महान पर्व छठ पर्व मनाइँदै छ। सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो।
आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक बर्ष प्रगाड बनाउँदै आइरहेको छ। मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक बर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने काम गर्छ।
भनिन्छ, ‘भक्त र भगवानसँग सीधा वार्तालाप छठ पर्वमा हुन्छ।’ यो नै एउटा पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन। छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ। त्यसैले पुजारी चाहिदैन। छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन्।
अवलोकनसँगै विधिहरू सिधै सिक्ने र यो क्रम नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ। केहीले छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी ब्रतालु सूर्यलाई नमस्कार गर्छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन । व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन्।
छठ शब्द संस्कृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ। चार दिवशीय छठ ब्रतमा सबै भन्दा कष्ठ, कठिनाई, दौडधुप, श्रम—शक्ति र महत्वको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनै हुन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्वको नाम हो छठ। यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो। यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ। निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ। छठको धेरै महत्व छन् । तर यहाँ छठको महत्वपूर्ण फरक —फरक ८ विशेषाहरुको चर्चा गर्न जरुरी छ।
(१) समाजिक सद्भावको पर्वः
छठ समाजिक सद्भावको पर्व पनि हो । हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था अझै कायमै छ । कानुनी रुपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत भने कायमै छ । तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्व कालदेखिनै भत्काइएको देखिन्छ। हाम्रो समाजमा सबैभन्दा अपहेलित जात डोम हो । तर छठ पर्वका डोम बिना सम्भवै छैन। उनीहरुले पसिना बगाएर बनाएको ढक्की, नाङ्गलो, सुपा, डलिया, सुपली आदिमा छठी मैयालाई चढाउन प्रसाद राख्न ब्रतालुहरु प्रयोग गर्छन् । पूजा समाग्री सजाउनाले ती पिछडिएका दलित पनि हाम्रो समाजको अंग हुन र तिनको पनि समाज विकास, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान रहेको तथ्यलाई यहाँ स्वीकार गरिएको देखिन्छ। त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन्। धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै बैमनश्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन। कुनै जात जाति हुन, तिनको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन, सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन पुग्छ। तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ। अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछुत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा पर्यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन्। यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ।
एकताको पर्वः
सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाईचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ। पहाड र राजधानी यति बेला छठमय भएको छ। बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसंग छठको प्रेम छ।
लोकतान्त्रिक पर्व :
लोकतन्त्रमा सबै बराबर हुन्छ भने जस्तै छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर सदियौंदेखि चिनाउँदै आएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी कुनै विभेद नगरी गरिव र धनी सबैलाई समान रुपले प्रकाश छर्छन । सूर्यको प्रकाश विना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहदैंन।
रोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुःख, पारिवारिक सुःख, सुस्वास्थ्य, दिर्घायूको कामना गर्दै सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठपूजा भनिन्छ ।
अहिंसाको पर्वः
छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ। दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ। शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ। ब्रतालुहरु यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ।
आस्थाको पर्व :
छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ। त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसंगै सद्भावको पर्व पनि भनिन्छ।
गीतमय पर्व
छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधानहरु गीतबाटै बुझ्न सकिन्छ । छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जिन्छ। जसले छठ आएको भान हुन्छ। गीतले ‘छठ आउँदैछ, तयारीमा जुट’ पनि भन्छन्।
कृषकको पहिचानको पर्वः
छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन। प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ । गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ।
नारी सशक्तीकरणको अनुष्ठानको पर्वः
छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ । सूर्यको उपाशनामा कृपालु छठी माईको आशिषबिना अनुष्ठान पूरा हुनै सक्दैन । यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ।















