काठमाडौँ । आइसीसी महिला विश्व टी–२० एसिया छनौट २०१७ अन्तर्गतका लागि नेपालले महिला टिम घोषणा गरेको छ । एक महिनापछि थाइल्यान्डमा हुने प्रतियोगीताका लागि नेपालले दोस्रो चरणको छनौट गरेको हो ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको टिममा दोस्रो चरणमा २२ खेलाडी छनोट भएका छन् । पहिलो चरणको छनोटमा सहभागी खेलाडीलाई ४ टिममा विभाजन गरिएको टिमबाट दोस्रो चरणको टिम छनौट गरेको हो । छनोट समितिमा प्रशिक्षक सामसंग थापा सहित आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, सिनियर टिमका प्रशिक्षक जगत टमाटा र कप्तान रुबिना क्षेत्री थिए ।
२२ सदस्यीय टोलीमा रुबिना क्षेत्रीका कप्तानीमा, सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितु भण्डारी, अलिशा क्षेत्री, कविता कुँवर, विनु बुढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अन्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल, सवनम राई रहेका छन् ।
अव दोस्रो चरणको बन्द प्रशिक्षणपछि १४ सदस्यीय अन्तिम टिम घोषणा गरिने बताईएको छ । अन्तिम टिमले एक साता बंगलादेशमा प्रशिक्षण गर्नेछ । नेपाली टिम २३ कात्तिकमा बंगलादेश जानेछ । छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिष्पर्धा हुनेछ ।
















