धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् ।
ज्यान जाने २० जनाको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान जानेमा सप्तरी तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ६ की ३५ वर्षकी सिसिपी कुमारी झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षका रञ्जितकुमार झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ का ६ वर्षका आदित्य यादव, बोदेबर्साइन गाउँपालिका वडा नम्बर ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेया निवासी २४ वर्षका रामान्द यादव, २५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरी, गाडी सहचालक सप्तरी जिल्ला देउरीमरुवा निवासी नरेश मुखिया, राजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झा, सिरहा गोलबजार ८ का ५० वर्षका राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो ।
यसैगरी सप्तरी जिल्ला कृष्णसबरन गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका सुधिरा यादव, कृष्णसबरन गाउँपालिकाका ५ वर्षकी सदिक्षा यादव, सप्तरी बसेज निवासी ३० वर्षका सुरेन्द्र चौधरी, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ की अस्की कुमारी यादव, राजविराज नपा वडा नम्बर १३ का ऋषि आनन्ददेव, सिरहा नगरपालिकाका ३० वर्षका उदय मंडल, सप्तरी महादेवा गाउँपालिका वडा नम्बर ९ का प्रमोद इसार, राजविराज नगरपालिका वडा नम्बर १४ का २० वर्षका आदित्य झाको सनाखत भएको छ ।
दुर्घटनापछि शनिबार बेलुकासम्म उद्दारको काम भइरहेको छ । दुर्घटनाका मृतकहरुको संख्या ३० पुगेको छ । १० जनाको अझै सनाखत भएको छैन ।
सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएको थियो । घाइते मध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
















