सिंगो गाउँमा एक्लो कांग्रेस , छिरिङ नोर्बु – कांग्रेस भएकै कारण सिंगो गाउँलेको बहिस्कारमा

लामो कपाल । हाँस्दा गालाका छाला चाउरिएका । कपाल र दाह्री तील चामल भएको । मैलो लुगा लगाएर असोजको पारिलो घाम ताप्दै एकोहोरो माने घुमाइरहेछन् हुम्लाको लिमी गाविस, हाल्जी गाउँका ६८ वर्षीय छिरिङ नोर्बु । न उनको काम छ, न उनको जाने ठाम नै छ । बोलुँ गाउँका कोही बोल्दैनन् ।

उनी बिहान उठेदेखि बेलुकीसम्म हाल्जीको स्तुपामा घाम ताप्दै माने घुमाउँछन् । कहिले गाउँको बारी हेर्छन् त, कहिले आफ्ना अतित सम्झेर टोलाउँछन् । उनले बारी तिर हेर्नु र अतित सम्झनुको कारण एउटै हो- आफ्नो जग्गा अरुले नै भोग चलन गर्नु ।

हुम्ला सदरमुकामदेखि काठमाडौंसम्मकै यात्रा तय गरिसकेका छिरिङको जग्गा ३० वर्षअघि आफ्नै मामाको छोराले खाइदिए । उनले जग्गा आफ्नो बनाउन मुद्धा लडे । जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म नै उनले मुद्धा लडे । मुद्धाको फैसला आफ्नो पोल्टामा पनि पारे । तर जग्गा भने अहिलेसम्म आफ्नो पोल्टामा पार्न सकेका छैनन् । त्यसैले उनी विरक्तिन्छन् । कतै जाँदैनन् र गाउँलेबाट टाढा भएका छन् ।

गएको हप्ता लिमीको हाल्जी गाउँमा पुग्दा भेटिएका यी ६८ वर्षीय छिरिङले यी सबै हुनुको कारण भने आफू नेपाली कांग्रेस भएकोले भोग्नु परेको दाबी गरे ।

लिमीमा कुनै राजनीतिक दलका कोही कार्यकर्ता र सदस्य छैनन् । रहेछन् उनी एकजना । उनले भने, ‘हाल्जीको म एक्लो कांग्रेस ।’ कांग्रेस भएकै कारण गाउँलेले ‘बहिस्कार’ गरेका रहेछन् ।

उनी अरुले नै भोगचलन गर्दै आएको उक्त जग्गा आफूलाई दिलाईपाउँ भनेर २५ वर्षदेखि जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा धाए ।

‘कांग्रेस भएरै कसरी जग्गा पाउनु भएन त ?’

छिरिङका अनुसार लिमी गाविसमा यो पार्टी, उ पार्टी भनेर गाउँलेहरु विभाजित छैनन् । यो गाविसमा हरेक ५/५ वर्षमा चुनिने गाविस अध्यक्षले जे भन्यो त्यही चल्छ । गाउँलेहरु भोट त्यही अनुसार दिन्छन् । तर छिरिङ भने गाविस अध्यक्ष र गाउँले भन्दा फरक धार राखेर ‘कांग्रेस हुँ’ भनेर भनेकोपछि गाउँबाट एक्लिए । अदालतको निर्णय पनि कार्यान्वयन हुन सकेन ।

छिरिङ भन्छन्, ‘म कांग्रेस हुँ । सबै गाउँलेले मलाई कांग्रेस भनेर जितेको मुद्धा पनि कार्यान्वयन गर्न दिएनन् ।’

उनको जग्गा मिलाउनको लागि जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी सबै गइसके तर पनि उनले जग्गा पाएका छैनन् । सीमा प्रहरी चौकी सुनखानी, लिमीका असइ किसन बहादुर ओली भन्छन्, ‘छिरङ आएर जग्गा दिलाइदिन पर्योप भनेर भन्नुहुन्छ । हामी गाउँमा जान्छौं । तर गाउँलेहरु एक भएर दिन्न भन्छन् । हामी त्यसै फर्कन पर्छ ।’

छिरिङ कांग्रेस भएको र गाउँलेबाट एक्लिएकै कारण मुद्धा जिते जग्गा पाउन नसकेको असइ ओली बताउँछन् ।

लिमीका पूर्व गाविस अध्यक्ष एवं गाउँ अगुवा कोजुक ओबजाङ तामाङ पनि उक्त भनाइ स्विकार गर्छन् । कोजुकका अनुसार छिरिङको १२ कित्ता जग्गा अहिले पनि उनको मामाको छोराले नै भोग चलन गर्दै आएका छन् ।

कोजुक भन्छन्, ‘जसले जस्तो सुकै निर्णय गरेपनि गाउँले र गाविस अध्यक्षले हुन्छ नभनेसम्म केही लाग्दैन । गाउँलेहरु एकतिर छिरङ अर्कोतिर भएर समस्या परिहरेको छ ।’

श्रीमतीसँगै बसेका छिरिङ गाउँलेले एक्ल्याएपनि आफू कांग्रेस रहेको भने फूर्तिका साथ गर्व गर्छन् । २ छोरीका बाबु नोर्बुलाई जग्गा नपाएपनि केही छैन तर उनी कांग्रेस भने मरुन्जेलसम्म हुने बताउँछन् । चाउरिएको गाला मुजा पार्दै उनी भन्छन्, ‘२५ वर्ष भयो मुद्धा लडेको अझै लड्छु ।’

हिमाली जिल्ला हुम्ला क्षेत्रफलको हिसाबले ठूलो जिल्ला हो । तर जनसंख्याको हिसाबले हेर्ने हो भने सानो छ । २७ गाविस रहेको हुम्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । उत्तरी र दक्षिणी भागमा बाँडिएको हुम्लाको उत्तरी भाग चीनको स्वशासित क्षेत्र तिब्बत सँग जोडिएको छ ।

तिब्बतसँग जोडिएको गाविसमध्ये एक हो- लिमी । तीन गाउँ मिलेर बनेको लिमीलाई हिमाल पारिको गाविस समेत भनेर चिन्ने गरिन्छ । शतप्रतिशत नै लामा र तामाङको बस्ती रहेको लिमीको तीन गाउँमा यो पार्टी र त्यो पार्टी भन्ने कतै राजनीति घुसेको देखिँदैन । न कसैको घरमा कांग्रेसको झण्डा गाडिएको छ, न त एमाले, माओवादी लगायत अन्य पार्टीको नै । सबै गाउँले गाविस अध्यक्ष र गाउँलेले बहुमतमा जुन पार्टीलाई भोट दिन भन्छ त्यही पार्टीलाई भोट दिन्छन् ।

गाउँलेहरुका अनुसार यहाँ राजनीतिक पार्टीका कार्यकर्ता कोही पनि छैनन् । यसरी राजनीतिक पार्टीमा लागेपछि गाउँ खण्डिकरण हुन्छ भन्ने कुरा गाउँलेले राम्री बुझेका छन् । तामाङ भन्छन्, ‘हामीलाई कुनै पार्टीको झण्डा बोक्नु छैन । चुनावको बेला सबै गाउँले एकै पार्टीको हुन्छौं । हामीले उम्मेद्वार हेरेर भोट हाल्छौं ।’

उनका अनुसार भोट माग्न लिमी पुग्ने नेतालाई उनीहरु भोट दिन्छन् र । तर ती नेता कत्तिको राम्रो नराम्रो भन्नेबारे भने गाविस अध्यक्ष अपडेट भइराखेका हुन्छन् । गाविस अध्यक्षले यो नेता राम्रो छ यसलाई दिउँ भने भने गाउँलेले उनै नेतालाई भोट दिन्छन् । कोजुक भन्छन्, ‘यहाँ नै आएर जसले भोट माग्छ हामी त्यसैलाई दिन्छौं । नमाग्नेलाई दिन्नौं । ४/५ जना आएभने सबैलाई बराबरी गरेर भोट हाल्छौं ।’

हुन पनि लिमी गाविसमा गएर गाउँलेलाई सोध्ने हो भने आफूहरु कुनै पार्टीको नभएको बताउँछन् । पार्टी भन्दा पनि आफ्नो गाउँलाई विकास चाहिएको उनीहरुको भनाइ छ ।

गाउँमा कोहीले म यो पार्टीको हो भनेर कसैले भन्यो भने उ गाउँको नै एक्लै हुने कोजुक बताउँछन् । उनले भने, ‘गाविस अध्यक्ष र गाउँलेहरु मिलेर चुनावमा भोट हाल्ने निर्णय हुन्छ । यस्तो बेला कसैले म यो पार्टीलाई दिन्छु, उ पार्टीलाई दिन्न भनेर भन्यो भने गाउँलेबाट एक्लो हुन्छ । सबै काममा एक्लो हुन्छ ।’
– कान्तिपुर

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार