देउवा सरकारले द्वन्द्वमा ज्यान गुमाएका सैनिकका परिवारलाई दियो न्याय, ज्यान गुमाएका सैनिकका परिवारले पनि १० लाख पाउने

दस वर्ष लामो द्वन्द्वमा ज्यान गुमाएका नेपाली सेनाका परिवारले पनि १० लाख राहत पाउने भएका छन् । सरकारले द्वन्द्वमा परेर ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय २०६४ सालमै गरेको भए पनि सेनाका जवान तथा अधिकृतले त्यस्तो रकम पूर्ण रूपमा पाएका थिएनन् । माओवादी पक्षबाट लड्नेका परिवारले पहिले नै सहिद वा अन्य विभिन्न नाममा १० लाख पाइसकेका भए पनि सेनाका परिवारले राज्यकोषबाट ७ लाख ५० हजार मात्र पाएका थिए ।

संविधान जारी भएर स्थानीय निर्वाचन सम्पन्न गरी संघ र प्रदेशसभाको निर्वाचन प्रक्रियासमेत अघि बढिसकेपछि बल्ल सरकारले सेनाका परिवारलाई समान क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको हो । यसको नीतिगत निर्णय भए पनि प्रक्रियागत रूपमा केही असहजता आएको जनाउँदै अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘पुरानो कुरा भएकाले बजेट मिलाउन समस्या देखा परेको छ । शान्तिको विषयमा पहिले नै बजेट गइसकेकाले समस्या आएको हो । हामी मानवीय हिसाबले यो मिलाउन लागिपरेका छौं ।’

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका जवान तथा अधिकृतहरूको परिवारले भने १० लाख नै राहत रकम पाइसकेका छन् । द्वन्द्वमा ज्यान गुमाएका सैनिकका परिवारले भने राज्यकोषबाट तीन पटक गरेर ७ लाख ५० हजार एवं सेनाको कल्याणकारी कोषबाट १ लाख रुपैयाँ मात्र पाएका थिए । अब उनीहरूले थप रकम अर्थात् २ लाख ५० हजार पाउनेछन् । त्यो रकम जिल्ला प्रशासनबाट परिवारको हकवालाले स्वत: पाउने गरी सरकारले व्यवस्था गर्नेछ ।

 

अर्थ मन्त्रालयका सहसचिव तथा बजेट महाशाखा प्रमुख केवल भण्डारीले मानवीय पक्षबाट सेनाका जवान तथा अधिकृतहरूलाई बाँकी रकम उपलब्ध गराउनुपर्ने देखिएको बताए । ‘यो रकम २६ करोडभन्दा माथि हुने हुनाले यसको बजेट व्यवस्थापन कार्य भइरहेको छ,’ भण्डारीले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरीका परिवारले पाइसकेका छन् ।’ सेनाबाट यस्तो रकम लिने अधिकृत तथा जवान गरेर १ हजार ३४ जना छन् जसमा अधिकृत तहका ३७, जमदार/सुवेदार तहका ३६ र अन्य दर्जाका ९ सय ५८ रहेको सेनाका प्रवक्ता नयनराज दाहालले बताए । ओखलढुंगाको आगलागीमा परेका १४ जनाका परिवार पनि अन्तर्गत पर्ने उनले बताए ।
-कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार