प्रशन्न पोखरेल गोरख
लोकतान्त्रिक गठबन्धनबाट गोरखा २ का उम्मेदवार तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले ‘भोट बाबुरामलाई नै हो भन्दै हसिँया हथौडामा भोट हाल्न भनेको सुनिएको’ बताएका छन्।
चुनावी घरदैलो अभियानका क्रममा बिहीबार गोरखाको सुलिकोट गाउँपालिका सौरपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘भोट चाहीँ बाबुरामलाई हाल्ने हो, हसिँया हथौडामा हाल्नुहोला भन्ने गरेको पनि सुनियो। त्यो होइन, म अहिले आँखा चिन्हमा उठेको छु, जुन दुरदृष्टिको प्रतीक हो।’
प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै भट्टराईले भने, ‘केही मान्छेहरु भन्ने गर्छन रे, एक्लो बाबुरामले के गर्छ? चन्द्रमा एक्लैले अन्धकार हटाउँछ, तारा लाखौं भएपनि केही हुँदैन।’
भट्टराईले नयाँ शक्ति, कांग्रेस र माओवादीका कार्यकर्तासमेत आफ्नो समर्थनमा रहेको बताए। उनले आफुलाई जसरी पनि हराउन केही हर्कत भइरहेको दावी गर्दै भने, ‘केही साथीहरु झोलामा पेस्तोल बोकेर हिंडेका छन् भन्ने आएको छ, तर म डराउनेवाला छैन।’
धम्क्याएर होइन भोटले चुनाव जित्ने हो भन्दै उनले सबै दल मिलेर आर्थिक विकास र सम्वृद्धितर्फ लाग्नुपर्नेमा बताए।
‘बाबुरामले कहिल्यै झुठो बोल्दैन, भ्रष्टाचार गर्दैन’, भट्टराईले भने, ‘दुई बर्ष भइसक्दा पनि भूकम्पले ढलेका घर बनेका छैनन्, स्कूल बनेको छैन। राज्यले एकमुष्ट अनुदान कम्तिमा पाँच लाखका दरले दिनुपर्छ भनेर मैले सुरुमै भनेको थिएँ।’
सौरपानीको भूगोल ठूलो भएपनि एउटा मात्रै वडा रहेको भन्दै भट्टराईले गाउँपालिकाको केन्द्र पनि सार्न सकिने बताएका छन्। सौरपानीबासीले सुलिकोट गाउँपालिकाको केन्द्र सौरपानी हुनुपर्ने माग गर्दै आएको भएपनि ताकुकोटमै केन्द्र राख्ने बहुमतद्वारा निर्णय गरी सिफारिस भइसकेको छ।
भट्टराईले भने, ‘केन्द्र कहाँ हुनुपर्छ भन्ने कुरा तपाईंहरुको सुझावअनुसार जुनसुकै बेला फेर्न सकिन्छ।’
चुनावी सभालाई कांग्रेसका गोरखा २ प्रदेशसभा (ख) का उम्मेदवार प्रकाशचन्द्र दवाडीलगायतले सम्बोधन गरेका थिए।
प्रकाशित २३ कार्तिक २०७४, बिहिबार | 2017-11-09 21:58:42
author photo
प्रशन्न पोखरेल
















