काठमाडौंका ’ उम्मेदवार : राजधानीका ‘टुरिष्ट’ अनुहार यी हुन् हेर्नुहोस

काठमाडौं । २०६४ सालमा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा दुई ‘टुरिष्ट’ उम्मेदवारको निकै चर्चा थियो । नेकपा एमालेका तत्कालिन महासचिव माधव कुमार नेपाल र तत्कालिन नेकपा माओवादीका झक्कु सुवदी दुवै बाहिरबाट काठमाडौंमा चुनाव लड्न आएका थिए । रौतहटका माधव नेपाल र रोल्पाका झक्कु प्रसाद सुवेदीको चुनावी भिडन्त भयो । ‘हेविवेट’ नेता नेपाल माओवादीका सामान्य नेता सुवेदीसँग पराजित भए । काठमाडौंमा मात्रै होइन विश्वभरको राजनीतिमा तरंग आयो । सुवेदी एकाएक चर्चित बने ।

तर, काठमाडौं क्षेत्र नम्बर २ मा निर्वाचित भएका सुवेदी ‘एडजस्ट’ हुन सकेनन् । दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी पराजित बन्यो । पुन माधव नेपाल नै निर्वाचित भए ।

यसपटक झक्कु सुवेदी काठमाडौं क्षेत्र नम्बर २ बाट होइन काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्दैछन् । उनीमात्रै होइन काठमाडौंमा दर्जनौँ टुरिस्ट उम्मेदवार खडा भएका छन् । ती मध्ये प्रमुख र जनाआधार भएका पार्टीहरुको टुरिस्ट अनुहार यस्तो छ ।

काठमाडौं क्षेत्र नम्बर एक : गणेशमानका पुत्र स्थायी बासिन्दा, ‘जनार्दनका भाइ टुरिष्ट’ !

रुकुमका अनिल शर्मा विनाविभागिय मन्त्री जनार्दन शर्माका भाइ हुन् । उनै शर्मालाई माओवादी केन्द्र र नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवार बनाएको छ । शर्मा त्यस्ता भाग्यमानि व्यक्ति हुन् जसले विद्यार्थी संगठनका पुराना र ‘हविवेट’ नेताहरुलाई पछि पार्दै काठमाडौं १ को टिकट हात पार्न सफल भए ।

काठमाडौं क्षेत्र नम्बर १ मा उनलाई त्यति सहज भने छैन किन भने उनले पटक–पटक सोही क्षेत्रबाट निर्वाचित भएका प्रकाशमान सिंहसँग भिडन्त गर्नुछ । क्षेत्र नम्बर १० का चिया पसलहरुमा सिंहसँग उनको भिडन्तलाई ‘सिंह र श्याल’को खेलको संज्ञा दिन्छन् । काठमाडौंको ठमेल घर भएका प्रकाशमान सिंह नेपाली कांग्रेसका पुराना नेता गणेशमान सिंहका पुत्र हुन् । बाबुको राजनीतिक उचाइले पनि उनलाई आशिर्वाद मिलिरहेको छ । उनी स्वयंम नेपाली कांग्रेसको पूर्व महामन्त्री समेत हुन् । यता रुकुमका शर्मालाई भने काठमाडौंमा त्यति सहज छैन । कुलिन वर्गको बहुमत रहेको काठमाडौंमा उनले ‘टुरिष्ट’ उम्मेदवारको अरोप खेप्नु पर्नेछ ।

तर, सिंहलाई चुनौति दिनका लागि अर्का पात्र भने उदाइरहेका छन् –बीबीसीको जागीर छाडेर राजनीतिमा आएका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र । उनलाई काठमाडौंका ठूला मिडियाको आशिर्वाद छ । उनले निर्वाचनका क्रममा प्रचारको नयाँ शैली समेत अपनाएका छन् । उनको प्रचारशैलीबाट कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह समेत तरंगित बनेको बताइन्छ ।
यता सिंहलाई आफ्नै पार्टी भित्रबाट समेत ‘घाँडो’ बनिदिएका छन् पुराना नेता हरिबोल भट्राई । भट्टराईले कांग्रेस विपीको नामबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले समेत सेन्टिमेन्टको भोट पाउने बताइन्छ ।

माधव नेपाल स्वयंम ‘टुरिष्ट’ !

काठमाडौं क्षेत्र नम्बर २ मा वामगबठन्धनबाट उम्मेदवार बनेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रौतहटका स्थायी बासिन्दा हुन् । उनी यसअघि पनि काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका थिए । नेपालले समेत ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेप्नु परिरहेको छ । वाम गठबन्धनबाट बलियो उम्मेदवर बनेका उनीसँग नेपाली कांग्रेसका दीपक प्रकाश कुँइकेलले प्रतिस्पर्धा गर्दैछन् । यसअघि पनि पटकपटक पराजित भएका कुँइकेल यसपटक पनि सुरक्षित भने छैनन् ।

त्यस्तै भरतपुर महानगरपालिका चितवन स्थायी निवासी विकासविद् सुर्यराज आचार्य पनि चुनावी प्रतिष्पर्धामा आएका छन् । विवेकशिल साझा पार्टीको आधार क्षेत्र मानिएको क्षेत्र नम्बर २ मा गत स्थानिय निकायको निर्वाचनका क्रममा राम्रो मत आएको थियो । यद्धपी आचार्य भने टुरिष्ट उम्मेदवार हुन् ।

गगन थापालाई स्थानीयकै टक्कर !

काठमाडौं यसकारण चर्चित छ की यहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापा उम्मेदवार बनेका छन् । २०७० को संविाधान सभाको निर्वाचनका क्रममा तत्कालिन एमाओवादी नेता तथा उपराष्ट्रपति नन्दबाहादुर पुनलाई पराजित गरेका थापा ‘वाककला’का धनि मानिन्छन् । उनै थापासँग एमाले माओवादी गठबन्धनबाट एमाले केन्द्रीय सदस्य राजन भट्टराईले उम्मेदवारी दिएका छन् । काठमाडौंकै चावेल निवासी हुन् । यता विवेकशिल साझा पार्टीले भने इलामकी सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रमुख प्रतिस्पर्धी दल मध्ये सुबुना यहाँकी टुरिस्ट उम्मेदवार बनेकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा ‘हेभिवेट’ प्रतिष्पर्धा हुने भएको छ । एमाले माओवादी गठबन्धनबाट उम्मेदवार बनेका एमाले महासचिव इश्वर पोखरेलले नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको सामना गर्नुपर्नेछ । ईश्वर पोखरेल ओखलढुङ्गाका स्थायी बासिन्दा हुन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत नुवाकोटका बासिन्दा हुन् । महत यसअघि नुवाकोटबाटै सांसद बनेका थिए । काठमाडौं क्षेत्र नम्बर ५ का लागि यी दुवै ‘टुरिष्ट’ उम्मेदवार हुन् । यद्धपी पोखरेल यही क्षेत्रबाट यसअघि निर्वाचित भएका व्यक्ति हुन् । काठमाडौंकै स्थायी बासिन्दा भने विवेकसाझा पार्टीका संयोजक उज्वल थापा हुन् । तर, उनको पक्षमा जनमत भने छैन । यद्धपी थोरै लोकप्रीय भोट आउने संभावना भने नकार्न सकिँदैन ।

झक्कुसँग भिमसेनदासको पल्लाभारी

नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार भिमसेनदास प्रधान निकै लोकप्रीय नेता हुन् । उनले यसअघि पटकपटक विजय हासिल समेत गरिसकेका छन् । उनलाई टक्कर दिनका लागि रोल्पाका झक्कु प्रसाद सुवेदी आएका छन् । वामपन्थी गठबन्धनबाट उम्मेदवार बनेका सुवेदी यतिबेला जनताको घर दैलोमा छन् । गठबन्धनकै भोटबाट आफू निर्वाचित हुने उनको विश्वास छ । तर, आफू पुरानो स्थायी बासिन्दा भएका कारण यहाँका स्थानीयले आफूलाई विजय गराउने कांग्रेस नेता प्रधानको दाबी छ ।

राजनसँग हितमानको भिडन्त !

काठमाडौं क्षेत्र नम्बर १० मा टुरिष्ट उम्मेदवार बनेर आएका छन्– नेकपा माओवादी केन्द्रका हितमान शाक्य । वाम गठबन्धनबाट उम्मेदवार बनेका शाक्य बाग्लुङमा जन्मिएका हुन् । तर, उनी ३८ सालदेखि नै काठमाडौंको कृतिपुरमा बस्दै आएका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजन बहादुर केसीले उनलाई ‘बाहिरबाट आएको मान्छे’ भन्दै भाषण नै गरेर गाली गरेका थिए । हाल खेलकुद मन्त्री रहेका केसी किर्तिपुरका स्थायी बासिन्दा हुन् । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनले तत्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं क्षेत्र नम्बर १० बाट पराजित गर्दै सांसद निर्वाचित भएका थिए ।

नयाँ अनुहार किन आउँछन् ?

हाम्रा दलका नेताहरुमा प्रतिबद्धता अनुरुप काम नगर्ने प्रचलन छ । यस्तो अवस्थामा पार्टी वा प्रतिनिधीलाई जनताले निर्वाचनमा नै हो सवक सिकाउने । जनताले सिकाउने यही अभ्याससँग ‘टरिष्ट’ उम्मेदवार हुनुको कारण जोडिएके छ । कतिपय राजनीतिक विश्लेषण यसलाई लोकतन्त्रको सिद्धान्त विपरित रहेको बताउँछन् ।

यस्तो प्रवृतिले विकास निर्माणको बाटो रोकिने मात्रै नभइ इमानदार कार्यकर्तामाथि अन्याय हुने समेत विश्लेषकहरुको तर्क छ । Diyopost

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार