उहिलेको काठमाडौँ खुइलेर गए , जमानाको काठमाडौँ सहर.. घुम्न लाग्थ्यो रहर

चीजकुमार श्रेष्ठ

१० दिन हिँडेर काठमाडौँ आइपुगियो। काठमाडौँमा देखेको पहिलो अनौठो कुरा दुईटा नांग्लो जोडेर गुड्ने चीज थियो, जसले मलाई तर्साइदियो।

पढ्न भनेर २०१२ सालमा पहिलोचोटि काठमाडौँ आउँदा पनि घरमा मनाउन सार्ह्रै गार्ह्रो थियो। मसँगै पढ्ने काइला काका विष्णुकुमार श्रेष्ठले अब पढ्दिनँ भनेपछि घरमा मलाई मात्रै एक्लै पढ्न नपठाउने कुरा भयो। अनि मैले काकालाई फकाउन थालेँ।

काकाले भन्नुभयो, ‘त्यहाँ गएपछि आफैँ भात पकाउनपर्छ, भाँडा माझ्नुपर्छ, लुगा धुनुपर्छ, त्यहाँ त्यस्तो आनन्द छ, म त पसलमा काम गर्छु, पढ्न जान्नँ।’

मैले भनेँ, ‘बरु भाँडा माझ्ने, भाडा माझ्ने र लुगा धुने काम मै गर्छु।’

सार्ह्रै कर गरेपछि तयार हुनुभयो। अनि बल्ल हामी काठमाडौँ आयौँ।

त्यो बेला काठमाडौँ आउँदा हिँडेरै आउनुपर्थ्यो। हामी १० दशौँ दिनमा आइपुगेका थियौँ। यता भर्ना हुने समय घर्किसकेको थियो। र पनि चोकको मामा, काका र १२ जना भरियाहरु भएर हामी यहाँ आयौँ।

२०१२ सालको चैत महिनामा चामलसामल ओढ्नेओछ्याउने गुन्टासुन्टा बोकेर आयौँ। बाटोमा तीनवटा ठूलठूला उकाला पर्थे। ती उकालोमा भरियाहरुले हामीलाई बोके। पहिलो दिन सतीघाट तरेर गाईखुरबेसी भन्ने ठाउँमा बस्यौँ। अर्को दिन गोरखाकै चोरकोट भन्ने ठाउँमा बास बस्यौँ। त्यहाँ उहिले जमानामा चोर काटेको रैछ नामै चोरकाटे रह्यो।

त्यस बखत नोटको त्यति चलन थिएन। सिक्का मात्रै चल्थ्यो। हाम्रा हरेक भरियाले एक-एक हजारमा सिक्का बोकेका थिए हामी कहाँ कहाँ बास बस्यौँ, अहिले याद छैन। कसैको घरको पिढीमा बास पाइएको थियो। यसरी बास बस्दा दाउराको अलिअलि पैसा दिइन्थ्यो। खानेकुरा आफैँले बोकेर लगिएको हुन्थ्यो। आँगनको छेउछाउमा अगेनु बनायो, पकायो खायो। आरुघाटबाट नुवाकोटको त्रिशूली, त्यसपछि बास बस्दैबस्दै जीतपुरफेदी। त्यहाँबाट झरेर बालाजु निस्केर आएका हौँ।

मैले पहिलोचोटि साइकल देखेको त्यही बेला हो। मलाई साइकलबारे केही थाहाँ थिएन्। कतै पढेको सुनेको, फोटो देखेको थिइनँ। कस्तो हुन्छ भन्ने थाहा पनि थिएन। हामी बालाजुभन्दा अलिकति माथि आइपुगेका थियौँ। मामाले साइकल यस्तो हुन्छ, घन्टी यस्ती हुन्छ, घन्टी बजाउँदा तर्सनुहुन्न, पाखे भन्छ भनेर सम्झाउनुभएको त थियो।

बालाजु आइपुग्ने बेलामा घन्टी बजेको सुनियो। यसो पछाडि हेरेको त दुईटा नाग्लो जोडेको जस्तो चिज गुँडल्किएर मैतिर आइरहेको थियो। अब यो मैमाथि खनिन्छजस्तो लाग्यो। म त अबुइ भनेर उफ्रिएँछु। पछि मामाले गाली गर्नुभयो। पाखे जसरी उफ्रने भन्नुभयो। त्यस बेला मोटरहरु एकदमै कम मात्रै देखिन्थे। दिनमा २/४ वटासम्म देखिन्थ्यो।

राणाजीको हुकुमले आई.ए. पास

काठमाडौँ आइपुग्नुको पनि एउटा प्रसङ्ग छ।

काठमाडौँका बोधविक्रम अधिकारी नेपालीमा एम.ए. गर्ने नेपालका पहिलो व्यक्ति थिए। उनले लेखेको नेपाली दन्तकथा भन्ने किताब हामीले कोर्समा पढेका पनि हौँ।

२००४/५ सालमा प्रधानमन्त्री भएपछि पद्म शमशेरले शिक्षा आवस्यक छ भनेर राष्ट्रव्यापी आधार शिक्षा भन्ने अभियान सुरु गरे। यसमा नौ, दश कक्षा पढेका वा एस.एल.सी. पास गरेका विधार्थीले गाउँमा गएर कमसेकम दुई वर्ष पढाउनुपर्ने व्यवस्था थियो।

बोधविक्रमका दुईजना छोराहरु पढेलेखेका, एस.एल.सी. पास गरिसकेका थिए। गुणविक्रम अधिकारी र कलयाणविक्रम अधिकारी। कल्याणविक्रम गभर्नर र मुख्यसचिव पनि भए गुणविक्रमचाहिँ पहिले शिक्षण व्यवसायमा र पछि सरकारी जागिरमा लागे।

दरबारका गुरु भएकाले बोधविक्रमका छोराहरुलाई पनि गाउँमा पठाउनुपर्यो भन्ने कुरा भएछ।

बूढा घरमा आएर भनेछन्, ‘यस्तो यस्तो उर्दी छ यिनीहरु दुवैजनालाई गाउँमा पठाउनुपर्ने भयो।’

गुणविक्रम, कल्याणविक्रम दुवैजना रुँदै भन्न थालेछन्, ‘हामी जान्नौँ।’

बुढाले भनेछन्, ‘रोएर यहाँ चल्दैन, सरकारको हुकुम हो, मैले भन्यो भने त मेरो जागिर पनि जान्छ, तिमीहरु नै गएर बिन्ती गर।’

उनीहरुलाई दरबार लगिदिएछन्।

उनीहरुले भनेछन्, ‘सरकार हामी त पढ्छौँ, हामी गाउँ जान्नौँ।’

पछि पढौँला, अहिले दुई वर्ष जाऊ भनेछन्। उनीहरु रोइकराई गरेछन् के के भनेछन्, त्यसपछि उनको मन पग्लिएछ क्यारे, दुईमध्य एकजना यहीँ बसेर पढ, एकजना त जानैपर्छ भनेछन्।

त्यसपछि दाई गुणविक्रम गाउँ जाने, भाइ कल्याणले पढ्ने सल्लाह भएछ। तर, गुणविक्रमले मानेनछन्।

‘म दुई वर्षपछि आउदा त भाइले आई.ए. गरिसकेछ।’ भनेछन् र रुन थालेछन्।

बोधविक्रमले भनेछन्, ‘जा तैँले नै विन्ती गर।’

गुणविक्रम फेरि दरबारमा गएर रुन थालेछन्, ‘मैले पनि पढ्न पाऊँ सरकार, दुई वर्षपछि आउँदा भाइले आई. ए. पास गरिसकेछ।’

सो सनेर पदम शमशेरले सोधेछन्, ‘के तलाईँ आई. ए. हुन मन लाग्यो? ’

उनले भनेछन्, ‘हो सरकार।’

त्यस बेला शिक्षा समिति भन्ने हुन्थ्यो। त्यसको डाइरेक्टर जनरल मृगेन्द्र शमशेर थिए। पदम शम्शेरले मृगेन्द्र शमशेरलाई तुरुन्तै दरबारमा बोलाएछन् र भनेछन्, ‘ल यसलाई आई. ए. हुन् मन लाग्यो रे, यसलाई सर्टिफिकेट दे।’

मृगेन्द्रले तत्कालै गुणविक्रमलाई आई. ए. पासको सर्टिफिकेट दिएछन्।

‘दुई वर्षपछि आउँदा तेरो भाइ भर्खरै आई. ए. हुन्छ तँ अहिले नै भइस् ल जा’, उनले गुणविक्रमलाई भनेर पठाइदिएछन्।

यसरी गुणविक्रम गाउँ जान तयार भए।

जान त जाने तर कहाँ जाने? भन्ने प्रश्न आयो। अनि गुणविक्रमले आफ्नो पुखर्यौली घर तनहुँको बयापानी सम्झिएछन्। पछि बन्दीपुर सदरमुकाम पनि भएको स्कुल पनि राम्रै बजार पनि भएको भनेर बन्दीपुर नै सजिलो हुन्छ भनेर छानेछन्।

बन्दीपुर आइपुगेपछि बस्ने घर खोज्दै गुणविक्रम कसरीकसरी हाम्रै घर खोज्दै आइपुगेछन्। हाम्रै घरमा बसेछन्। मेरा काकासँग मित पनि लगाएछन्। यसरी उनी मेरा पनि मित काका बने।

मित काकाको त्यही नाताले काठमाडौँ आउँदा हामी गुणविक्रम अधिकारीको घर पकनाजोल पुग्यौँ। उनकै घरमा बस्यौँ।

मित काकाले घर पकनाजोल मुख्य सडकबाट भित्रपट्टि थियो। ठूलो कम्पाउन्ड थियो। त्यहाँ ३/४ दिन बस्यौँ। त्यहीँ नजिकै उनले डेरा खोजिदिएपछि महिनाको १२ रुपैयाँ भाडा तिर्नेगरी सरियो। एउटा कोठा एउटा सानो भान्सा। तल छिँडिमा एउटा साझा चर्पी थियो।

त्यतातिर जाँदाखेरी अहिले पनि म हेर्छु – त्यो घर अहिले पनि छ। अलिअलि रङचाहिँ लगाएको छ। अलि पछि हामी अर्को घरमा सरेका थियौँ।

त्यस बेला काठमाडौँमा दुइटा स्कुल सबभन्दा राम्रा मानिन्थ्यो – जुद्धोदय र पद्मोदय। हामी बसेको ठाउँबाट क्षेत्रपाटी जुद्धोदय नजिक थियो। त्यहीँ भर्ना हुन गयौँ। हामी ढिलो पुग्यौँ। कक्षा फागुनमा सुरु हुन्थ्यो। हामी त चैतको अन्तयतिर गएका थियौँ। दुई महिना ढिला भयो।

कहाँबाट आएको हो? भनेर सोधे। गाउँको स्कुलमा भनेपछि हुँदैन भे। ज्यान गए लिएनन्। हामी त यहीँ पढ्न भनेर बन्दीपुरदेखि आएको सर भन्यौ। अनेक गर्यौँ। मान्दै मानेनन्।

जति जोड गरेपनि लिन नमानेपछि आखिरमा लैनचौरमा योगनाथ प्याकुर्यालको हाइस्कुल शान्ति विधागृहमा पुग्यौँ। यो स्कुलको त्यति नाम चलिसकेको थिएन। हामी त्यहीँ भर्ना भयौँ।

सुरुका दिनमा केही दिन त सार्ह्रै न्यास्रो लाग्यो। घर जाऊँजाऊँ जस्तो लाग्यो। बन्दिपुरमै रमाइलो थियो जस्तो लाग्यो। यहाँ त भात पनि आफैँ पकाउनुपर्ने लुगा पनि आफैँ धुनुपर्ने। साथीभाइ पनि कोही थिएनन्। बिस्तारै बानी पर्न थाल्यो। केही स्थानीय साथीहरु पनि बने। एक दुई महिनामा घरबाट नआत्तिइकन पढ्नु भन्ने व्यहोराका चिठी आउँथे।

त्यति खेर स्कुलको युनिफर्म थिएन। सुरुमा बन्दीपुरबाट आउँदा मैले कमिज र पाइजामा लगाएको थिएँ। काठमाडौँ आएपछि मात्रै पाइन्ट सिलाएर लगाइयो। सुतीको कमिज पाइन्ट। काठमाडौँ आउँदा बन्दीपुरमै किनेको कपडाको जुत्ता लगाएको थिएँ। त्यस बखत फ्लेक्स जुत्ता खुबै चल्थ्यो। त्यस बेलामा यहाँ पाइने सबभन्दा राम्रो त्यही जुत्ता थियो। मैले बरु त्यो जुत्ता लगाउन धेरै समय कुर्नुपर्यो। कपडाको जुत्ता ३/४ रुपैयाँमा आउँथ्यो। फ्लेक्सलाई १२/१५ रुपैयाँ पर्थ्यो। केही समयसम्म पैसा जोगाएपछि बल्ल किन्न सकेको थिएँ।

सुरुमा म र काइँला काका विष्णुकुमार श्रेष्ठ काठमाडौँ आयौँ। आउनासाथ डेरा लिएपछि दरी, खाट किन्यौँ। आएको महिनामा सबै समान किन्दा र एक जोर नयाँ लुगा सिउँदा सबै गरेर १२० रुपैयाँ जति खर्च भएको थियो।

यही पैसा पनि धेरै थियो। घरबाट भने यसरी पैसा खर्च गर्यो भने त तिमीहरुलाई हामीले पैसा पठाउँदैनौँ।

त्यसपछि खर्च कम गर्न थालियो। खाना आफैँले पकाइन्थ्यो। भाँडा माझ्नलाई एकजना टोलकै दिदी थिइन्। हामी स्कुल जान्थ्यौं, बाहिरपट्टि सानो भान्सा थियो, त्यसको साँचो त्यहीँ हुन्थ्यो। उनी आउँथिन्, ढोका खोल्थिन्, भाँडा माझ्थिन्।

लुगा धुनलाई हामी बालाजु जान्थ्यौँ। हप्तामा एकचोटि बालाजु जाने नुहाउने लुगा धुने गथ्यौँ। प्रशस्त पानी। जाडोमा घाम पनि ताप्न औधी मजा हुने। बालाजु जाने दिन खुब रमाइलो लाग्थ्यो। त्यहाँ धेरै त विधार्थीहरु हुन्थे।

त्यति बेला काठमाडौँमा ४/५ फिल्म हल थिए। न्युरोडमा अहिले विशालबजार भएको ठाउँमा जनसेवा सिनेमा हल थियो। जयनेपाल, रञ्जना, पाटनमा अशोक र भक्तपुरमा पनि एउटा थियो। म फिल्म हेर्न खास्सै जान्नथेँ। एक त पैसा पनि हुँदैनथ्यो अर्को पढ्नुपर्छ फिल्म हेर्यो भने बिग्रन्छ भन्ने पनि थियो।

मसँगै एस.एल.सी. दिने मेरा स्कुलका साथीहरु धेरैजसो इन्जिनियर बनेका छन्। रमाकान्त, प्रफुल्ल, पद्मलाल, सुधीर, बरुण आदि। सरकारी सेवामा छिरेका वरुण श्रेष्ठ सचिव भएर रिटायर्ड भए। एकजना पुर्वतिरका थिए हरिबहादुर बस्नेत। उनी पञ्चायतकालका धेरै वर्ष मन्त्री भए। हामी पढ्दा जेपीमा केटा विधार्थी थिएनन्।

कलेजमा दुईजना निकै टाठा र राम्रा केटी थिए। सबैले यसो आँखा लगाउने। उनीहरुसँग त मेरो पछि अमेरिकामा पनि भेट भएको थियो। एकजनाको अमेरिकीसँगै विवाह भएको थियो।

काठमाडौँ आएर पढ्न थालेपछि काठमाडौँ धेरै कुराले मन पर्यो। तर, बन्दीपुर अथवा ठूल्ढुङ्गामा बाआमा थिए, मिस पनि भयो। दश कक्षामा तीनवटा सेक्सन थिए। मजस्तै कम हाइटवाला एउटा सेक्सनमा। हाइट बढीवाला अर्को सेक्सन। त्यो हुँदा मजा पनि हुन्थ्यो। साथीहरु सबै मिलनसार थिए।

(श्रेष्ठको पुस्तक घुमीफिरी बन्दीपुरबाट)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार