राम ढुङ्गाना ‘अल्पमत’
म सन् २००८ देखि वैदेशिक रोजगार अन्तर्गत इजरायलमा कार्यरत छु।इजरायल आए देखि नै इजरायलमा आयोजना हुने प्राय: कार्यक्रमहरु र अन्य गतिविधिहरुमा समयले भ्याए सम्म जाने गर्छु।
चाडपर्व लगायत अन्य विभिन्न समयहरुमा इजरायलमा नेपालबाट चर्चित कलाकारहरु ल्याएर विभिन्न मनोरन्जनात्मक र सांस्कृतिक कार्यक्रमहरु गरिरहिन्छ र इजरायलमा खुलेका विभिन्न राजनीतिक दलका भातृ संगठनका कार्यक्रमको लागि पनि थुप्रै नेताहरु आईसक्नु भएको छ।
सबैको आ आफ्नैं रहर र इच्छा हुने गर्छन्: सँगै कार्यक्रम हेर्न गएका केहि साथीहरु नेपालबाट आएका कलाकारहरु,नेताहरुसँग गफगाफ गर्ने फोटो खिचाउने गर्नुहुन्छ, तर मैले अहिलेसम्म एउटा कुनै पनि कलाकार या नेतासँग फोटो खिचेको छैन र रहर पनि छैन। यसो भनेर मैले कलाकारिताको कदर नगर्ने,रउहाँहरुलाई आदर नगर्ने भन्न खोजेको होइन। कलाकार,नेताहरुसँग फोटो खिचाउनेहरुलाई नराम्रो भन्न खोजेको पनि होइन,म सबैको भावना र स्वतन्त्रताको कदर गर्छु र सबै कलाकारहरुलाई उत्तिकै सम्मान-आदर गर्छु।
तर मेरो नजरमा ती मात्रै सेलिब्रिटी हुन्,जसले देश र समाजको लागि केहि योगदान दिएका छन्।केहि परोपकारी काम गरेका छन्।आफ्नो कमाईबाट केहि रकम परोपकारमा लगाउने सामान्य हैसियतको व्यक्ति मेरो नजरमा सेलिब्रेटी हुन्। गाउँघरमा गार्हो साह्रो पर्दा अरुलाई नि:स्वार्थ सहयोग मद्धत गर्नेहरु मेरा सेलिब्रेटी हुन्।मलाई तिनीहरु सँग फोटो खिच्न,नजिकिन मनपर्छ।
धुर्मुश सुन्तली मैले मनै देखि आदर र सम्मान गर्ने सेलिब्रिटी हुन्। उनीहरुको कलाकारिता उत्कृष्ट छदैँछ त्यो भन्दा पनि उनीहरुले जुन काम गरे त्यसलाई सलाम भनिरहन मन लाग्छ मलाई।
जब देखि म भित्र चेतना पलाउन थाल्यो समाजका पछ्यौटेपन देखेर मलाई चिन्तित बनाउँथ्यो।दिनभरी गोरु जोतिए झैँ जोतिएर पनि दुई छाक खान लाउन नपुग्ने मानिसहरु देख्दा मन अमिलो र आँखा धमिलो हुन्थ्यो। म आफैँ पनि निम्न मध्यम वर्गीय परिवारमा हुर्कको हूँ।मैले त्यत्रो धेरै दु:ख नभोगे पनि विभिन्न अभावबाट गुज्रेको छु।म हुर्केको समाजमा गरिबीमा बाँच्नेहरुको पिडा नजिकबाट देखेको छु।
काठमाण्डौंको मुटु न्युरोड,सुन्धारा आसपासमा बच्चा काखमा बोकेर बाटोमा माग्न बसेका आमाहरु देख्दा मुटु पोल्थ्यो,वृद्धवृद्धाले बाटोमा हात थापेको देख्दा म उनीहरुमा मेरा आमा बाको रुप देख्थेँ। बालश्रम गरिरहेका स-साना केटा केटी देख्दा म मेरो दुई छोराछोरीलाई सम्झिन्थेँ।गोजीमा केहि पैसा भए उनीहरुको हातमा राख्दियो नभए यि सब पिडाहरु देखेर पनि चुपचाप हिड्नुको विकल्प थिएन।
म सोच्थेँ: देशमा सबै चिज भएर पनि हाम्रो देश किन यो हालतमा छ ? बाटोमा माग्न बसेका बूढा बा-आमा,दुधे बालक काखमा च्यापेर माग्न बसेकी निरिह आमा र एक छाक खाना जुटाउनको लागि हड्डी पनि राम्रोसँग नजोडिएका कलिला बालकहरुलाई नर्क समान जिन्दगी जीउन बाध्य बनाउन कतै हामी त ज़िम्मेवार छैनौँ? यदा कदा राजनीति सम्हालेका नेताहरुलाई पनि गाली गर्न मन लाग्थ्यो।
सारा नेपालीहरुलाई दु:खको कुण्डबाट पार लगाउने कोहि असल व्यक्ति किन नेपाली राजनितीमा उदाउँदैन ? हामीले सधैँ यस्तैँ अभाव,तनाव,अस्तव्यस्तताको जीवन बाँच्नुपर्ने हो त ? यस्तै कुराहरुले मन अशान्त भईरहन्थ्यो।
सन् २०१३ मा एकजना साथीले परोपकारी काम गरिरहेको संस्था हेल्प नेपाल नेटवर्कको संस्थापक वि.वि.सी. नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रलाई इजरायलमा ल्याएर कार्यक्रम गर्दै सहयोगको रकम जुटाउने कुरा छ त्यसको लागि बन्ने कार्य समितिमा तपाई पनि बस्नुस् भनेर आग्रह गर्नुभयो।
हेल्प नेपाल नेटवर्कको कुरा पहिला पनि सुनेको र रवीन्द्र मिश्रको परोपकारी कामले म प्रभावित पनि भएको हुँदा मैले तुरुन्तै सहमति जनाएँ।मैले श्रद्धा गर्ने मान्छेको सूचीको अग्र पङ्तिमा भएका सेलिब्रिटी पत्रकार आफ्नै आँखा अगाडि आउने भन्दा म साँच्चै ख़ुशी थिएँ।कार्य समितिका प्रत्येक सदस्यले नेपाली दश हजार भन्दा कम नहुने तर माथि जति पनि दान गर्ने नियम बनाएका थियौँ हामीले।
हामी सबैले इजरायलमा भएका नेपालीहरुलाई हेल्प नेपाल नेटवर्कको स्थापनाको उद्धेश्य र यसले गरिरहेको कामको बारेमा बुझाउँदै सकेको सहयोग गर्न अनुरोध गर्यौँ र सन् २०१४ को फेब्रुअरीमा हुने कार्यक्रमको ब्यवस्थापनतिर पनि लाग्यौं ।
संयोगवश: चर्चित पत्रकार रवीन्द्र मिश्रको खाने बस्ने व्यवस्था मिलाउने जिम्मेवारी मैले पाएको थिएँ। सोचेँ: वि.वि.सी. नेपाली सेवाको प्रमुख र लण्डनमा वि.विसी.मा समेत काम गरिसकेका नेपालका ठूला सेलिब्रिटी रवीन्द्रजीलाई अलि स्तरीय र महँगै होटल खोज्नुपर्ला ! साथीहरुलाई दुई चार वटा होटल र त्यसको मूल्य सोधेर बताएँ। साथीहरुले रवीन्द्र मिश्रलाई कुरा गर्दा रवीन्द्रजीले सके सम्म नेपालीहरु बस्ने अपार्टमेन्टमा र नमिल्ने भए एकदमै सस्तो खालको होटल व्यवस्था गर्न आग्रह गर्नुभएछ। फजुल खर्च किन गर्ने ? मैले महँगो होटलमा बसेर तिर्ने पैसाले दुर्गमका केटाकेटीले पढ्ने कापी कलम पाउँछन्। लगाउने चप्पल पाउँछन् र मधेशका केटाकेटीले बस्ने डेस्क बेन्च पाउँछन्। त्यसैले फजूल खर्च नगरौँ भन्नु भएछ।

रवीन्द्रजी इजरायल आइपुग्नु भयो।उहासँग भेट भयो जतिबेला पनि हाँसेर बोल्ने, बर्षौँ देखि चिनजान र घुलमिल भएको साथी जस्तै एकदमै सहज सरल। वि.वि.सी. नेपाली सेवाको प्रमुख भनेको सानो पद होइन,त्यहाँ छिर्न मात्रै धेरैको धोको हुन्छ,उहाँ त त्यहाँको प्रमुख नै भईसक्नु भएको अनि समाजमा उहाँको अलग्गै पहिचान बनाएर स्थापित पनि भइसक्नु भएको मान्छे। त्यहि ठाउँमा अर्को कोहि भएको भए उसको व्यवहार फरक पर्थ्यो होला। तर रवीन्द्रजी भने एकदमै सामान्य र सरल लाग्यो।
भोलिपल्ट म रविन्द्रजी बसेको होटलमा गएँ।केहि बेर भलाकुसारी भयो। मैले उहाँलाई बेलायत र इजरायलमा विकास र प्रविधिमा फरकपन सोधेँ। रवीन्द्रजीले इजरायलले छोटो समयमा धेरै चामत्कारिक प्रगति गरिसकेको बताउनु भयो।हाम्रो देशको गन्जागोल प्रति चिन्ता पनि गर्नुभयो। मैले सोधेँ: तपाईँ किन राजनितीमा नआउनु भएको ? रवीन्द्रजीले भन्नुभयो: म आफ्नो काम इमान्दारीताका साथ गरिरहेको छु। म सधैँ विभिन्न माध्यमबाट राजनितिज्ञहरुलाई झक्झकाइरहेको छु।हेरौँ केहि बर्ष देशले गति लियो भने म आफ्नो पेशामा ठिकै छु। यहाँ बसेर पनि मैले देश र समाजको हितमा काम गरिरहेको छु। परोपकारी काम पनि गरिररेको छु। यदि यस्तै हालत रहिरह्यो भने कोहि न कोहि अगाडि बढ्नै पर्छ।
नेपाल स्वर्ग झैँ बन्ने देश हो।यो देशलाई हाम्रै पालामा परिवर्तन भएको देख्ने ठूलो रहर छ। अनि तपाईँ जस्ता लाखौँ युवाहरुलाई नेपाल फर्किएको र आफ्नै देशमा गरेर खाएको देख्ने इच्छा छ। उहाँले यसो भनिरहँदा मेरो उहाँ प्रतिको श्रद्धा अझ फराकिलो भईरहेको थियो।
हेल्प नेपाल नेटवर्कको लागि हलमा कार्यक्रम गरियो। हामीले दश देखि बीस लाख उठाउने लक्ष्य राखेका थियौँ तर जब रवीन्द्र मिश्रले नेपालको हालत र दुर्गम गाउँको दुरा अवस्था बताउन थाल्नु भयो इजरायलका मनकारी नेपालीहरुले दिल खोलेर सहयोग गरे र पचास लाख रुपैँया भन्दा धेरै रकम उठ्यो।
रवीन्द्रजी फर्किएको केहि महिनामा हेल्प नेपाल नेटवर्कले रातो बंगला स्कूललाई सहयोग दियो रे भनेर कुनै पत्रिकाले छाप्यो। र केहिले ति कुरामा विरोध पनि जनाए। मैले पनि फेसबुकमा आफ्नो असहमति जनाएँ। पछि रवीन्द्र जीले मलाई फेसबुकमै म्यासेज गरेर रातो बंगाला स्कूललाई त्यो पैसा दिएको नभई नेपालका गाउँ गाउँमा करिब ४० वटा पुस्तकालय र ४० वटा कक्षाकोठा बनाएको र त्यो क्रमलाई नेटवर्कले जारी राख्दै चार लाख ९६ हजार रुपैयाँ खर्च गरेर रातो बंगला फाउन्डेसनका तालिमप्राप्त र दक्ष व्यक्ति प्रयोग गरेर काभ्रेका नौवटा सरकारी प्राथमिक विद्यालयमा तालिम दिलाएका हौं भनेर प्रष्ट पार्नु भयो र भन्नुभयो हामी विदेशमा बसेका नेपालीहरुले दु:ख गरेर कमाएर दिएको पैसा र सहयोग रकम कुनै हालतमा दुरुपयोग गर्ने त के सोच्न समेत सक्दैनौ भनेर प्रष्ट पार्नुभयो।
रवीन्द्रजीले भन्नु भयो: राम भाइ म मान्छे हूँ,सधै राम्रो गर्न खोजिरहेको हुन्छु। केहि कमी कमजोरी म भित्र पनि होलान्, म दोष रहीत नहुन पनि सक्छु। तर म भगवान सम्झेर भन्छु: मैले नियतवश: देशको अहितमा केहि काम गरेको छैन।
मलाई पछि आत्मग्लानी पनि भयो एउटा असल नियतमा मैले चाहिने नचाहिने शंका गरेँ। कम्तिमा म सचेत नागरिक भएर सत्य तथ्य बुझेर आलोचना गर्नुपर्थ्यो। तैपनी गल्ती महसूश गरेर पश्चाताप गर्नु पनि राम्रो हो भनेर चित्त बुझाएँ।यदा कदा अहिले पनि निष्ठाका प्रतीक रवीन्द्र मिश्रलाई शंका गरेकोमा म आफैलाई दोषी ठानिरहेको हुन्छु।
आज तिनै रवीन्द्र मिश्र हुँदा खादाको राम्रो र प्रतिष्ठित जागिर छोडेर देश बनाउँने महान् अभियानमा होमिएका छन्। पूरा बिश्वास र खबरदारीका साथ मैले रवीन्द्र मिश्र र उनको नेतृत्वको पार्टी विवेकशील साझालाई दिल खोलेर समर्थन गरेको छु। साथीहरु लाई पनि भनेको छु। यसमा मेरो व्यक्तिगत स्वार्थ,लोभलालच केहि छैन, म जस्तै स्वदेश-विदेशमा बसेर यो पार्टी प्रति आस्था र विश्वास राख्ने लाखौँ नेपालीहरुको पनि कुनै स्वार्थ नहोला,केवल देशको हित बाहेक।
सिर्फ देश बनोस्। यत्रो बर्ष अरु पार्टीलाई हेरियो। विचार गरियो तर देश बनेन।खैँ देशमा गर्व गर्न लायक चिज ? २०४६ सालपछिको परिवर्तन पछि २७-२८ बर्षको अवधिमा अफ्रिका लगायतका अरु थुप्रै जो हाम्रो भन्दा नाजुक अवस्थामा थिए,ति देशहरुले चामत्कारिक प्रगति गरिसके।टाढा जानै पर्दैन हाम्रो भन्दा धेरै ठूलो द्धन्द भोगेको देश श्रीलंका हेरौँ कहाँ छ उसको स्तर र अनि हाम्रो।
त्यसैले गर्छु नै भनेर आएको पार्टी विवेकशील साझालाई किन नहेर्नु ? न त भत्काउने राजनीति गर्छु भनेका छन् न त सशस्त्र क्रान्ति नै ! सबै नेताहरु ईमान्दारका साथै युवा र विज्ञ छन्।
मेरो घर काठमाण्डौं नजिकै भक्तपुरमा पर्छ। मैले मास्क लगाएर काठमाण्डौं जान नपरोस्।स्वच्छ हावा मेरो अधिकार बनोस्,मेरो समाज हितको खवरदारी सरकारले तुरुन्त सम्बोधन गरोस्। देशले सकारात्मक गति लिदैं गर्दा हाम्रा हवाई संजाल विस्तारै फैलिएर थुप्रै देशहरुमा उडान शुरु गर्न थाले पछि लाखौँ पर्यटकहरु नेपाल घुम्न आएको आफ्नै आँखाले देख्न पाईयोस्..
तिनीहरुलाई केहि कप कफी,नेपाली हस्तकलाका सामान र नेपालका उत्पादनहरु बेचेर अहिले जस्तो गरेर विदेश काम गर्न जाने होइन विदेश घुम्न जाने हैसियत बनोस्।
म मेरा मुटुको टुक्रा झैँ प्यारा मेरो मेरो परिवार र मेरा सन्तानलाई छोडेर नौ बर्ष देखि विदेशमा छु। मैले मेरो बच्चाहरुको बालापन भोग्नै पाईन,उनीहरुलाई जिस्काउन,उनीहरुको बाल्यकालको लोभलाग्दो उपद्रो महसूश गर्न नै पाईन। न उनीहरुले आफ्नो बाबुको माया नै पाए। म जस्ता अभागी बाबुहरु र अभागी छोरा छोरीहरु अब नबढून्।
म विदेश बस्दाबस्दै छोराछोरी ठूला भईसके अबको केहि बर्षपछि फेरि म उनीहरुलाई विदेश पठाउने चक्करमा हुन्छु।देश नबने पछि उनीहरुले पनि विदेशको भौतिक सुख- सुविधा देख्छन्,नेपालको अस्तव्यस्तता देखि दिक्क हुन्छन् र विदेशै जान मन गर्छन्। राम्रो पढ्न सके स्टुडेन्ट भिषामा र नसके काम गर्न विदेश जान्छन्।
मैले मेरो छोरोलाई त काँधमा बोकेर स्कूल पुर्याउने रहर यो जिन्दगीमा पूरा गर्न सकिन। अब म मेरा नाती नातीनीलाई डोर्याएर स्कुल पुर्याउन र लिन जान चाहन्छु ।अनि मेरा सन्तानले मेरो जस्तैं नियति भोग्न नपरोस् भन्नेमा चिन्तित छु।
म धेरै सोच्ने गर्छु हामी नेपालीहरुको यो सन्तान र अविभावक बिच स्वदेश-विदेशको लुकामारीको खेल कहिलेसम्म खेलिरहने? यो शृंखलाको अन्त्य कहिले हुने ?
हजुर, म देशको लागि चिन्तित छु। समाजको लागि चिन्तित छु। मैलेपनि नौ बर्ष विदेश बसाईको दौरानमा आफूले सकेको परोपकारी काम गरेको छु। प्रत्येक महिना कमाईको केहि प्रतिशत नेपालमा विभिन्न रोग लागेर उपचार नपाएका र अन्य कुरामा आर्थिक अभाव झेलेकाहरुलाई अरु मार्फत र आफ्नै पहलमा सरसहयोग गर्दै आइरहेको छु। जसमा म लगायत मेरो समुहका अरु साथीहरु पनि हुनुहुन्छ।
म लगायत मेरो साथीहरुको पहलमा धुर्मु़श सुन्तलीलाई दश लाख, मुसहर बस्तीको लागी तीन लाख, लक्ष्मी प्रतिष्ठान, हेल्प नेपाल नेटवर्क, भूकम्प पिडितलाई बाढी पिडितको लागि र अन्य थुप्रै सहयोग गरेको छु। मैले गरेको सहयोग यति गरे भन्नको लागि उल्लेख गरेको नभई यसबाट अरुलाई पनि प्रेरणा मिलोस् भन्नको लागि हो। जसरी परोपकारी कामको लागि मेरो प्रेरणाको स्रोत रवीन्द्र मिश्र हुन्।
रवीन्द्र मिश्रलाई केहि समय मैले प्रत्यक्ष नजिकबाट बुझें। अरुबाट उनको बारेमा सुने।अनि मेरो मनको अन्तरआत्माले रवीन्द्र मिश्रमा ईमान्दारीता देखेँ।भित्रैबाट देश प्रति चिन्तित भएको पाएँ।रवीन्द्र मिश्रले जित्दा हामी जनता पक्कै हार्दैनौ,जसरी यसअघि हामीले भोट दिएकाहरुले जिते र जनता हारिरहे।
चुनावको मुखमै छौ हामी नेपालीहरु यतिबेला।सक्षम र राम्रा नेतृत्वहरुलाई जिताएर आफ्नो भविष्य बनाउने सुनौलो मौका छ। आफ्नो विवेक प्रयोग गरौं।आफ्नो भविष्य माथी खेलवाड नगरौं। रवीन्द्र मिश्र जस्ता मान्छे एक युगमा एकपटक मात्र जन्मिन्छन्।
यस पाली विवेकशील साझा पार्टी र रवीन्द्र मिश्र प्रतिको लगाव देख्दा त यस्तो लाग्छ: देश हाम्रै पालामा बन्छ।
लाखौँ युवाका ढुकढुकी र आश रवीन्द्र र विवेकशील साझा पार्टीलाई मेरो मनै भरिको शुभकामना।
















