-नविन रायमाझी
चुनाव हुनेबितिकै घर नहुनेले घर, गाडी नहुनेले गाडी र स्वास्नी नहुनेले स्वास्नी पाउने जस्तै गरेर प्रचार गरिएको संसदीय निर्वाचन आइसकेको छ। कुनै अप्रत्यासित घटना भएन भने चुनाव रोकिनेछैन। कुनै पनि प्रजातान्त्रिक देशमा पाँच वर्षमा आउने चुनावलाई राजनीतिक पार्टीहरुले जनताले आफूलाई अनुमोदन गर्छन् कि गर्दैनन् भन्ने रुपमा लिने सैद्धान्तिक प्रचलन छ। तर हाम्रो देशमा भने लाइनमा बसेर भोट हाल्नेबाहेक अरु कुनै अधिकार छैन जनतालाई।
आफ्नो स्वार्थको लागि प्रजातन्त्र, लोकतन्त्र वा अरु कुनै शब्द जाल प्रयोग गरे पनि आम जनताको आर्थिक सामाजिक स्थिति जस्ताको त्यस्तै वा त्योभन्दा पनि तल्लो स्तरमा ओर्लंदो छ।

नेपाली कांग्रेसले जहिले पनि ‘बिपीको सपना साकार पारौं’ भन्ने नारा दिन्छ। बिपीले के त्यस्तो अद्भुत सपना देखेका थिए र त्यो तीन करोड नेपालीले साकार पार्नुपर्ने हो? पंक्तिकार जस्तो अशिक्षित व्यक्तिले बुझ्न सक्ने कुरा भएन। बिपीको सपना साकार पार्ने क्रममै अहिले नेपाली कांग्रेसका नेताहरुको मृत्यु हुँदै गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालासम्मको सपना साकार पार्नुपर्ने बाध्यता कांग्रेस कार्यकर्ताहरुलाई छ। भलै यो सपना के हो भन्ने कुरा उनीहरुलाई नै किन जानकारी नहोस्। यो चुनावदेखि त बिपीको सपना साकार पार्ने जिम्मेवारी गुण्डा नाइके गणेश लामाको काँधमा आएको छ। अब हेर्नुछ, उनले कसरी उक्त सपना पूरा गर्ने हुन्।
‘हामी त जन्मिँदै कांग्रेस हो’ भनेको के हो? त्यो मैले बुझ्न नसकेको कुरा हो। कुनै पनि सभ्य समाजमा राजनीतिक पार्टीको समर्थन र विरोध उक्त पार्टीको सिद्धान्त र अजेन्डामा हुनुपर्नेमा हाम्रो समाजमा भने जन्मजात समर्थक र विरोधी भएर निस्केका हुन्छन् र यस्तो मतदाताले कसरी बुझेर भोट दिन्छन् भनेर बुझ्न सकिन्छ?
एमालेले बेच्ने भनेकै मदन भण्डारीको सपना हो। त्यो सपना के हो मैले बुझेको छैन। २०४७ सालमा फुत्त देखिएर २०५० सालमा मृत्यु भएका भण्डारीले यो देशको निर्माणमा के कति इँटा थपे त्यो एमालेका चबन्नी कार्यकर्ताहरुलाई राम्रोसँग जानकारी होला। राजतन्त्रका कारण देश अधोगतितिर लागेको भनेर सडकको रेलिङ भाँच्नुलाई राजनीतिक गतिविधि सम्झिने भण्डारीको जनताको बहुदलीय जनवादको व्याख्या अर्को जिम्मा भने गुण्डा नाइके दीपक मनाङेले पाएका छन्। देशका लाखौं युवा कट्टर मुश्लिम राजतन्त्र भएका देशमा दाँयाबायाँ नगरी काम गर्न जानुपर्ने अवस्था आइसकेको अवस्थामा जबजले कुन व्यक्तिको जीवनस्तर उच्च बनायो? मैले बुझ्न सकेको छैन।
दसौं वर्ष व्यक्ति हत्या गरेर साढे १७ हजार मान्छेको ज्यान लिएर ‘सेल्फ ल्यान्डिङ’ गरेको माओवादीको कुनै कुरा गर्नु नै व्यर्थ छ। सभ्य देशमा भएको भए जेल बस्नुपर्नेहरु घाँटीभरि माला लगाएर ठूला आश्वासन बाँडिरहेका छन्।
यी राजनीतिक पार्टीबाहेक अरु पार्टी केवल क्लबजस्ता मात्र देखिएका छन्। आफ्नो स्वार्थ अनुसार भएन भने फुट्ने र स्वार्थ अनुसार जुट्ने पार्टीबाटखास काम हुन सक्दैन। कुनै एउटा पार्टीले बहुमत ल्याएन भने सरकार बनाउन ‘बार्गेनिङ’ गर्ने बाहेक यिनीहरुको कुनै काम छैन। चुनावमा मतपत्रको आकार ठूलो बनाउनेभन्दा अरु कुनै औचित्य नभएका यस्ता पार्टी नहुनु नै ठिक हो।
भोटका लागि खेतमा गएर धान काट्ने वा काटेको जस्तो नाटक गर्ने, जथाभावी बोल्ने र हुनै नसक्ने सपनाको पोको (घोषणापत्र) बाँड्ने नेता र एकछिनको रमझम मा भुल्ने जनता हुन्जेलसम्म जस्तो पद्धति आए पनि केही हुनेवाला छैन। देश र जनताको हालत उस्तै वा त्योभन्दा पनि तल र राजनीतिक नेताहरुको अवस्था मात्र माथि हुन्छ। यसले दलाली प्रथालाई मलजल गर्ने कारणले देश सधै अराजक अवस्थामा रहिरहन्छ।
नेपाललाइभबाट
















