निमेष जंग राई
चितवन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १०–१५ हजार मतान्तरले जिताउन चितवनका मतदातालाई आग्रह गरेका छन्।
भरतपुरमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्र मिलेको निर्वाचनमा पनि प्रचण्डले १०–१५ हजार मतान्तरले जितेनन् भने वाम गठबन्धनलाई लाज हुने बताए।
ओलीले मतदातालाई विशेष रुपमा आग्रह गर्दै भने, ‘दुइटा पार्टीले संयुक्त रुपमा उम्मेदवार बनाउँदा पनि १०-१५ हजार मतको अन्तरले प्रचण्डले नजित्ने हो भने हामीलाई लाज हुन्छ कि हुँदैन? प्रचण्डले जितिसके। अग्रीम शुभकामना!’

अध्यक्ष ओलीले वाम गठबन्धनदेखि नतर्सिन आग्रह गर्दै देशमा छिटै कम्युनिस्ट शासन आउने दाबी समेत गरे। उनले शान्ति र स्थायित्वका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको दाबी गर्दै निर्वाचनपछि गठबन्धनले देशमा ५ वर्षको स्थायी सरकार दिने बताए।
‘निर्वाचनपछि मुलुकमा एउटा स्थायित्व आउँछ। हामी स्थायी सरकार दिन्छौं’, ओलीले भने, ‘देश बनाउन पाँच वर्ष सरकार चलाउँछौं।’
ओलीले चाडपर्व र निर्वाचनको हतारले समयमै पार्टी एकता गर्न नसकिएको बताउँदै चुनावपछि एउटै पार्टी हुने दाबी गरे।
उनले भने, ‘यो पार्टी र त्यो पार्टी भनिरहने अवस्था छैन, चुनावपछि दुवै पार्टी एक हुन्छ।’
कम्युनिस्ट सरकार आए देशमा अधिनायकवाद स्थापित हुने भन्दै ओलीले नेपाली कांग्रेसको पछिल्ला अभिव्यक्तिको चर्को आलोचना गरे।
मन्तव्यका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रामक देखिएका अध्यक्ष ओलीले नाकाबन्दी विरुद्ध बोल्न नसक्ने मानिस अहिले देशको प्रधानमन्त्री पदमा बसेको टिप्पणी गरे। ओलीले उम्मेदवारमाथि आक्रमण भइरहेको प्रसंग जोड्दै गृह मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्रीले शान्ति–सुरक्षा नदिएर चुनाव सार्न षड्यन्त्र गरेको आरोप लगाए।
















