कैलाली- नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. आरजु राणा देउवाले धनगढीलाई देशकै आर्कषक शहरका रुपमा विकास गर्ने बताएकी छिन्।
धनगढी उपमहानगरपालिका–३ मा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाएर मुलुककै आकर्षक शहरका रुपमा विकसित गर्ने योजना रहेको सुनाइन्।

कैलालीका धेरै किसान कृषिमा आबद्ध भएको बताउँदै उनले यही जिल्लामा मलखाद उत्पादन गर्ने कारखाना स्थापना गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
नेतृ राणाले कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना, गेटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सेती परियोजनादेखि सुख्खा बन्दरगाहसम्मका योजना अघि सारेकी छिन्। रासस
















