काठमाडौंकी अञ्दाजी २६/२७ वर्षकी युवती सबिना (नाम परिर्वतन) लाई केही महिनाअघि छालामा एलर्जी भयो । दक्षिणकालीमा रहेका एकजना लामाले यस्तो समस्या झारफुक गरेरै निको पार्छन् भन्ने उनले साथीभाइबाट सुनिन् ।
साथीभाइको विश्वासमा रोग चट्ट निको हुने सम्झिँदै सविना दक्षिणकालीमा ती लामासमक्ष पुगिन् ।
दक्षिणकाली-१, चाल्नाखेलमा थियो, टासी छुल्ठिम घोम्बो कासुङ नामक गुम्बा । त्यहाँ उपचार गर्ने तान्त्रिक भनिएका व्यक्ति थिए, रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) ।
तीनदिन झारफुक, चौथो दिनदेखि यौन शोषण
लामाको फेसबुक पेजबाट
पहिलो दिन ती व्यक्तिले झारफुक गरे । दोस्रो दिन आफूले छुँदै पनि रोग निको हुने भन्दै युवतीलाई छुन खोजे । उनी अलि हच्किइन् ।
तेस्रो दिन पनि झारफुक भयो ।
‘तान्त्रिक दैविक शक्ति छ भन्ने सुनेर त्यहाँसम्म पुगेकी थिएँ’, ती महिला भन्छिन्, ‘अरुले रोग पूरै निको भएको समेत सुनाएका थिए ।’
तर, चौथो दिन उनले उनी यौन दुराचारीको शिकार बन्न बाध्य भइन् ।

‘त्यो दिन तिमी मेरो पूर्वजन्मको अर्धाङ्गिनी हौं र यो जन्ममा पनि मेरै हौं भनेर ती व्यक्तिले भने’, उनी सम्झिन्छिन्, ‘त्यसरी पूर्वजन्म र अहिलेको जन्मको कुरा गरेर मलाई रनभुल्लमा पार्यो ।’
त्यो दिनलाई उनलाई पहिलेको कोठामा लगिएको थिएन । कोही नभएको सुनसान कोठामा थिइन्, उनी । ती तान्त्रिकले उनलाई शारीरिक सम्बन्ध राख्न बाध्य बनाए ।
कसैलाई बताए रोग बल्झिने धम्की !
छुँदै निको हुने भन्दै ती व्यक्तिले युवतीलाई नग्न बनाउन थाले । र, पटक पटक यौन सम्पर्क गरे । कसैलाई सम्पर्क राखेको कुरा भने ठूलो क्षति हुने भन्दै तान्त्रिकले त्रास देखाउँथे ।
‘कसैलाई सुनाउँदा रोग फेरि बल्झिने भन्थ्यो’, पीडित युवती भन्छिन्, ‘रोगको उपचार गराउन मसँगै यौन सम्पर्क राख्नुपर्छ समेत भन्ने गर्थ्यो ।’
एक दिन ती युवतीले परिवारसमक्ष समस्या सुनाउन पुगिन् । उनलाई तान्त्रिक भनिएका व्यक्तिको व्यवहार ठीक लागिरहेको थिएन । र, उनले आफन्तलाई यो कुरा सुनाइन् ।
त्यसपछि यो घटना सीआइबीसमक्ष पुग्यो । अहिले सीआइबीले ती तान्त्रिकलाई पक्रेर उनीमाथि अनुसन्धान थालेको छ ।
१० वर्षदेखि युवतीहरुलाई यौन शोषण गरेको आशंका
धर्मगुरु भनिएका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) को स्थायी घर सिन्धुलीको दुम्जा हो । उनी काठमाडौंमा १० वर्षअघि आएर गुम्बा सञ्चालन गरी बसेका थिए ।
पहिल्यैदेखि ती गुरु महिलाप्रति आशक्त रहेको अनुसन्धानका क्रममा खुलेको छ । काठमाडौं आएदेखि नै धर्म गुरुको आवरणमा महिलामाथि यौन शोषण गर्ने गरेको प्रहरीको आशंका छ ।
आफूसँग दैवी शक्ति छ भनेर प्रचार गर्दै जुनसुकै रोग निको पार्ने भनेर उनले युवती तथा महिलाहरुलाई भेला पार्ने गरेका थिए ।
युवतीहरुलाई भेला पार्न उनले वेवसाइटको समेत प्रयोग गर्दै आएका थिए ।
छालामा एलर्जी, एपीलीप्सी र छारे रोग भएका बिरामीलाई पूरै निको पार्ने भन्दै प्रचार गरिएको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका डीआइजी पुष्कर कार्की बताउँछन् ।
उनका अनुसार ती व्यक्तिले पुरुषलाई हत्तपत्त गुम्बाभित्र छिर्न नदिने गरेका थिए । थुप्रै महिलाहरु ती धर्मगुरुको शिकार बनेको हुन सक्ने प्रहरीको आशंका छ ।
अनुसन्धानका क्रममा ती व्यक्तिले विवाह भएकालाई महिलालाई ‘पूर्वजन्ममा आफ्नै अर्धाङ्गिनी र अहिले भुलबस अर्कैको भएको’ भन्दै यौन शोषण गर्ने गरेको प्रहरी बताउँछ ।
विवाह नभएका युवतीलाई भने ‘अघिल्लो जन्ममा पनि आफ्नै र अहिलेको जन्ममा पनि आफ्नै भएको’ भन्दै यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानको क्रममा ती व्यक्तिले विवाह गरेको समेत खुलेको छ । उनले श्रीमतीलाई झापामा राखेर होटल व्यवसाय समेत सञ्चालन गरिरहेको प्रहरीको आशंका छ । श्रीमतीसहित उनका छोराहरु झापामा रहेको बताइन्छ ।
लामाले आफू जुनसुकै रोक निको पार्न सक्ने दैवीशक्ति प्राप्त गरेर अवतारी लामा भन्दै महिलालाई भ्रममा पारेर निर्वस्त्र गराई यौन सम्पर्क गर्दै आएको प्रहरीले जनाएको छ ।
दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएको र आफूलाई स्वघोषित गुरु भन्दै लामाले महिलालाई भ्रममा पार्दै आएका थिए ।सीआईबीको टोलीले लामालाई गुम्बाबाटै नियन्त्रणमा लिएको हो । डीआईजी कार्कीका अनुसार लामाले महिलालाई यौनसम्पर्क गरेपछि उक्त जानकारी कसैलाई दिएमा ठूलो क्षति हुने र पुनः रोग बल्झिने भन्दै कसैलाई नभन्न दबाब दिँदै आएका थिए ।
रोग निको हुन आफूसँगै यौनसम्पर्क गर्नुपर्ने भन्दै लामाले धेरै महिलालाई पटक-पटक दबाब दिँदै आएको प्रहरी दाबी छ । डीआईजी कार्कीले भने, ‘ पहिला यो घटना सीआईबीमा आउँदा विश्वास लागेन, पछि दुई जना पीडित महिलालाई बोलाएर अनुसन्धान गर्दा केही रहस्य खुलेपछि प्रहरीले पक्राउ गर्ने निधो गरेको हो ।
लामाले आफू तेत्तीस कोटी देवताको अवतार भएको र गुरु रिसाए अनिष्ट हुने र महिलालाई अन्य पुरुषसँग विवाह गरेमा पनि मृत्यु हुने भन्दै बारम्बार यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।’ सीआईबीले १० दिनदेखि लामाको कार्यशैलीलाई पछ्याएपछि मात्रै पक्राउ गरेको हो ।
कार्कीका अनुसार पीडित एक महिलाको अनुमतिबिना फेसबुकमा अश्लील फोटो राखेका कारण उनीमाथि साइबर अपराधमा समेत अनुसन्धान हुनेछ । सीआईबीले लामाविरुद्ध जबर्जस्तीकरणी र विद्युतीय अपराध सजाय ऐनमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग स्वीकृति लिएको छ ।
पक्राउ व्यक्तिको विवरण
नामः गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) टुल्कु लामा
उमेर : ५६ वर्ष
ठेगाना : सिन्धुली कुसेश्वर दुम्जा ९
पेशा : रिम्पोछे (गुरु)
गुम्बाको नाम : पेमा टासी छुल्ठिम घोम्बो कासुङ
गुम्बाको ठेगाना : काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल,वोशन
अनलाइनखबर/अन्नपूर्णपोष्ट
















