काठमाडौं– ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपाल थाइल्याण्डमा भइरहेको आइसिसी महिला विश्व टी २० एसिया छनोट प्रतियोगितामा भने तेस्रो हुन सफल भएको छ। तेस्रो स्थानको लागि सोमबार भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो ।
नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो । बैंककस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन् । यस्तै कप्तान रुविना क्षेत्री १४ तथा करुणा भण्डारी १४ रनमा नटआउट रहे । ९५ रनको लक्ष्य पछ्याएको हङकङ एक बल अगावै ५८ रनमा अलआउट भयो । हङकङका लागि चान साउ हारले १३ तथा का यीन चानले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । हङकङलाई अलआउट गर्न नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सवनम राई, सीता राना मगर, नेरी थापा रितु कनौजियाले १–१ विकेट झारे ।

एसियन जोनबाट आयोजक थाइल्याण्ड पहिले तथा युएई दोस्रो स्थानमा रहदै नेदरल्याण्ड्समा अर्को वर्ष हुने ग्लोबल क्वालिफायरमा छनोट भएका छन्। उपाधिका लागि यी दुईबीच सोमबारै खेल हुनेछ । नेपालले लिग चरणमा दुई खेल जितेको थियो भने एक खेलमा हार व्यहोरेको थियो । दुई खेल भने वर्षाको कारण प्रभावित भएकपछि नेपालले थाइल्याण्ड र हङकङसँग अंक बाँडेको थियो ।
















