आरके थापा, लिस्बोन । नेपाली नयाँ बर्षको अवसर पारेर एनआरएनए पोर्तुगलले यही अप्रिल १५ तारीख पोर्तुगलको राजधानी लिस्बोनको मुटु मार्तिमुनिजमा पहिलो पटक आयोजना गर्न लागेको नेपाल फेस्टिबल नजिकिदै गर्दा पानी, झरी र चिसो कायमै रहे पनि पोर्तुगलमा रहेका नेपाली समुदाय बीच भने नेपाल फेस्टिबलको रौकानले माहोल तात्दै गएको छ ।

फेस्टिबल आउन अब दुईदिन मात्र बाँकी रहँदा प्रचार-प्रसारले पनि तिब्रता पाएको छ, यसै क्रममा आज लिस्बोनमा नेपाली झन्डा बोकेर अप्रिल १५ को नेपाल फेस्टिबलमा सहभागी बनौं, सफल बनाऔं भन्ने टिसर्ट लगाएर साइकल र्यालीको आयोजना गरियो । पत्रकार गणेश पाण्डेयको कन्सेप्ट र एनआरएनए पोर्तुगलका उपाध्यक्ष कमल गुरुङको अगुवाईमा भएको साइकल र्याली लिस्बोनको आन्जुसबाट शुरु भएर शहरका मुख्य मुख्य भाग मार्तिमुनिज, रोसियो, काइसुद्रे, मार्केस्पम्बल, साल्दान्य, अल्मेदा हुँदै आन्जुस मै आएर समापन भएको थियोे । झन्डै दुई घन्टा चलेको साइकल र्यालीमा पन्ध्र जना सहभागी थिए ।

“सहभागी सबैले स्वतस्फूर्त रूपमा केही रकम उठाइ साइकल भाडामा लिने, टिसर्ट किन्ने र प्रीन्ट गर्ने काम गरेको” पत्रकार गणेश पाण्डेयले बताए । उनले भने, “महोत्सवमा पोर्तुगिस मानिसहरुको ध्यानाकर्षण गर्न यो स्वतस्फूर्त रूपमा आयोजना गरिएको भए पनि यसको अगुवाइ एनआरएनए पोर्तुगलका उपाध्यक्ष कमल गुरुङले गर्नु भएको थियो ।”

साइकल र्यालीमा कमल गुरुङ, भुपेन्द्र बस्नेत, गणेश पाण्डेय,शम्भु गौतम,नारायणकाजी मगर, ईश्वर रिजाल, कुमार घलान, सुर्य भट्टचन, प्रकाश कडेरिया, वकिल केसी, नवीन आचार्य, रविन अधिकारी क्षेत्री, दया ढकाल, ज्याक्सन सेभेन र दिनेश भन्डारी सहभागी थिए ।























