
लिस्बोन। नेपाली नयाँबर्ष २०७५ को अवसरमा गैर आवासीय नेपाली संघ (NRNA) पोर्तुगलको तत्वाधानमा नेपाली कन्सुलेट लिस्बोनको प्रमुख संरक्षकत्व, पर्यटन बोर्ड, चेम्बर अफ कमर्शसहित पोर्तुगलस्थित सम्पुर्ण नेपाली संघ संस्थाको सह-आयोजनामा हिजो अप्रिल १५ तारीख लिस्बोनमा नेपाल फेस्टिबल अर्थात नेपाल महोत्सव नेपाली समुदायको भब्य उपस्थितिमा सम्पन्न भएको छ । लगभग १२००-१५०० सम्म नेपालीहरुको उपस्थिति देखिएको महोत्सवमा आशा गरिएको लक्षितवर्ग पोर्तुगिस र युरोपियनहरुको भने खासै उपस्थिति देखिएन ।

महोत्सवको उद्घाटन लिस्बोनस्थित अवैतनिक नेपाली बाणिज्यदुत मकरबहादुर हमालले पानसमा बत्ती बालेर गरेका थिए । अतिथिहरुमध्येबाट काठमाडौका लागि पोर्तुगलका अवैतनिक बाणिज्यदुत तथा नेपालका प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान, एनआरएनए पोर्तुगलका संस्थापक अध्यक्ष पुर्ण हमाल, लिस्बोनका लागि पर्यटन बोर्डकादुत रमेश गुरुङ, इमिग्रान्त सोलिरादिदका प्रेसिडेन्ट तिमेर्कु मासेदु, जुन्ता फर्गेसिया मारिया मोइरका प्रेसिडेन्ट डा. मिगेल कोहिल्लु, क्यामरा मिउनिसिपल लिस्बोनका भेरादुर रिकार्डो रोबिस लगायतले महोत्सव सफलता र नेपाली नयाँबर्षको शुभकामना व्यक्त गरेका थिए ।

एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन महासचिव निराजन सुबेदीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष गोबिन्द सापकोटाले दिएका थिए । पोर्तुगिस अतिथिहरुलाइ आयोजकहरुको तर्फबाट अध्यक्ष कुबेर कार्कीले “टोकन अफ लभ”को रूपमा नेपाली वीरताको चिनो खुकुरी र मन्दिरका आकर्षक फ्रेमहरु उपहार प्रदान गरिएको थियो । सो अवसरमा कार्यक्रमको सुरुवातमा बाल कलाकारहरुले नेपाली र पोर्तुगिस राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।
कसले के भने ?
लिस्बनका लागि अबैतनिक बाणिज्यदूत मकर हमालले पोर्तुगीसहरुलाई नेपाल भ्रमण गर्न अनुरोध गरे । ‘विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदूत भगवान गौतम वुद्धको देश नेपालमा एकचोटी यात्रा गर्नैपर्छ ।’ हमालले भने, ‘एउटा सानो देश तर सयौ विशेषता र विविधता जुन संसारका अन्य देशमा पाउनै सकिदैन । हो, त्यो कहिल्यै पराधिन नभएको देश नेपाल हो ।’

नेपालका लागि पोर्तुगलका अबैतनिक बाणिज्यदूत राजेन्द्र खेतानले दिल्ली राजदूतावासमा नेपालीले खेप्नुपरेको समस्याबारे आफू गम्भिर भएको बताए । उनले यसको समाधानका लागि छिट्टै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्यामारा म्युनिसिपलका रिकोर्दु रुबिस, जुन्ताका मिगेल कोहिलिउ कनाइका बास्कु माल्ता र इमिग्रान्तका तिमोत्कु मसेदुले लिस्बनमा सबै आप्रवासीलाई सहज रुपमा रेजिडेन्स दिनुपर्ने कुरामा जोड दिए । यहाँ धेरै देशका आप्रवासीहरु बसोवास गर्छन् । अन्तरराष्ट्रिय समुदाय यहाँ रहदा सुन्दर समाज बन्छ : उनीहरुले सधैं आप्रवासीको भलाई चाहेको धारणा व्यक्त गरे ।
निर्धारित समय भन्दा झन्डै दुई घन्टा ढिलो मात्र कार्यक्रम शुरु :
दिउँसो एकबजे शुरु हुने भनिएको औपचारिक कार्यक्रम अघिल्लो दिन आयोजकहरुले ठिक समयमा कार्यक्रम शुरु गर्ने दावी बिपरित निर्धारित समय भन्दा झन्डै दुई घन्टापछि मात्र शुरु हुँदा, समयको पर्वाह नगर्ने नेपाली बानी जहाँ पुगे पनि कहिल्यै नसुध्रिने भनी सहभागीहरुले टीप्पणी गरेका थिए । बिहान केही समय सिमसिम पानी परेपनि दिउँसो मौसम उघ्रीएर सफा हुँदा आयोजक र सहभागीहरु खुशी देखिएका थिए ।

आसन ग्रहणमा गडबड वा नियत बाङ्गो ?
अतिथिहरुको आसन र भाषण लामो नहुने आयोजकको भनाइ अनुसार भाषण भने लामो भएन तर आसन ग्रहण भने लम्बेतान नै भएको थियो। झन्डै चालिस जना अतिथिलाईलाई आसन ग्रहण गराउँदा राज्यको चौथो अंग मानिएको पत्रकार महासंघ युरोप शाखाकै महासचिव योगेन्द्र मिलन छ्यन्त्याल सो लिस्टमा अटाएनन । जनमतले नेपालको पहिलो र प्रधानमन्त्रीको सत्तारुढ पार्टी सम्बद्ध प्रवासी नेपाली मंचका अध्यक्षलाई अर्को एक विपक्षी दलका समितिका उपाध्यक्ष भन्दापछि नाम राखेर आसन ग्रहण गराइनुले पदको मर्यादाक्रमको कुनै पर्वाह नगरिएको र पुरानो धङधङी नगएको भनेर टीप्पणी भएको थियो ।
यसैगरी एनआरएनए पोर्तुगलको प्रमुख संरक्षक सहित पाँचजना संरक्षक रहेकोमा चारजनालाई विभिन्न उपमा दिएर मंचमा अतिथिमा बिराजमान गराइयो भने एकजना संरक्षक रोबर्ट लिम्बूलाई भने बोलाइएन उनी एनआरएनएको स्टल छेउको कुनामा उभिएर टुलुटुलु कार्यक्रम हेर्न बाध्य भए ।

एनआरएनएको चुनावमा सबैभन्दा लोकप्रिय मत ल्याएका उपाध्यक्ष कमल गुरुङ्लाई कुनै भुमिका नै दिईएन , उनी मंचको अर्को कुनाको पर्यटन बोर्डको स्टलमा बसेर समय बिताउन बाध्य भए , पोर्चुगिस भाषामा पनि राम्रो दख्खल राख्ने उनले कार्यक्रम संचालन गर्ने एकजना पोर्तुगिस महिलाको ठाउँमा आफुलाइ राख्न अनुरोध गरेका थिए, तर उनको कुरो सुनुवाइ नै भएन ।

यस्तै नेपाली समुदायका एक प्रतिष्ठित व्यक्तिसंग सहयोग रकम बारे बार्गेनिङ् गर्दै स्टेजमा नै भनाभन भएपछि उनले कुनै पनि रकम सहयोग नगर्ने बताएपछि अतिथि भनेर सम्बोधन नै गरिएन।
मन्त्री, राजदूत र एनआरएनए अध्यक्षको शुभकामना मन्तव्यको अपमान : के लेखिएको थियो पर्यटन मन्त्री र राजदुतको शुभकामना सन्देशमा ?
निम्ता गरेपछि पाहुनाको सम्मान गर्न वा उसले ससम्मान दिएको वा पठाएको उपहार वा सद्भाव ग्रहण गर्न पनि जान्नुपर्छ । तर एनआरएनएन पोर्तुगल र खासगरी त्यसको नेतृत्व गरिरहेकाहरुमा त्यो ढंग देखिएन। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ले कार्यक्रम सफलताकोलागि एकहप्ता अघि नै लिखितरूपमा पठाएको शुभकामना मन्तव्य आधा मिनेट समय लिएर न बाचन गर्ने कष्ट गरियो, नत पोर्तुगल हेर्ने फ्रान्सकालागि आवासीय महामहिम राजदूत कै सन्देश सुनाइयो, एनआरएनए केन्द्रीय अध्यक्ष र युरोप संयोजकको शुभकामनालाई पनि कुनै “भ्यालु” दिइएन ।

यी शुभकामना मन्तव्यहरु त्यस कार्यक्रमका लागि अत्यन्तै महत्त्वका बिषय थिए, ती पत्रहरु बाचन गरिएको भए नेपाल सरकारले पनि कार्यक्रमको महत्त्वलाई आत्मसात गरेको कुराले एनआरएनएकै इज्जत बढ्थ्यो, तर ह्वास्यांग्रे पारामा अत्यन्त हल्कारुपमा सूचित गरेर मन्त्री, राजदूत र एनआरएनए अध्यक्षको शुभकामना मन्तव्यको अपमान गरियो ।

२० वटा स्टलको ढ्वांग फुकेर जम्मा पाँचवटा मात्र स्टल, किन राखिएन नेपाली खाना र परिकारका स्टलहरु ?
त्यत्रो महोत्सवमा जम्मा पाँच वटामात्र स्टल थिए । एनआरएनए आफ्नै, पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्श, एउटा ट्राभल र एउटा ज्वेलरी पसलको बाहेक अरु स्टल थिएनन् । ती स्टलहरुमा एक एक वटा नेपाली झन्डा बाहेक नेपाललाई “प्रमोट” गर्ने खासै अरु केही कुरा थिएन । एनआरएनए कार्यालयको छिमेकी एभरेस्ट ट्राभलले पहिले नै बुकिङ गरेको र आफैले व्यवस्थापन गरेको स्टल समेत नपाउँदा आयोजकप्रति गुनासो पोख्दै अर्को स्टलसंग अनुरोध गर्दै ब्यानर टाग्नु पर्ने बाध्यता परेको थियो। यो सानो कुराले पनि ब्यबस्थापन कस्तो थियो भन्ने आफैं संकेत गर्दछ ।

अध्यक्ष बोल्दा माइक नै बन्द:
जब अध्यक्ष बोल्न थाले तब माइक नै बन्द भयो, झन्डै एक मिनेट पन्ध्र सेकेन्ड पछि मात्र माइक चालु भयो। कार्यक्रम अवधिभर सत्र पटकसम्म माइक बिग्रने वा आउने र जाने क्रम चलिरह्यो। एउटा साँस्कृतिक प्रस्तुति त माइकको आवाज बिनै सकियो, प्राविधिकरूपमा साउन्ड सिस्टम मिलाउने मान्छे कै अभाव देखिन्थ्यो बेला बेलामा ।

नेपाली खाजाका स्टल आयोजकका गफ मात्रै , दर्शकहरु अजिनोमोटो हालेको चाउमिन खान बाध्य – चितवन समाजले पानी र पर्बत समाजले सेलरोटी बाढ्यो :
नेपाल महोत्सवमा नेपाली खानाको स्वाद लिने र रमाईलो गर्ने भनेर आएका दर्शकहरले नेपाली खाना र खाजाको कुनै पनि स्टल नदेखेपछि खाजा खानकोलागि नजिकका चाइनिज रेस्टुरेन्टमा जान बाध्य भए। सबै सहाभागीहरु गुनासो गर्दै भन्दै थिए, “नेपाली फेस्टिबलमा के के नै नेपाली खाना खाँउला भनेर मुख मिठ्याउदै आएको चाइनिज रेस्टुरेन्टको अजिमोमोटो हालेको चाउमिन खाएर फर्कनु पर्यो, यो कार्यक्रम नेपाल मेला होइन, स्कुलमा आयोजना गरिने बच्चाहरु देखाउने नाटकको भेला जस्तो भयो ।”

स्थानीय प्रशासनको अनुमति नलिई र पूर्व तयारी बिना नै हल्ला चलाएर आयोजकले राख्ने भनेका अधिकांस स्टलहरु गफमा नै सिमित भए, जसमा खानाका स्टलहरु पनि परे। महोत्सवमा चितवन समाज पोर्तुगलले भने सहभागीहरुलाइ निशुल्क पिउने पानी बितरण गरेर पर्बत समाज पोर्तुगलले भोकाएका सहाभागीहरुमा सेलरोटीहरु वितरण गरेर उदारणीय कार्य गरेको थियो।

मेलामा नेपाली टोपी र राष्ट्रिय झण्डा नपाएपछि सहभागीहरु निरास :
महोत्सवमा उपस्थित केही सहभागीहरु नेपाली टोपी किन्न खोजिरहेका थिए, नपाए पछि केही आफ्नो बाटो लागे । अन्य धेरैले नेपाली झन्डा किन्न खोज्दा पनि मेलाभरि कतै पाएनन् र निरास भए। धेरैको गुनासो थियो , ” महोत्सवमा नेपाली मेला जस्तो कुनै रौनक नै लागेन। ”
शुभकामना संदेशहरु बेवास्ता गरेको भन्दै सार्वजनिक माफी देखि राजिनामासम्मको माग :
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र पोर्तुगल हेर्ने फ्रान्सकालागि राजदूत महामहिम अम्बिकादेबी लुइँटेलको सन्देशको बेवास्ता गरेपछि यसको व्यापक आलोचना भएको छ। आयोजकहरुबाट विशिष्ट व्यक्तिहरुबाट आएका शुभकामना संदेसको अपमान भएको भन्दै आयोजक र नेतृत्वले सार्वजनिक माफी देखि राजिनामासम्मको माग गरेका छन्।
चितवन समाज पोर्तुगलका अध्यक्ष तुलसीराम थपलिया भन्छन : ” कहाँ गए सरकारका यी शुभकामना मन्तव्यहरु ? तत्काल सार्वजनिक माफी माग !!पोर्तुगलमा आयोजित नेपाल महोत्सवमा नेपाल सरकार र राजदुतका शुभकामना मन्तव्यहरु बेवारिसे बनाइएका छन् । नेपाल सरकार र राजदुताबासलाइ अपमान गर्ने बिदेशमा बस्ने कोही पनि नेपाली, त्यो नेपाली हुनसक्दैन र त्यसले एनआरएनएको नेतृत्व गर्न पनि सक्दैन त्यकारण सरकारका मन्त्री र राजदूतलाई नै अपमान गर्ने यो नेतृत्वले पोर्तुगलमा के दूतावास ल्याउला ? सरकारसंग कुन मुख देखाएर अब के माग राख्ला ? त्यसकारण एनआरएनए पोर्तुगलको यो नेतृत्वले तत्काल सार्वजनिक माफी नमागे यस्तो गैर जिम्मेवार नेतृत्वले राजिनामा दिनुपर्छ ।”

त्यस्तै आयोजक संस्थाकै संरक्षक रोबेर्ट लिम्बुले समाज संजालमा लेखेका छन् , ” नेपाल को पर्यटन प्रबर्दन गर्ने मूल उदेश्यको साथ NRNA पोर्तुगलको आयोजनामा अप्रिल १५ ,२०१८ आइतबार लिस्बन मा नया वर्ष २०७५ को अबसरमा प्रथम नेपाल महोत्सब (1st NEPAL FESTIVAL2018 ) लाई सफलता को लागी नेपाल सरकारका बर्तमान माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी ज्यु को शुभकामना मन्तव्य कार्यक्रममा वाचन नगरिनु अत्यन्तै खेद जनक छ,एस्तो क्रियाकलापले नेपाल सरकार को अपमान र अनादर गर्छ ।सम्बन्धित पक्षले यस बिसयमा यथासाक्य स्पस्ट गर्न आवश्यक छ,एस्तो गल्ति सच्याउनु आवश्यक छ । यस्तो गैर जिम्मेवार पूर्ण रबैया बाट NRNA पोर्तुगल को नेत्रित्वो मुक्त हुन नसक्नु अत्यन्तै दुखद कुरा हो।”

फेस पेंटिंगले ल्याएको नेपालमयको तरंग :
महोत्सवको एक कुनामा भुइमै बसेर केल्साङ् शेर्पा र निमा लामा ह्याल्मो फेस पेंटिंग गर्न व्यस्त देखिन्थे। बालबालिका देखि वयस्कसम्मका युवा युवतीहरु आफ्नो अनुहारमा नेपालको झण्डा रंगाउन लामबद्ध भएका थिए। आफ्नो अनुहारमा नेपालको रास्ट्रीय झण्डा रंगाउन पाउदा सबै दङ्ग देखिन्थे, यसले मेलालाई थप आकर्षण बनाएको थियो।

विभिन्न समाजका आकर्षक नृत्य र झाँकीहरु :
केही जातिय र जिल्लागत समाजहरुले भने आकर्षक झाँकीहरु प्रदर्शन गरे । तामाङ समाज पोर्तुगल, मगर समाज पोर्तुगल, किराँत समाज पोर्तुगल, म्याग्दी समाज, शेर्पा समाज लगायतले झाँकी, नृत्य र गीतहरु प्रस्तुत गरेका थिए ।

मन्त्री, राजदुत, एन आर एन ए अध्यक्ष लगायतलाई शुभकामनाको लागि धन्यवाद दिन समेत बिर्सिए आयोजक :
महोत्सव सफलताका लागि मन्त्री, राजदुत, एन आर एन ए केन्द्रिय अध्यक्ष लगायतकाले पठाएको शुभकामना सन्देशलाई बेवास्ता मात्रै गरिएन, स्वयम् आयोजक संस्थाका अध्यक्ष कुबेर कार्कीले समेत कार्यक्रम पश्चात् धन्यवाद दिन कन्जुस्याई गरे। अध्यक्ष कार्कीले कार्यक्रम पश्चात् यसरी सबैलाई धन्यवाद ज्ञापन गर्दै यसो लेखे – ”
नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०७५ को अवसरमा गैर आवासीय नेपाली संघ (NRNA) पोर्चुगलको आयोजना, नेपाली वाणिज्य दूतावास लिस्वोनको संरक्षकत्व तथा पोर्चुगलका लागी पर्यटन दूत,चेम्बर अफ कमर्सका प्रतिनिधि तथा पोर्चुगलमा रहेका सम्पूर्ण संघ संस्थाहरुको सह आयोजक्त्वमा लिस्वोनको मार्तिम मुनिज पार्कमा हिजो १५ अप्रिल २०१८ मा ” प्रथम नेपाल महोत्सव २०१८” भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रम लाई भब्यरूपमा सफल पार्न उपस्थित हुनुभएका प्रमुख अतिथि पोर्चुगल लिसवनका लागि नेपाली अबैतानिक बाणिज्य दुत आदरणीय दाइ मकर बहादुर हमाल ज्यु, बिशेष अतिथि नेपाल बाट आउनु भएका पोर्चुगलबाट नेपालका लागि अबैतानिक बाणिज्य दुत आदरणीय राजेन्द्र खेतान ज्यु, अन्य बिशेष अतिथि Mr Ricardo Robies Camara municipal lisboa, Dr Migal Coelho President junta freguesia sta.maria,mr Timóteo Macedo president Solidariedade Imegrante,mr Nelson Horta ,director Loule se fronteiras साथै अन्य अतिथिहरु र हामीलाई आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने सबै प्रती आभारी छु !!!
नेपाल महोत्सव सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएका सम्पुर्ण कलाकार मित्रहरू, समय अबधी भर कार्यक्रम स्थलमा खटनु हुने स्वयंसेवक साथीहरु , कार्यक्रम लाई सफल पार्न सुरुका दिन देखि प्रचारप्रसारमा सहयोग गर्दै आइ कार्यक्रम लाइ प्रत्यक्ष प्रशारण गर्नुहुने मिडियाकर्मी मित्रहरू लाई सहृदय धन्यवाद छ । यस कार्यक्रमको लागी नेपालबाट सामग्री उपलब्ध गराई दिनुहुने राजकुमार गौत्तम साथै कार्यक्रमका सह आयोजक मा रहि आ-आफ्नो तर्फबाट सहयोग पुर्याउनु हुने सम्पुर्ण संघ सस्था , कार्यक्रम स्थल उपलब्ध गराइदिने लिस्बोन महानगरपलिका साथै पिउने पानी को ब्यबस्था गर्ने चितवन समाज, कार्यक्रम सफल पार्न सहयोग गर्ने एनअारएनए क्षेत्रीय संघ अल्गार्ब र एनअारएनए अलेन्तेजो का सम्पुर्ण साथीहरू साथै कार्यक्रम सफल पार्न उपस्थित हुनु भएका सम्पुर्ण दाजुभाइ, दिदिबहिनी तथा बिदेशी मित्रहरू लाई हार्दिक धन्यवाद दिन चाहन्छु !
प्रथम नेपाल महोत्सव सफल पार्न अहोरात्र खट्नु भएका कार्यसमितीका साथीहरू लाइ हृदय देखि नै धन्यवाद दिदै आउदा दिनहरुमा समेत यस्तै सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।
अध्यक्ष
कुबेर कार्की
गैर आवासीय नेपाली संघ पोर्चुगल

अनेसासलाई यसरी बेवास्ता गरियो :
अन्तरास्ट्रिय नेपाली साहित्य समाज पोर्तुगलले आयोजकलाई पत्राचार नै गरेर नाम नै तोकेर दुईवटा प्रस्तुती दिने सहमति भएको थियो | नेपाल महोत्सवमा कविता प्रस्तुत गर्दै गर्दा निर्मला ढकाल खराललाई बीचैमा आवाज काटिदिएकोबारे अन्तरराष्ट्रिय नेपाली साहित्य समाज पोर्तुगलले खेद प्रकट गरेको छ । समाजले थोरै बुद्धिविवेक र कलाले मेला चलाउन क्षमता नपुग्ने बताएको छ । उद्घोषकले लज्जास्पद रुपमा सिर्जना चोरेर वाही वाही कमाउने दुष्प्रयास गरेको आरोप पनि लगाइएको छ । व्यवस्थापनमा फितलोपना र मनपरीसँगसँगै स्रष्टाको अपमानप्रति र कार्यक्रममा आफ्नो संस्थाको तर्फबाट प्रस्तुती दिनको लागि बारम्बार अनुरोध गर्दा पनि सुनवाई नभएपछि अनेसासका सचिव स्पन्दन बिनोदले यसरी आफ्नो प्रतिक्रिया दिए –


बधाई तथा खेद!
प्रथम नेपाल मेला, पोर्तुगल शब्दानुसार समपन्न भएकोमा बधाई हामी सबैलाई र आयोजकलाई। चाबी एकातीर ताल्चा एकातिर भएर चलाईएको जस्तो देखिने मेलामा धेरै रंगहरू छरप्रस्ट भए जस्ले बिगत देखिको घिनलाग्दो प्रवृतीमा उल्लास भरेर नयापन दिन नसकेको महसुस गरेँ। कार्यक्रमको करिव करिव सुरू देखि अन्यसम्म दुरदराजबाट अवलोकन गर्दा धेरै राम्रा कुरालाई केहि नराम्रा कुराले मन कुड्यायो। हुन त यस्तो मेला चलाउन थोरै बुद्धि बिवेक र कलाले मात्र पुग्दैन रहेछ भन्ने हामीले देख्दै आएका हौ र यो पल्ट पनि प्रश्ट भयो। सन्चालक ज्यूले वारवार अरूको सिर्जना बाचन गरेर वा वा पाउने तर सिर्जना कस्को भनेर नाम नदिनेलाई जसरी भने पनि चोरी हैन र? के भाषा कला साहित्य अनि सृजना यसरी बेवारिस पारिनु लज्जास्पद हैन र? म एक नेपाली साहित्य सर्जक र कला भाषा सहित्यको रक्षक भएको नाताले मलाई यहाँ बोल्ने अधिकार छ। खादा ओडाएर चिनजानको पौच पुर्याएर मात्र वा ज्यू ज्यू गरेकै आधारमा मेलामा प्राथमिकता पाईने हो र? महिनौ देखि हर्ष र दौडधुप गर्ने अनि अन्त्यमा आफन्तबाद , गुट उपगुट बनाउने पुरानो चलन फेरी दोरीएको देख्दा कता कता दु:ख लाग्यो। पत्र काटेर नाम राखेर बारम्बार अनेसास पोर्तुगलका पदाधिकारी उपाध्यक्ष कमल सापकोटा लगाएत अन्यले एवम आयोजक सम्भू गौतम जी लगाएतकाले जानकारी दिदा समेत बेवास्ता गरिनु र स्टेजमा समय खेर फाल्दै बेसुरे मनगडन्ते कुरा गर्नु ९० वटा भन्दा बढि देशमा आफ्ना साखा भएको साहित्य सन्जाल अन्तराष्ट्रिय नेपाली साहित्य समाज र त्यससंग सम्बन्धित साहित्यकारको ठाडो अपमान हैन र? के विगतको गिरेको धरातलबाट अलि उठेर सोच्न सकिन्न थियो र? के नेपालका यो समाज र ऊ समाजको प्रथमिकतामा मेला गर्ने हो र? मजस्ता धेरै कुनै समाजसंग नजोडिएका नेपालीको मेला हैन रहेछ कि प्रकास परिदिनु भएन आयोजकले। म जस्ता धेरै कलाकर्मि , साहित्यकार मित्रहरू मन अमिलो पारेर निस्केको देख्दा आगामि दिनमा के होला भन्ने प्रश्न उठेको पाएँ। मलाई मेरो सृजनाले स्थान नपाउँदा दु:ख त्यति लागेन जति अनेसासलाई अपमान गरियो, जति कलाकर्मि र साहित्यकर्मीहरू गुट उपगुटको मारमा परे, जति समयको धारा स्टेजमा कसैले चुहाई रह्यो र सिमसिम पानीमा समयको अभाव खड्काएर आशावादी नेपाली भिजिरह्यो दिनभर। कृपया अर्को मेला वा अरू कार्यक्रम गर्दा गुट उपगुट भए बेलैमा जानकारी गराई दिए मन कुडिने थिएन होला। मन लाग्दो परिवेसमा सन्चालन भएको नेरपाल मेला यूरोपमा नभएर नेपालकै कुनै कुनामा गरेको भान भयो। अनेसास प्रतिको अवहेलनालाई ब्यक्तिगत एवम संस्थागत रूपमा खेद प्रकट गर्दै आफन्तबाद रगुटले भरेको नेपाली मेला सम्पन्न गर्नु हुनेहरूलाई बधाई दिन चाहन्छु। एक सच्चा नेपालीको नाताले कार्यावधीभर साथ दिएर आफ्नो जिम्मेवारी बहन गरेकोछु। आशा गरौ भोली उनै आयोजकले यस्ता कार्यकम गर्दा अवहेलनाको जुठो खान नपरोस। धन्यबाद!
स्पन्दन बिनोद,
सचिव, अनेसास पोर्तुगल
साँस्कृतिक कार्यक्रम तारिफयोग्य :
अरु ब्यबस्थापकिय पक्ष जे जस्तो भएपनि साँस्कृतिक कार्यक्रम, विभिन्न समुदाय र क्षेत्रको झाँकी, प्रदर्शनीको भने सहभागीहरुबाट मुक्त कण्ठले प्रशंसा भएको थियो । सुपरिचित कलाकार भगवान भुजेलले अत्यन्त रोचकढंगले कार्यक्रम संचालन गरेका थिए । साँस्कृतिक कार्यक्रममा बाल प्रस्तुतिले सबैको मन छोएको थियोे, लगातार चारघन्टा चलेको साँस्कृतिक प्रस्तुतिले मार्तिमुनिज पुरै नेपालमय भएको थियो । नेपाली गीत, संगीत र नृत्यको माहोलले उपस्थित केही बिदेशीसहित सबैलाई छमछमी नचाएको थियो ।

दर्शकका आखाँमा महोत्सव – यस्तो मिल्यो प्रतिक्रिया :
संचारकर्मी तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य गणेश पाण्डेयले महोत्सवबारे आफ्नो प्रतिकृया यसरी दिए – ” प्रथम नेपाल फेस्टिवल पोर्तुगल : मैले जे देखे !
धेरै राम्रो प्रयास, र प्रशंसनीय कार्य। तर कार्यक्रम आयोजक देखि उद्घोषक र कलाकारसम्म पनि व्यक्तिवाद र परिवारवादबाट प्रभावित भएको पाए मैले। यस्तो लाग्यो यो ” नेपाल महोत्सव वा नेपाली मेला थिएन , कसैको घर आगनमा भएको रत्यौली थियो , आयोजक देखि उद्घोषक र कलाकारसम्मले यसरी बारम्बार आफ्ना मालिकहरुका र कृपालुहरुको नाम उच्चारण गरिरहन्थे , जसरी कि हामी यिनैका दास हौ। समय बदलियो, भुगोल बदलियो तर सोच बदलिएन , संस्कार बदलिएन। यो कुनै हमाल , कार्की , भट्ट ,गुरुङ आदिको आगनको रत्यौली वा व्यक्तिगत कार्यक्रम थिएन , समस्त नेपालीको थियो । हामी अझै पनि सामन्ती संस्कार र दास मानसिकताबाट अलग हुन सकेका छैनौ भन्ने प्रस्टै बुझिन्थ्यो ।
कार्यक्रमको खाका नै स्पष्ट थिएन, त्यसैले त के पछि के आउछ, वा कसले के कति प्रस्तुती दिदैछन भन्ने नै यकिन थिएन। कयौ प्रस्तुतिहरु त्यत्तिकै थपिए, तयार भएर बसेका कयौ प्रस्तुतिहरु पनि प्रस्तुत हुन पाएनन् र केही निराश पनि भए। समय व्यवस्थापन निकै फितलो भयो। व्यक्तिगत रुपमा मलाई यस्तो लाग्यो , यो प्रवासको नेपाल फेस्टिवल थिएन, ” रिडीको मेला ” थियो।
कार्यक्रमको प्रमुख नारा ” One Country Many Stories ” सम्भवतः कसैले पनि सम्झेनन् । सबैलाई आ-आफ्नै प्रस्तुती दिनु वा देखाउनु प्रमुख उद्धेश्य भएजस्तो। मान्छे भेला गर्नु र छमछमी नचाउनु नै कार्यक्रम सफलताको मापक हो भने यो कार्यक्रम भन्दा त्यही ठाउँमा भएको “तिज” सफल भएको मान्नुपर्छ र यो कार्यक्रमले नेपाल फेस्टिवल को भावना समेट्न सकेन। कार्यक्रमको उद्धेश्य अनुसारको प्रस्तुति दिनु नै त्यसको सफलताको मापक हो। आगामी बर्षहरुमा कि त यो कार्यक्रमको नाम “ म्युजिक फेस्टिवल “ राखिनुपर्छ कि त नाम अनुसारको कार्यक्रमको स्वरुप र प्रस्तुति परिवर्तन गरिनुपर्छ ।
सबैभन्दा अचम्मको कुरो , हाम्रा बरिष्ठ महासयहरुलाई मंच यतिधेरै प्यारो रहेछ कि, सांस्कृतिक प्रस्तुती हुदा समेत मन्च छोड्ने मन नै भएनछ। कलाकारहरु कसरी र कहाँ नाच्ने भनेर सोच्दै नाच्नथाले अनि कसैले भनिदिनुपर्यो , ” महासयहरु अब मन्चबाट तल झर्नुस, यो ठाउँ कलाकारहरुलाई दिनुस्। ”

सरोज दवाडीले फेसबुकमा लेख्छन् : स्टेजमा जो पनि छिर्न पाउथे कत्ति भद्रगोल ! ब्यानरमा फुड स्टल भन्ने कहाँ थियो खानाको स्टल ? नेपाली झन्डा २ वटा मात्र देखिए त्यो पनि आयोजकले लिएको हैन सहभागी लिएको !
रमेशराज बाँस्तोलाले एनआरएनको यो कार्यक्रममा छिमेकी र केन्द्रबाट कुनै अतिथि आएनन् किनकि केन्द्रिय चुनावमा पोर्तुगलले पैसामा बिकेर छवी धमिल्याएको छ ।
अन्तरास्ट्रिय साँस्कृतिक सम्मेलनमा लामो अनुभव भएका नवराज कोइराला लेख्छन – ” राम्रो प्रयास, र प्रशंसनीय कार्य। तर कार्यक्रमको खाका स्पष्ट थिएन आयोजक देखि उद्घोषक र कलाकारसम्म पनि व्यक्तिवाद र ….., त्यसैले त के पछि के आउछ, वा कसले के कति प्रस्तुती दिदैछन कुन पर्स्तुती को समय कति कार्य कर्म को उदेस्य के भन्ने यकिन थिएन। कयौ प्रस्तुतिहरु त्यत्तिकै थपिए, तयार भएर बसेका कयौ प्रस्तुतिहरु पनि प्रस्तुत हुन पाएनन् समय व्यवस्थापन निकै फितलो भयो। यो पछी यो कार्यकर्म छ भने थाहा नभई कन बोल्न अगी सर्ने र सार्ने लाई के भने , नेपाल फेस्टिवलको सन्चालकले नेपाली पोशाक नलगाउनु ,सारै नराम्रो लागेको पछ्या पाहुना हरु कुर्सि छोड्न नाखिजेका हुन् वा कार्यकर्म संचालक ले कति बेला बसाउने र कति बेला उठाउने हेका नभएर हो ? अब का अरु कार्यकर्म मा यस्ता गल्ति नहुने आसा भन्दा अरु क गर्न सकिन छ र ? अरु कार्यकर्म मा यस्ता गल्ति नहुने आशा …… !”
एन आर एन ए पोर्तुगल र मोना पोर्तुगलका सल्लाहकार सुर्जे भट्टचनले आफ्नो प्रतिक्रिया यसरी दिए – ” यो प्रोग्राम हुनु नै पोर्तुगल मा एउटा काम सुरुआत भयो, जुन अब नेपाली नयाँ बर्ष मनाईन्छ।कमिकमजोरी थियो, यो कार्य को प्रशंसा गर्नु पर्छ । कुरा रह्यो कार्यक्रम सन्चालन र ब्यबस्थापन स्यडुल जुन कुरा अनुभब नभएको ब्यक्ती ले लियो, त्यसको परीणाम हो, कार्यक्रम संचालन गर्ने ब्यक्ति को हात मा एउटा स्यडुल कागज पनि दिएन । आउने बर्ष हरुमा यो कमि कमजोरी अबस्य हट्ने छ। यो प्रोग्राम १/२ जना को कमि भएको महशुस भयो। जे होस् राम्रो नराम्रो कुरा छाडेर NRN पोर्तुगल प्रोग्राम सफल बनाएको हो, यसरी बुझी दिनु हुन विनम्र अनुरोध गर्दछु ।”
कार्यसमिति भित्र सधै किचलो :
नेपाल महोत्सवको सबै संस्थाहरुको संयुक्त तयारी बैठकमा एनआरएनले ५ हजार नेपाली, २ हजार विदेशी र ३ हजार पोर्तुगीसको सहभागी गराउने उद्देश्य रहेको योजना प्रस्तुत गरेको थियो । तर आयोजकले १२००- १५०० भन्दा बढी मान्छेहरु महोत्सवमा उतार्न सकेनन्। धेरै कुराहरुलाई लिएर कार्यसमितिभित्रै व्यापक असन्तुष्टि प्रकट भएको छ । सहयोगी संस्थाहरुको अपमान भएको कुरा पनि बाहिरिएको छ ।
एकै अलायन्सबाट निर्वाचनद्वारा बनेको एकल जम्बो कमिटिभित्र सधै किचलो मात्रै हुने गरेको तथ्य बाहिर आएको छ।
नाम उल्लेख नगरिदिने शर्तमा कार्यसमितिकै एक जना सदस्यले भोइस अफ नेपाललाई समितिको अनलाईन छलफलमा भएको कुरा दुरुस्तै पठाएका छन् , जसमा भनिएको छ – ” हरेक चिजमा मिस्टेक ! चिठ्ठी बनाउन मिस्टेक, मनोनित गर्दा मिस्टेक, कमिटी बनाउदा मिस्टेक ! सम्मान गर्दा मिस्टेक, हाजिरी खातामा नक्कली सही, हैट धन्यवाद मित्रहरु ! जसले आफूखुशी प्रोग्राम बनाउदै मिस्टेक मात्र गर्न जान्नु भएकोमा ! जय होस् !!!
कुनैपनि कार्यक्रमहरु आफैमा पूर्ण हुदैनन्, मानिसले गर्ने हरेक कार्यमा चुनौती, व्यवधान कमीकमजोरी र अवसरहरु पनि तेत्तिकै हुन्छन। सात समुन्द्रपारी बिरानो भुमिमा आफ्नो संस्कृती , सभ्यता र पहिचानको माध्यमबाट आफ्नो माटो र जन्मभूमिलाई चिनाउने प्रयास गर्दै प्रथम नेपाल महोत्सवको आयोजना गर्नु र सम्पन्न गर्नु आफैमा एक ठुलो चुनौती थियो , गैर आवासीय नेपाली संघ पोर्तुगलले यो साहसिक कार्य गरेर एक नया अध्याय र इतिहास रचेको छ। यो चुनौती लिने संघका बर्तमान अध्यक्ष कुबेर कार्की र उनको टिमको लगनशीलता र मेहनतलाई पोर्तुगलबासी नेपालीहरुले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ। चाडैनै यो कार्यक्रमको औपचारिक समिक्षा पनि होला, यस कार्यक्रममा भएका कमीकमजोरीहरुलाई चुनौती र अवसरका रुपमा लिदै आगाडी बढ्नु आजको आवश्यकता हो र यसमा नै बिरानो भुमिमा रहेका सबै नेपालीहरुको भलाई पनि छ।
















