
मुम्बई । इन्डिया सिमेन्ट र सन टिभीको कार्यालय दक्षिणी चेन्नाईमा रहेको ग्रीनवेज रोडको दुई छेउमा ३ सय मिटरको दुरीमा रहेको छ । ग्रीनवेज रोडबाट करिब साढे चार किलोमिटर टाढा रहेको सहरको सबैभन्दा महङ्गो मानिने क्षेत्रमा इन्डिया सिमेन्टसका प्रबन्ध निर्देशक एन श्रीनिवासन र सन टिभीका अध्यक्ष कालानिथी मारानको निवास रहेको छ ।
आइतबार उनीहरुको टोली, चेन्नाई सुपरकिङ्ग्स र सनराइजर्स हैदराबाद, मुम्बईमा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा भिड्दैछन् । आजको खेल जसले जिते पनि यो सिजन आइपीएलको ट्रफी चेन्नाई आउने पक्का छ । जबकी यो सिजनको ६० मध्ये एक मात्र खेल चेन्नाईमा खेलिएको थियो ।

यो फाइनलले एउटा चक्र पनि पूरा गर्नेछ । दुई वर्ष प्रतिबन्धित भएर फर्केको आइपीएलको सबैभन्दा ‘कन्सिस्टेन्ट’ टोली सिएसके खेलमा मात्र फर्किएन, ऊ जहाँ हुनुपर्ने थियो, त्यहीँ आइपुगेको छ ।
९ मध्ये सातवटा आइपीएल फाइनलमा सिएसके पुगेको छ । जसमध्ये धेरै अनुहार पूरानो नै छन् । एमएस धोनी र सुरेश रैनाले यसअघिका ६ वटा फाइनल खेलेका थिए भने ड्वेन ब्राभोले ४ तथा रवीन्द्र जडेजाले ३ । तर, यसमा सिएसकेले धेरैमा हारको स्वाद चाखेको छ र ६ फाइनलमध्ये दुईमा मात्र सिएसकेले जीत हासिल गरेको छ ।
यसअघिका भिडन्त
यो सिजन दुई टोली तीनपटक भिडेका छन् । जसमध्ये सिएसकेले हरेकपटक जितेको छ : हैदराबादमा अन्तिम बलमा चार रनको जीत, पुनेमा अम्बाती रायडुको शतकको मद्दतले आठ विकेटले र फाफ डुप्लेसिसको अर्धशतकको मद्दतले मुम्बईमा दुई विकेटको जीत ।

चेन्नाईको सम्भावित टोली : शेन वाटसन, फाफ डुप्लेसिस, सुरेश रैना, अम्बाती रायडु, एमएस धोनी (कप्तान), ड्वेन ब्राभो, रवीन्द्र जडेजा, दीपक चाहर, हरभजन सिंह वा करन शर्मा, शरदुल ठाकुर र लुँगी एनगिडी
हैदराबादको सम्भावित टोली : ऋद्धिमन शाह, शिखर धवन, केन विलियमसन (कप्तान), शकिब अल हसन, दीपक हुडा, युसुफ पठान, कार्लोस ब्राथवेट, रसीद खान, भुवनेश्वर कुमार, शिद्धार्थ कौल, सन्दीप शर्मा वा खलिल अहमद वा बसिल थम्पी
रणनीति

Photo by: Ron Gaunt /SPORTZPICS for BCCI
सिएसकेले यो सिजन हैदरावादविरुद्ध तीनमध्ये तिनै खेल जित्नुको कारण उसको मुख्य ब्याट्सम्यानले रसिद खानलाई कसरी खेले भन्ने कुराले निर्धारण गरेको थियो ।
रायडु र रैनाले लेगस्पीनरविरुद्ध ३४ बलमा ६२ रन लिएका छन्, त्यो पनि आउट नभई । त्यही भएर सिएसकेले नम्बर चारमा रैनापछि रायडुलाई उतार्ने सम्भावना रहेको छ ।
यदी यस्तो हो भने र परिस्थितिले साथ दिए, सनराइजर्सले अन्त्यतिर धोनी र ब्राभोका लागि रसिद र शाकिबको एक–एक ओभर बाँकी राख्न सक्छन् । धोनीले दुवैविरुद्ध ३४ बलमा २४ रन बटुल्दै एक पटक आउट भएका छन् भने ब्राभोले दुवैविरुद्ध ३४ बलमा २८ रन लिँदै तीन पटक आउट भएका छन् । यो सिजन सिएसकेले अन्तिम पाँच ओभरमा सबैभन्दा उत्कृष्ट ११.७३ रनको औसतले रन बटुलेको छ । उनीहरुलाई रोक्न हैदराबादका लागि यो एउटा रणनीति हुनसक्छ ।
तथ्याङ्क
– ११ आइपीएल सिजन मध्ये लिगमा शीर्ष दुई स्थान ओगटेका टोली फाइनल पुगेको यो छैटौँ अवसर हो । यसअघिका पाँच फाइनलमध्ये दोस्रो स्थानमा रहेको टोलीले चार पटक (सन् २०११, २०१३, २०१४ र २०१५) विजयी भएको छ भने शीर्ष स्थानमा रहेको टोलीले मात्र एक पटक सन् २०१७ को फाइनल जितेको छ ।
– सिएसकेले पछिल्ला तीन (सन् २०१२, २०१३ र २०१५) फाइनल हारेको छ र सन् २०१० र २०११ मा लगातार उपाधि जिते यता उपाधिविहीन रहेको छ ।
– आइपीएलको एउटा सिजनमा दुई टोली चारपटक भिड्न लागेको यो छैटौँ अवसर हो । यसअघिको पाँचै भिडन्त ३–१ ले सकिएको थियो ।
– हरभजन, रायडु (सिएसके) र युसुफ पठान (हैदराबाद) चौँथो पटक उपाधि जित्ने दाउमा रहेका छन् । यसअघि रोहित शर्मा (डेक्कन चार्जसबाट सन् २००९, मुम्बई इन्डियन्सबाट सन् २०१३, २०१५ र २०१७) ले मात्र यो उपाधि चार पटक जितेका छन् ।
– एक पटक मात्र ओरेन्ज क्याप होल्डर (रोबिन उथप्पा, सन् २०१४) ले आइपीएल जितेको छ । के केन विलियमसनले उनको उपलब्धि दोहोराउन सक्लान् ?
















