स्पाइडरम्यान शैलीमा बालकको उद्धार गरेका एक युवालाई सरकारद्वारा फ्रान्सेली नागरिकता प्रदान


बीबीसी । फ्रान्सको राजधानी प्यारिसस्थित एउटा भवनको बार्दलीबाट खसेर झुन्डिरहेको अवस्थामा रहेका एक बालकलाई उद्धार गरेका मालीका आप्रवासीलाई फ्रान्सेली नागरिकता दिइने भएको छ।

सो भवन चढेर चार वर्षे बालकको ज्यान बचाएपछि मामुदु गेसामाले व्यापक प्रशंसा पाएका छन्।

एउटा बार्दलीबाट अर्को बार्दली उक्लँदै चौथो तलामा पुगी गेसामाले ती बालकलाई तान्दै गर्दा त्यहाँ जम्मा भएको भिड खुसीले चिच्याएको थियो।

फ्रान्सेली राष्ट्रपतिको निवास एलिजे प्यालेसमा गेसामासँग भेट गरेपछि उनलाई अङ्गीकृत नागरिकता दिइने राष्ट्रपति एमानुएल माक्रोँले बताएका छन्।

साथै माक्रोँले गेसामालाई उनको साहसका लागि एउटा तक्मा दिए अनि व्यक्तिगत रूपमा उनलाई धन्यवाद पनि दिए।

गेसामालाई अग्निनियन्त्रण सेवामा कामका लागि प्रस्ताव पनि गरिने माक्रोँले बताए।

गेसामाले, यूरोप पुग्नका लागि एउटा डुङ्गामा लामो तथा खतरापूर्ण यात्रा गरेका थिए। उनी भूमध्यसागर पार गर्दै इटलीसम्म पुगे अनि गत वर्ष मात्र फ्रान्स पुगे।

गेसामाले सो भवनको सामुन्ने हिँडिरहेको बेला त्यहाँ भिड जम्मा भएको देखेको बताए। त्यहाँ बच्चा झुन्डिइरहेको देखेपछि आफूले केही नसोची सडक पार गरेर उनलाई बचाएको गेसामाले बताए।

बच्चालाई सुरक्षित स्थानमा पुर्‍याउँदा ऊ रोइरहेको अनि उसको पैतालामा चोट लागेको पनि गेसामाले बताए।गेसामाले ती बालकलाई उद्धार गरिसकेपछि मात्र त्यहाँ अग्निनियन्त्रण गर्ने उद्धारकर्मीहरू पुगेका थिए।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली सञ्चारमाध्यमले जनाएअनुसार सो घटना हुँदा ती बालकका आमाबाबु घरमा थिएनन्।

अदालतको स्रोतका अनुसार ती बालकका बाबुलाई आफ्नो बच्चालाई यत्तिकै छाडेको आशङ्कामा प्रहरीले सोधपुछ गरेको छ। उनकी आमा घटना हुँदा प्यारिसमा नभएको ठानिएको छ।

बाइस वर्षीय गेसामाको साहसलाई प्रशंसा गर्नेमध्ये प्यारिसकी मेयर यान इडाल्गो पनि एक हुन्। उनले गेसामालाई टेलिफोन गर्दै धन्यवाद दिएकी थिइन्।

साथै, गेसामालाई उनले स्पाइडरम्यान भन्ने सङ्ज्ञा दिइन् र उनी सबै नागरिकका लागि एउटा उदाहरण भएको पनि बताइन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार