
जून १ तारिख करिव बिहान ९ बजेतिर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका मोरङ इटहरा स्थायी घर भइ हाल सेतुवाल पोर्तुगलमा बस्दै आएका अन्दाजी २२ बर्षिय ….जीवी कार्कीको दु:खद निधन भएको घटनाको सम्बन्धमा आज एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीको नेतृत्वमा एनआरएनए आईसिसि सदस्य नरेन्द्र हमाल, प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, एनआरएनए पोर्तुगल उपाध्यक्ष गोविन्द सापकोटा र युरोप नेपाली डट कमका सम्बादाता पत्रकार भगवान गिरी समेतको एक टोलीले घटनास्थल पुगी प्रत्यक्ष अवलोकन र जानकारी लिएको छ ।
हिजो काममा जाने समय हुँदासम्म नउठेपछि उनका साथीहरू बोलाउन जाँदा उनी आफैं सुत्ने बन्कर बेडको डन्डीमा आफ्नै सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा देखेपछि प्रहरीमा खवर गरिएको थियो। गणतान्त्रिक राष्ट्रिय सुरक्षा (JNR) प्रहरीले उनलाई स्थानीय बराइलो हस्पिटल पुर्याउनु अघि नै उनको मृत्यु भइसकेको डाक्टरहरुले जनाएका थिए । अहिले उनको लास सोही हस्पिटलमा राखिएको र सोममबार सम्ममा पोस्टमार्टम गर्ने तयारी गरिएको र रिपोर्ट आएपछि मात्र मृत्युबारे यथार्थ जानकारी दिन सक्ने जेएनआर प्रहरीले बताएको छ ।
उनी कोठामा एक्लै बस्थे, झुन्डिनु अघि उनले एकल र ग्रुपमा भिडियो कलहरु गरेको बुझिएको छ । उनी सुत्ने खाटमा उनका पर्स, फाइल र कागजपत्र यत्रतत्र छरिएको अवस्थामा देखिएको छ । मृतक सुत्ने कोठा अर्ध रूपमा खुलेको भेटिएको बुझिएको छ । सो फ्ल्याटको तीन वटा कोठाहरुमा प्रत्येक कोठामा एक एक जना गरि तीन जना बस्दै आएको जानकारी प्राप्त भएको छ ।
मृतक कार्की डेनमार्कमा स्टुडेन्ट भिषामा आएर तीन बर्ष अघि पोर्तुगल आएका थिए । उनी पोर्तुगलको मन्तेजुमा एक फुल कम्पनीमा काम गर्थे । उनको रेजिडेन्सी कार्डकोलागि यही जून २२ तारीख सेफमा मार्कासाउँ अर्थात “एपोइनट्मेण्ट” रहेको उनका साथीहरूले जानकारी दिएका छन् ।
उनका बुबा मुटुको रोगी भएकोले हाल नेपालमा हस्पिटलमा उपचार गराइरहेका र दाजु पनि मृगौला रोगी भएको बुझिएको छ । अहिले उनका मामाहरुसंग पारिवारिक रूपमा सम्पर्क भइरहेको र पोस्टमार्टमपछि उनको लास नेपाल झिकाउने परिवारको इच्छा रहेको बुझिएको एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीले जानकारी दिए ।
यस्तो दु:खद घटनाको सम्बन्धमा पोर्तुगलको नेपाली समुदायबाट के कस्तो सहयोग पुर्याउन सकिन्छ भनेर आज एनआरएनए पोर्तुगलको आपतकालीन बैठक बोलाइएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।
यसैबीच स्थलगत अवलोकन र जानकारी लिन गएका प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष गोविन्द पौडेलले घटना अत्यन्त असामयिक र दु:खद भएको जनाउदै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
भगवान गिरी ( युरोप नेपाली डटकम )
















