
काठमाडौं । आज हुने पहिलो खेलमा जमर्नी र दक्षिण कोरिया आमने सामुन्ने हुँदै छन् । काजान एरेनामा हुने खेल पौने ८ बजे सुरु हुँदैछ ।
समूह चरणको खेलमा एक खेलमा जित र एक खेलमा हार व्यहोदै अंक तालिकामा तीन अंक बनाएको जमर्नीलाई अघिल्लो चरणमा पुग्नको निम्ति दक्षिण कोरियालाई हराउनु पर्नेछ । समूह एफमा दोस्रो स्थानमा रहेको जमर्नी आजको खेलमा जित ननिकाले उसको यात्रा समूह चरणमा नै टुङ्गिनेछ ।
समूह एफमा मेक्सिको ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी र स्वीडेन ३–३ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरिया यसअघिका दुई खेलमा पराजित भएपछि अंकविहीन छ । र रमाइलो पक्ष के छ भने चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना अझै जीवितै छ ।
समूहको अन्तिम खेलमा कोरियालाई पराजित गरेर मात्र जर्मनी नकआउट चरणमा पुग्दैन । अर्को खेलमा मेक्सिकोले स्वीडेनलाई हराउनु वा बराबरी खेल्नुपर्छ ।
अर्कोतर्फ कोरियाले जर्मनीलाई दुई वा त्यो भन्दा बढी गोलअन्तरले हराएमा र मेक्सिकोले स्वीडेनलाई पराजित गरेका कोरिया पनि नकाउट चरणमा पुग्नेछ । जुन सम्भावना निकै कमजोर छ । त्यस्तै स्वीडेनले मेक्सिकोलाई हराएमा र जर्मनी कोरियासँग पराजित वा बराबरीमा रोकिएमा स्वीडेनको सम्भावना पनि छ । त्यसैले बुधबारको खेल जर्मनी र दक्षिण कोरिया दुवैका लागि महत्वपूर्ण छ ।
















