
रोस्तोभ — जापानका केइसुके होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । सोमबार राति जापान विश्वकपको अन्तिम १६ को नाटकीय खेलमा बेल्जियमसँग पराजित भएपछि होन्डाले यस्तो निर्णय गरेका हुन् । ३२ वर्षे होन्डा बेन्चबाट मैदानमा छिरेको खेलमा दुई गोलले पछाडि परेको बेल्जियमले ३–२ ले नतिजा उल्टाएको थियो ।
‘हामीले जापानको फुटबल कुन गतिमा गइरहेको छ भन्ने देखाएका छौं,’ एसी मिलानका पूर्व मिडफिल्डर होन्डाले खेल समाप्तपछि भने, ‘राष्ट्रिय टोलीबाट मैले आफ्नो खेलजीवन टुंगाएजस्तै भएको छ । तर म यसमा खुसी छु किनभने धेरै युवा खेलाडी हाम्रा पछाडि छन् । मलाई लाग्छ उनीहरूले जापान फुटबलका लागि नयाँ इतिहास रच्नेछन् ।’
होन्डाले अगाडि भने, ‘यो मेरा लागि अन्तिम विश्वकप थियो । वास्तविकता यही नै थियो । इमान्दार भएर भन्नुपर्दा यो मौकामा जापानलाई म अर्को चरणमा पुर्याउने प्रयासमा थिएँ, तर मैले सकिनँ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको हुँ । बेल्जियम जितको हकदार थियो । तर हामीले पनि राम्रो खेलेका हौं ।’ होन्डाले जापानबाट ९८ खेलमा ३७ गोल गरेका छन् । उनको विश्वकपमा यो तेस्रो सहभागिता हो । यसपल्ट बेन्चबाट आउँदै राम्रो प्रभाव पारेका थि
















