-राजकुमार थापा
प्रारम्भ:
तीब्र प्रतिस्पर्धा हुने ठानिएको दस महिना अघि सम्पन्न गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बिश्व सम्मेलनको निर्वाचनबाट तत्कालीन अध्यक्ष शेष घलेकी धर्मपत्नी श्रीमती जमुना घलेलाइ दोब्बर मतले पराजित गर्दै जापानका भवन भट्टले सहजै बिजय हासिल गरे । भट्ट सो बेला अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष थिए । पुर्व अनुमान बिपरित भट्टले कसरी त्यत्रो मतान्तरले अध्यक्ष बाजी मारे भनेर उक्त बेला गैर आवसीय नेपालीहरुबीच तात्तातो बहस र चर्चा परिचर्चा समेत चुलिएको थियोे । यो पङ्तिकारले “जमुना हारका कारणहरु” भनेर एउटा लामो आलेख नै लेख्यो, त्यसभन्दा अघि “भवन भट्टको नेतृत्व आबश्यक” भन्ने बारेमा पनि विश्लेषणात्मक लेख प्रकाशित गरिएको थियो ।
यतिबेला भट्टले गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नेतृत्व गरेको दस महिना पुगिसक्यो । संघको दुई- दुई बर्षमा नयाँ नेतृत्व चयन हुने हुँदा अब उनीसँग मुस्किलले तेह्र, चौध महिना मात्र कार्यकाल बाँकी छ । दस महिनामा उनको नेतृत्वको काम, योजना र कार्यशैली हेर्दा कुनै उत्साहजनक अबस्था देखिदैन । उनी कता कता गतिहिनता र सुस्ततामा रुमल्लिएको वा गन्तव्य थाहा नपाएर अल्मलिएको यात्रु जस्तो भएका छन् ।
यस आलेखमा उनको नेतृत्व र कार्यशैलीको यही अन्योलग्रस्त सुस्तताको बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

कसरी जीते भट्टले दोब्बर मतले ?
तत्कालीन अध्यक्ष शेष घले त्यतिबेला लोकप्रिय थिए । खासगरी देशमा महाभुकम्प र बाढी पहिरो जाँदाको बिकाराल र संकटग्रस्त अबस्थामा गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्षको रूपमा उनले देखाएको सक्रियता र साहसको देश भित्र र देश बाहिरका गैर आवसीय नेपालीहरुमा पनि ठूलो प्रशंसा भएको पृष्ठभुमिमा उनले आफ्नी अर्धाङिनी जमुना घलेलाइ अध्यक्ष अघि सार्दा जित्ने
अनुमान समेत थियो । तर उनकालागि परिणाम अप्रत्याशित र स्तब्ध बनाउने खालको आयो अर्थात जमुना दोब्बर मतले पराजित भइन ।
यस्तो परिणाम आउनुमा खासगरी संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पुर्व अध्यक्ष जीवा लामिछाने लगायतको भट्टले प्राप्त गरेको पुर्ण समर्थन र सहयोग, नेतृत्वको क्रमिक र सहज बिकास हुँदै आएको एनआरएनएको एककिसिमको मान्यता बिपरित घलेले अस्वाभाविक रूपमा आफ्नै श्रीमती जमुनालाई अघि सारेर पारिवारिक उत्ताराधिकारी खडा गर्न खोजेपछि भट्टले दोब्बर मतले जित्ने आधार खडा भएको सो बेला ब्याख्या र विश्लेषण भएको थियो । “भवन भट्ट, जिताउँ चट्ट” नारा त्यो बेला खुब लोकप्रिय भएको थियो । खयर त्यो बेलाको कुरा त्यसैबेला सकियो, “च्याप्टर क्लोज” भयो छोडिदिउँ ।
युवा ब्यक्तित्व, जापान नेपाल दुवैतिर सफल ब्यबसायीको छवि बनाएका भट्टबाट गैर आवसीय नेपालीहरुले अलि बढी नै अपेक्षा गरेका थिए । तर दस महिनासम्मको कार्यकाल हेर्दा उनमा गतिहीनता, अन्योलता र सुस्तता छ्याङ्गै देखियो । न पुराना परियोजनाहरुलाइ गतिशील रूपमा अगाडि बढाउन सकेका छन् न आफैंले कुनै नयाँ भिजन र योजना अगाडि सार्न सकेका छन् त्यसै कता कता हराएको जस्तो देखिएका छन् ।

जताततै अलपत्र, भट्ट भने खुद्रा मसिनामा रमाउदै :
माथि भनिए जस्तै अध्यक्ष नै अल्मलिंदा ठुला ठुला परियोजनाहरुले गति लिन सकेको छैन । एककिसिमले भन्दा अलपत्र स्थिति देखिन्छ । महाभुकम्प पछि एनआरएनएको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्ती कार्य सुस्त भएको छ, भने एनआरएनहरुको गौरवको परियोजना एनआरएन भवन निर्माण कार्यपनि बिबादका बीच कहिले सम्पन्न हुने हो अत्तोपत्तो छैन । यसैगरी शंखमुल पार्क निर्माण पनि रकमको अभावमा रोकिने स्थितिमा पुगेको छ । दसौं अर्वको लगानी नेपाल भित्र्याउने प्रतिबद्धता पनि घोषणा मै सीमित भएको छ, त्यसका लागि ठोस प्रगति भएको केही देखिदैन ।
पुराना परियोजनाहरु जताततै अलपत्र परेको बेला नयाँँ योजना र भिजन त झन अध्यक्ष भट्टले केही अघि सार्न सक्ने छाँटकाँट नै छैन । एनआरएनहरुको नागरिकताको निरन्तरताको मुद्दा नेपालको सर्वोच्च अदालतबाट खारेज भएको अवस्थामा अब अगाडि के गर्ने भन्ने बारेमा पनि अन्योल छ, स्थिति लथालिङ्ग हुँदै गएको बेला अध्यक्ष भट्ट भने खुद्रामसिना र खासै अर्थ नहुने, नराख्ने र नदेखिने कार्यक्रमहरुकालागि दौडादौड गरिरहेका छन् ।
वास्तवमै भन्ने हो भने पुराना परियोजनाहरुलाइ समय मै सफलतापुर्बक पूरा गर्ने र आफ्नो कार्यकालमा केही नयाँ भिजन र योजनाकासाथ योगदान दिने हो भने उनले अब उनले तत्कालदेखि नै खुद्रा मसिना र अर्थहीन कार्यक्रममा जान बन्द गरेर आफ्नो सचिवालय र टीमलाइ गतिशील बनाउनु जरुरी छ । परिणाममुखी केही नयाँ काम गरेमात्र उनलाई गैर आवसीय नेपालीहरुले भविष्यमा सम्झिरहन्छन । होइन, यस्तै उद्घाटन र नाचगान टाइपका कार्यक्रमहरुमा मात्र अलमल गरेर समय खेर फाल्ने हो भने उनले दोब्बर मतले जितेको वा गैर आवासीय नेपालीहरुले दिएको भारी मतको केही अर्थ रहदैन ।
अन्त्यमा, समय अझै घर्कीसकेको छैन, तत्कालदेखि गतिशील भएर टीम स्प्रीटकासाथ काम गर्दा अझै केही गर्ने समय बाँकी छ, पचासौं लाख गैर आवासीय नेपालीहरुको साझा संस्था र साझा अध्यक्षले अब झिनामसिना कुरा र काममा अल्झिन छोडेर युद्धस्तरमा गैर आवासीय नेपालीहरुका मुद्दा र योजनाहरुलाइ पुरा गर्न लाग्दा सबैको साथ, सहयोग र शुभकामना रहनेमा कुनै द्विविधा छैन, तर वास्तविक मुद्दामा केन्द्रीत नहुँदा सधैंभरि शुभकामना र सहयोग मिलिरहला भन्ने ग्यारेन्टी भने छैन ।
( लेखक यस युरोप नेपाली डटकमका संस्थापक प्रधानसम्पादक हुन् र नेपाल पत्रकार महासंघसंग आबद्ध छन् ।)
Email: rkthapa@hotmail.com
















