
एजेन्सी ।
विश्वकप फुटबल २०१८ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा अाएका क्रोएसियाका मिडफिल्डर कप्तान लुका मोड्रिचलाई क्रिस्टियानो रोनाल्डोको चर्चित ७ नम्बर जर्सी दिन दबाव परेकाे छ । माेड्रिचका समर्थकहरूले रियल म्याड्रिड छाेडेर गएका राेनाल्डाेकाे उक्त जर्सी माेड्रिचलार्इ दिन क्लबको व्यवस्थापकलाई चर्को दबाव दिइरहेका समाचार एजेन्सीहरूले जनाएका छन् ।
पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो दुई साताअघि मात्रै म्याड्रिड छोडेर इटालियन क्लब युभेन्ट्सतिर लागेका थिए । उनलार्इ युभेन्ट्सले १० करोड युरोमा किनेकाे हाे ।
रोनाल्डो क्लबबाट बाहिरिएपछि रिक्त रहेको उनको ७ नम्बर जर्सी मोड्रिचलाई उपलब्ध गराउन क्लबका समर्थकहरूले दबाव दिएका हुन् । मोड्रिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया दुई साताअघि रुसमा सम्पन्न विश्वकपको फाइनलमा पुगेको थियो । मोड्रिच विश्वकपको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
रोनाल्डोका धेरै फ्यान उनकाे बर्हिगमनसँगै युभेन्ट्स क्लबतर्फ मोडिएका छन् । तर, म्याड्रिडलाई माया गर्ने ‘फ्यान’हरू पनि रोनाल्डोको अनुपस्थितिमा मोड्रिचतर्फ मोडिएका छ्न् । तिने शुभचिन्तकहरूले राेनाल्डाेकाे जर्सी माेड्रिचलार्इ दिन दबाव दिएका हुन् ।
विश्वकपमा उत्कृष्ट खेलाडी बनेपछि मोड्रिचको जर्सीकाे माग बढेको बताइन्छ । म्याड्रिडका थुप्रै फ्यानहरूले मोड्रिचको जर्सी लाउन थालेका छन् भने उनीतर्फ थप अाशा पनि राखेका छन् । मोड्रिच सन् २०१२ देखि म्याड्रिडमा आबद्ध छन् ।
















