काठमाडौँ : पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा आज राति लिस्बनतर्फ प्रस्थान गर्दै छन्।

उहाँले आफ्ना पोर्चुगी समकक्षीसँग पर्सि बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पोर्चुगल उत्रिएको केही समय पश्चात नै उहाँ प्रवासी नेपाली मंच पोर्चुगल तथा जनप्रगतिशील पोर्चुगलको आयोजना र गैर आवासीय नेपाली संघ (NRNA) पोर्चुगलको सहभागितामा पोर्चुगलमा रहेको नेपाली समुदायसंग बृहत अन्तरक्रिया कार्यक्रम सहभागी हुनेछन्।
अन्तरक्रिया कार्यक्रम जुलाई २४ तारिख दिनको ४:०० बजे जिनाजियो हल आन्जुस, लिस्बोनमा हुनेछ भने अन्तरक्रियामा मुलरुपमा पोर्चुगलमा रहेको नेपाली समुदायका माग, चासो र समस्याहरुको बारेमा छलफल हुने जनाइएको छ । पोर्चुगलमा नेपाली दूतावास र नेपालमा पोर्चुगिस दूतावास स्थापनामा पहल गर्नमा विशेष जोड रहने बताइएको छ ।
यस बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आयोजकहरुले गैर आबासिय नेपाली संघ पोर्चुगल, पोर्चुगलमा क्रियाशील सम्पुर्ण संघ- संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक अभियान्ता, पत्रकार, ब्यबसायी लगायत मंचहरुका पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तकहरु तथा सम्पुर्ण पोर्चुगलबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक आग्रह र अपील गरेका छन् ।
दुई दिवसीय लिस्बन बसाइपछि उहाँले बेल्जियम र लग्जेम्बर्गको भ्रमण गर्नुहुनेछ । बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डिडाएर रेयान्डर्ससँग उहाँले साउन १० गते ब्रसेल्समा नेपाल–बेल्जियम सम्बन्धका विविध विषयमा विचारविमर्श गर्नहुनेछ ।
सोही दिन उहाँले ब्रसेल्सस्थित नेपाली दूतावास र एशियाली अध्ययनका निम्ति युरोपेली प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपालका प्रमुख राष्ट्रिय एजेण्डा ः राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयमा प्रवचन दिनु हुनेछ ।
साउन १२ गते उहाँले विभिन्न युरोपेली मुलुकमा रहेका नेपाली राजदूतहरुको ब्रसेलमा आयोजना हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ भने १३ गते लग्जेम्बर्गमा गैरआवासीय नेपाली संगठनको ११ औँ युरोपेली क्षेत्रीय बैठकको उद्घाटन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले साउन १४ गते लग्जेम्बर्गका मानवीय मामिला तथा विकास सहायता मन्त्री रोमिन सेन्डेरसँग भेटवार्ता गरेर साउन १६ गते स्वदेश फर्कनु हुनेछ ।
















