
काठमाडौं । जर्मन फुटबल एसोसिएसन (डिएफबी) का अध्यक्षले मिडफिल्डर मेसुट ओजिलले टर्कीस राष्ट्रपतिसँग खिचाएको तस्वीरमाथि एसोसिएसनको प्रश्नलाई दुरुपयोग गरी रंगभेदसँग जोडिएकोमा पछुतो लागेको बताएका छन् ।
टर्किस मूलका ओजिलले मेमा टर्कीका राष्ट्रपति रेसिप एर्दोगानसँग खिचाएको तस्वीरको बारे चासो राख्दै एसोसिएसनले प्रश्न गरेको थियो ।
त्यसपछि ओजिलले उक्त तस्वीर राजनीतिक रुपमा भन्दा पनि पुर्खाहरुको सम्मानमा खिचाएको स्पष्टिकरण दिनुपरेको थियो ।
त्यसै विषयलाई लिएर जर्मन फुटबलमा धेरै विवाद निम्तिएपछि यी आर्सनलका २९ वर्षीय मिडफिल्डरले गत आइतबार एक मर्मस्पर्शी विज्ञप्ति जारी गर्दै जर्मन राष्ट्रिय टिम त्यागेको घोषणा गरेका थिए ।
डिएफबीका अध्यक्ष रेनहार्ड गि्रन्डेलले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी हाम्रो मूल्य र मान्यताहरुमा बाँच्छौं त्यसैले डिएफबीले उक्त तस्वीरको बारेमा उनीमाथि प्रश्न गरेको थियो ।’
उनले भनेका छन्, ‘ओजिलको जर्मन टिम छोड्ने निर्णयले सामान्य रुपमा रंगभेदको बहस सिर्जना गरेको छ भने विशेष रुपमा फुटबलको एकताबद्ध बनाउने क्षमताको, डिएफबीको अध्यक्षको रुपमा म यो बहसबाट पन्छिन चाहन्न ।’
‘त्यसलाई फर्केर हेर्दा अध्यक्षको रुपमा मैले व्यक्तिगत रुपमा र एसोसिएसनको रुपमा मलाई दिइएको अधिकारको बारेमा सबैलाई प्रष्ट बनाउन चाहन्छु । यहाँ कुनै पनि खालका जातिवाद कुनै पनि परिस्थितिमा स्वीकार्य छैन’ उनले भने ।
जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएपछि उग्र समर्थकहरुले तेस्रो पुस्ताका टर्कीस मूलका जर्मन ओजिललाई विभिन्न किसिमका अपमानजनक धम्की र सन्देशहरु दिएका थिए ।
त्यसपछि ओजिलले जर्मन फुटबलभित्रको रंगभेद र अपमानलाई कारण उल्लेख गर्दै जर्मन राष्ट्रिय टिम छोडेको घोषणा गरेका थिए ।
‘हामीले जित्दा म जर्मन हुन्छु तर हामीले हार्यौं भने म आप्रवासी हुन्छु’ सन् २०१४ को विश्वकप विजेता जर्मन टिमका मुख्य खेलाडी ओजिलले टिम छोड्ने बेलामा भएका थिए ।
डिएफबीले सोमबारनै एक विज्ञप्ति जारी गर्दै ओजिलले लगाएका आरोपहरुको खण्डन गरेको थियो ।
त्यस्तै ग्रिन्डेलले भनेका छन्, ‘डीएफबीको विविधता, एकता, भेदभावरहित मान्यताहरु मेरो पनि मान्यता हो ।
‘मेरो कार्यकालमा फुटबलले एकताको लागि कतिसम्म गर्न सक्छ भन्ने अनुभव गर्न पाएँ र यसको लागि डिएफबी, क्षेत्रीय संघहरु र अन्य सबै क्लबहरुले गर्ने प्रयासको म सह्राहना गर्छु’ उनले भने ।
















