फिल्म समीक्षाः पट्यारलाग्दो ‘कायरा’

हिरो खानदानी, हिरोइन गरिब । हिरो र हिरोइनको खानदानवीच टकराव । यस्तै सामाजिक तथा आर्थिक द्वन्द्वमा प्रेम अंकुराउँछ । त्यो अनेक झमेला, अवरोधबाट गुज्रन्छ । अन्त्यमा हिरो र हिरोइनको मिलन हुन्छ । फिल्मको ‘ह्याप्पी इन्डिङ’ हुन्छ ।

अर्कोथरी लभस्टोरीमा सुरुवाती अवस्था ठिकठाक हुन्छ । हिरो र हिरोइनबीच प्रेम हुन्छ । रोमान्स हुन्छ । र, अन्त्यमा विछोड ।

आर्यन सिग्देलको फिल्म ‘कायरा’ यसको अपवाद रहेन ।

लभस्टोरी फिल्ममा मिसाइने सबै मसला फिल्ममा छ । प्रेमी-प्रेमिकाको नोकझोंक, रोमान्स, मिलन, विछोड । तरपनि किन फिल्म ‘खल्लो’ छ ?

फिल्म हेरिरहँदा दर्शकले हाई मात्र काड्दैन, रुनुपर्ने ठाउँमा वेपत्तासँग हाँसिदिन्छ । पर्दामा हिरो र हिरोइन विलौना गर्दै आँसु चुहाउँछन्, यता दर्शकदिर्घमा हाँसोको फोहोरा छुट्छ । आखिर किन यस्तो भयो त ? यसको जवाफ खोज्नुअघि फिल्मको कथातर्फ लागौं ।

‘टम एन्ड जेरी’ शैलीको प्रेमकथा

फिल्मको प्रारम्भ जय (आर्यन सिंग्देल)लाई कायरा (साम्रज्ञीराज्य लक्ष्मी शाह)ले ब्राइडल मेकअप गरिरहेको दृश्यबाट हुन्छ । अब दर्शकमा प्रश्न उठ्छ, सुरुमै हिरोले अर्कीसँग बिहे गर्ने भएपछि फिल्ममा हिरो र हिरोइनको रोमान्स कसरी हुन्छ ?

फिल्मले यो प्रश्नको जवाफ जति कलात्मक र विश्वसनिय ढंगबाट पेश गर्नुपर्ने थियो त्यो गरेको छैन । बरु दर्शक भ्रमित हुनपुग्छ । विवाहको गेटअपमा ठाँटिएका जय एक्कसी फिलिपिन्सको कुनै रात्रीक्लव (बार वा पव)मा गीत गाइरहेको देखिन्छ । फ्ल्यासब्याकबाट कथा आफ्नो लयमा र्फकन नपाउँदै प्रेमी-प्रेमिकाको नोकझोंकमा रुपान्तरण हुन्छ ।

फिलिपिन्सको उक्त रात्री क्लव उनै जयको हो, जो त्यहाँ आफै गाउँछन् र बेलामौकामा बार पनि सम्हाल्छन् ।


फिल्मः कायरा

निर्देशकः लक्ष्मण रिजाल

विधाः म्युजिकल लभस्टोरी

कलाकारः आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह

अक्सर ‘लभस्टोरी’ फिल्ममा के हुन्छ ?

जयकै खातिर कायरा नेपालबाट फिलिपिन्स पुगेकी छिन् । तर, जय चाहिं कायराबाट सकेसम्म उन्मुक्ति चाहन्छ । जहाँ कायरा आइपुग्छिन्, जय अन्तै बरालिन्छन् । जय किन कायरासँग दुरी राख्न खोज्छ ? यो प्रश्नको हल नखोज्दै कायरा र जयबीच हिमचिम बढ्छ । उन्मुक्त जीवन बाँच्नका लागि फिलिपिन्स पुगेकी कायराले जयलाई पगाल्छन् । तर, जसै जय पग्लन्छन्, कायरा अलग हुन खोज्छिन् । ‘टम एन्ड जेरी’ शैलीको यही नोकझोंकले थाहै नपाई उनीहरु एकअर्काका लागि अभिन्न बन्न पुग्छन् । अब उनीहरु छुटिनै नसक्ने अवस्थामा पुग्छन् ।

यहाँसम्म कथा तन्किएपछि थाहा हुन्छ, कायरा वास्तवमा ‘स्किजोफोनिया’ जस्ता मस्तिष्कजन्य रोगले ग्रस्त छिन् । २४ बर्षकी नवयौवना कायरालाई यही दुर्लभ रोगले गाँजेपछि उनी बाँकी जीवन उन्मुक्त र भरपुर भोग गर्न चाहन्छिन् । त्यसैको माध्याम बनाइन्छ, जयलाई । तर, जयको विवाह तय भइसकेको छ । यिनै द्वन्द्वबाट उनीहरुको प्रेम-कथा कसरी अगाडि बढ्छ त ? दुई घण्टा २२ मिनेट लामो फिल्मले बताउँछ ।

किन हेर्ने ?

अन्नत समुन्द्री फाँट, भव्य महल, चम्किला शहर र सुकिला-मुकिला हिरो हिरोइनले आँखाको सेकताप गर्छ ।

बासी कमेडी हेरेर थाकेका आँखालाई ‘कायरा’ले केही फरक स्वाद दिन्छ । गीत-संगीतमा रुची भएकाहरुले पनि फिल्म हेरे हुन्छ, फिल्मभर गीतै-गीत छ । फिल्मको सुरुवाती संवादमा ‘सेन्स अफ ह्युमर’को राम्रैसँग प्रयोग भएको पाइन्छ । ‘इन नेपाली, पान पराग दिमाग खराब’ भन्ने जस्ता डायलगले रमाइलो गराउँछ ।

सिनेम्याटोग्राफीले लोभ्याउँछ । फ्रेमिङ, कलरिङ र दृश्य समायोजन परिपक्क छ ।

जय बनेका आर्यन सिग्देल र कायरा बनेकी साम्रज्ञी राज्यलक्ष्मी शाहको अभिनयमा आफ्नोपन छ । मिठास छ । समुन्द्री लहर, हावाको झोंका र अध्यारो पोखिएको रातमा उभिएर तारा गनेको प्रेमिल दृश्यले मन पगाल्छ । दुखलाग्दो चाहिं के भने, पुरा अवधि फिल्म हेर्ने धैर्यता भने नरहन सक्छ ।

एकोहोरो र पट्यारलाग्दो

फिल्ममा एकसरो कथा छ, प्रेमको । दुई पात्र छन्, जय र कायरा । दुई घण्टा बढी अवधि तपाईंले यिनै दुई पात्रलाई झेल्नुपर्नेछ ।

फ्रेममा सुरुदेखि अन्त्यसम्म दुई अनुहारले अरुलाई स्थान दिदैन । यी दुई अनुहार कहीले हास्छ, कहीले रुन्छ, कहीले भावुक हुन्छ, कहीले अत्तालिन्छ । मात्र दुई अनुहार ।

कथाको छेउ-टुप्पो सही ढंगले जोड्न नसक्दा दर्शक भ्रमित हुन पुग्छ । दुलहाको भेषमा भएका जय कसरी प्रेमिकासँग रोमान्स गर्न थाले ? फिलिपिन्समा रमाइरहेका जोडी अचानक कसरी काठमाडौंको गल्लीमा अवतरण गरे ? यस्ता कुराको सिलसिला राम्ररी जोड्न नसक्दा दर्शकहरु दिक्क हुनपुग्छन् ।

कायरा २० बर्षसम्म आफ्ना बुबा र बहिनीसँग अलग रहेर नेपालमा बसेकी छिन् । पछि उनी फिलिपिन्स पुग्छिन्, आफ्ना बुबा र बहिनीका निम्ति होइन जयका लागि । जयसँगको सम्बन्ध दिगो हुँदैन भन्ने तत्वज्ञान भएर पनि उनैसँग लहसिन्छन् । स्त्रिलम्पट जय कायराका लागि भने आदर्श प्रेमी बन्छन् । यस्ता ‘केटाकेटी पारा’को लभस्टोरीले दर्शकको भावनालाई कतिपनि स्पर्श गर्दैन ।

सामान्य कुरामा पनि हेक्का नपुर्‍याएको देख्दा थप उदेग लाग्छ । असावधानीवस् चक्कुले जयको घाँटी रेटिन्छ । घाउ बन्छ । तर, क्षणभरमै त्यहाँ कुनै चोटको निसान रहँदैन ।

यस्ता अनगिन्ती कमजोरीले फिल्म पट्यारलाग्दो बनेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार