एसियाडमा रजत बिजेता टोलीको पोखरामा भव्य स्वागत

पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ ।

इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक योगेश भट्टराईलाई पोखरामा स्वागतसहित सम्मान गरिएको हो ।

रजत पदक जितेर पोखरा आएका उनीहरुलाई पोखरा विमानस्थलमा माला, खादा र अवीर लगाएर स्वागत गरिएको थियो । त्यसलगत्तै गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । पोखरा विमानस्थल मुस्ताङचोकबाट शुरु भएको विजयोत्सव र्‍याली विरौटा, राष्ट्रबैंंकचोक, लेकसाइड, जिरो किलोमिटर, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशाला पुगेर सम्मान समारोहमा परिणत भएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल हवाई खेलकुद संस्था ‘ना’ पोखरा, प्याराग्लाइडिङ पाइलट खुकुल क्लव पोखरा, नेपाल प्याराग्लाईडिङ एण्ड हृयाण्ड ग्लाईडिङ एशोसियसन नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र खेलकुद पत्रकार मञ्च कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल सरकारका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङलगायतले दोषल्ला, सम्मान पत्र प्रदान गर्नुका साथै माला, खादा, अवीर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा भूतपूर्व खेलाडी मञ्च नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीका गण्डकी संयोजक राजेश गुरुङले रजत पदक विजेता टीमलाई नगद ५०/५० हजार रुपैयाँसहित सम्मान गरे ।

कार्यक्रममा बोल्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्याराग्लाइडिङले पदक दिलाएर विश्वसामु नेपालको शिर उचो बनाएको बताए । एसियाडमा पदक दिलाउने प्याराग्लाइडिङको विकासमा पोखरेलीको हात रहेको बताउँदै उनले भने,’प्याराग्लाइडिङको विकासका लागि पोखरेलीको योगदान छ, साथ र समर्थन छ । यसकै कारण आज नेपालले पदक ल्याउन सम्भव भयो ।’

मन्त्री विश्वकर्माले खेलकुदको विकास र समृद्धी नभएसम्म नेपालमा विकास र समृद्धि हुनै नसक्ने बताए । उनले थपे, ‘खेलकुदको विकास नभएसम्म नेपाली खुशी पनि हुन सक्दैन ।’ उनले पोखरालाई स्पोर्टस् सिटी बनाएर खेलकुद र पर्यटनको विकास गर्नुपर्ने भन्दै यसको चाँडै घोषणा हुने बताए ।

राखेप सदस्यसचिव केशवकुमार विष्टले प्याराग्लाइडिङले पदक दिलाएर खेलकुदमा नयाँ सम्भावनाको ढोका खोलेको बताए ।

प्याराग्लाइडिङको क्रस कन्ट्री विधामा सर्वोत्कृष्ट खेलाडीलाई पदक दिने भए नेपालका युकेश गुरुङले गोल्ड मेडल नै पाउने दाबी गर्दै उनले पोखरामा नोभेम्बर महिनामा हुने प्याराग्लाइडिङको विश्वकपमा नेपालले स्वर्ण पदक नै जित्ने ठोकुवा गरे ।

पोखरालाई चिनाउन खेलकुद काफी भएको बताउँदै उनले भने, ‘मैले सँधै भन्दै आएको छु, पोखरालाई चिनाउन फेवातालको नाम लिनु पर्दैन, न त माछापुच्छ्रे हिमालकै नाम लिनुपर्छ, अब पोखरा खेलकुदले पनि चिनिन सक्छ । त्यतिमात्र हैन अब प्याराग्लाइडिङ, क्रिकेटलगायतका खेलले नेपाललाई नै चिनाउन सक्छ ।’

सदस्यसचिव विष्टले पोखरा स्पोर्टस् सिटी हुने बताउँदै भने, ‘स्पोर्ट्स सिटीको अध्ययन सकिएको छ, अब चाँडै घोषणा हुन्छ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार